जनताको सपना फेरि तुहिन्छ,
भोटको बटुवा फेरि चोरी हुन्छ,
भ्रष्टका बुट चम्काउने संसद्,
कागजमा मात्रै जनता सुन्ने सरकार।

आज सडकमा चिच्याउने आवाजहरू,
कालो टोपमा लुकेका घाउहरू,
जनताको पसिना बेच्ने बिचौलिया,
देश बोक्ने नाममा देश लुट्ने भ्रष्टहरु ।

अब धैर्यको भाँडो भरिसक्यो,
कागजी प्रतिबद्धताले पेट भरिँदैन,
हाम्रो नारा अब स्पष्ट छ —
“देशलाई बलियो हात चाहिन्छ।”

कानुनको डोरी कस्ने शासक,
भ्रष्टलाई तुरुन्तै कारबाही गर्ने साहस,
जनताको आँसु पुछ्ने शक्ति,
यही हो — कार्यकारी राष्ट्रपतिको आवश्यकता।

अब संसदको हल्ला होइन,
कागजका वाचा होइन,
देश बचाउने इमानदार दृढ नेतृत्व,
जसको हातमा होस् न्यायको तलवार।

जनताको ढुकढुकी फेरि बलियो बनोस्,
देशको हड्डी फेरि सिधा होस्,
राष्ट्रको आत्मा फेरि जिउँदो होस् —
कानुन र इमानसँगै।