काठमाडौं - क्यानेडाको क्यालगरीमा बसोबास गरिरहेका श्रष्टा राजेन्द्र प्रसाद प्रसाईको कथा कृति "जिन्दगीका नौ रंगी कथाहरू" को काठमाडौंमा लोकार्पण भएको छ । विशेषगरी कानून तथा मानव अधिकारको क्षेत्र र अध्ययन अनुसन्धानमा संलग्न रहनुभएका प्रसाईले साहित्य लेखनमा पनि दखल राख्दै आउनुभएको छ । यसअघि "ग्रीन-कार्डवालाको सुसाइट नोट" कविता संग्रह र "प्रवास बोल्छ" गीती संग्रह प्रकाशित गरेका प्रसाईले निकट भविष्यमा उपन्यास कृति पनि सार्वजनिक गर्ने तयारी गरिरहनु भएको छ ।
अनामनगरस्थित डालो रेष्टुरेन्टको सभा कक्षमा गत सोमबार अपरान्ह आयोजित विमोचन कार्यक्रममा प्रसाईंका कलेजका सहपाठी मित्र डा. सुरेन्द्र केसीका साथै पुराना राजनीतिज्ञ तथा साहित्यकार दीर्घराज प्रसाई, प्रा. डा. हेमनाथ पौडेल, पूर्व राजदूत प्रल्हाद कुमार प्रसाई, वरिष्ठ साहित्यकार कृष्ण प्रसाईं, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपिकृष्ण प्रसाईंले संयुक्त रुपमा कथा कृतिको लोकार्पण गर्नुभएको थियो ।
उक्त कथा संग्रहमा डा. सुरेन्द्र केसी, डा. हेमनाथ पौडेल, कवि कृष्ण वाउसेको भूमिका सहितको शुभकामना मन्तव्य रहेको छ । रोजेकी बुहारी, आमाको अन्तिम रातहरु, बाबाधामका ज्योतिषी, माथिको आदेश, निजी आर्जनको कोलाहल, अम्रिकानेको झोली झ्याम्टा, मोक्षदा केतुकी, बयानब्बेकी बेहुली, खण्डित सोचको विखण्डित परिवार शिर्षकका नौ वटा कथाअहरु पुस्तकमा संग्रहित रहेका छन् ।
लोकार्पित कथा संग्रहका बारेमा अतिथिहरुले आफ्नो धारणासहित शुभकामना मन्तव्य राख्नुभएको थियो भने कृतिकार प्रसाईले आफूले देखे भोगेका र अनुभव गरेका विषय नै कथाको रुपमा प्रकट भएको बताउनुभएको थियो । उहाँले घर देश र परदेशको सीमा नराखी विश्वभर रहेका नेपालीलाई एउटै ठान्न आग्रह पनि गर्नुभयो ।
कार्यक्रमको सञ्चालन वरिष्ठ साहित्यकार राधेश्याम लेकालीले गर्नुभएको थियो ।





1 comment
Rajendra Prassi बुधबार, १८ असार, २०८२
राम्रो कृति र खबर प्रकाशनको लागि धन्यबाद