काठमाडौं — वरिष्ठ साहित्यकार, सीमाविद्, पत्रकार तथा समाजसेवी गोपाल कोइराला त्यागीको जीवन र योगदानमा आधारित पुस्तक एउटा अथक योद्धा’ आज काठमाडौंमा एक विशेष समारोहबीच विमोचन गरिएको छ।
जलस्रोत अध्येता तथा नेपाल सरकारका पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा त्यागीको ८७औँ जन्मोत्सव समेत मनाइएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले उनलाई नेपाली भाषा, साहित्य, पत्रकारिता, समाजसेवा तथा सीमा अध्ययनका क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका व्यक्तित्वका रूपमा सम्मान व्यक्त गर्दै शुभकामना दिएका थिए।
वक्ताहरूका अनुसार पुस्तकले गोपाल कोइराला त्यागीले नेपाली साहित्यका कविता, कथा, उपन्यास, निबन्ध लगायत विभिन्न विधामा पुर्याएको योगदानलाई तथ्यसहित प्रस्तुत गरेको छ। साथै सीमाविद्का रूपमा नेपाल–भारत सीमा सम्बन्धी विषयमा उनले गरेको अध्ययन, अनुसन्धान र राष्ट्रिय हितका पक्षमा उठाएका आवाजलाई पनि पुस्तकमा गहन रूपमा समेटिएको उल्लेख गरिएको छ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले मुलुक अहिले जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण आवश्यक रहेको धारणा राखे। उनीहरूले धर्मका नाममा मधेश क्षेत्रमा देखिएको तनावप्रति चिन्ता व्यक्त गर्दै संवाद, सहिष्णुता र राष्ट्रिय एकताको मार्ग अपनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा गोपाल कोइराला त्यागी, किरण कोइराला, गोपी मैनाली, प्रा. डा. सुरेन्द्र केसी, प्रा. डा. खेम कोइराला बन्धु (खेकोव), डा. हरि सिलवाल, डा. विनोद मञ्जन, ठाकुरप्रसाद शर्मा भण्डारी, युवराज मैनाली, क्याप्टेन रोशन कोइराला, डा. रमेश शुभेच्छु लगायत साहित्यकार, गीतकार, संगीतकार, गायक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा गोपाल कोइराला त्यागीलाई दायित्व वाङ्मय प्रतिष्ठान नेपाल, मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान, लहरा साहित्यिक त्रैमासिक, चेरब स्मृति प्रतिष्ठान, नागार्जुन वाङ्मय प्रतिष्ठान, लालित्य सिर्जना समाज, नोवेल साकोस साहित्य संस्था, संरक्षक वनिता त्रैमासिक, गोधुली कला साहित्य प्रतिष्ठान लगायत विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूले सम्मान गरेका थिए।
कार्यक्रमको संयोजन वरिष्ठ पत्रकार तेजेन्द्र प्रसाईँले गरेका थिए भने आयोजक संस्था बानेश्वर सर्जक समाजका अध्यक्ष महेश प्रसाईँ ले सहभागी सम्पूर्ण अतिथि, वक्ता तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रममा वक्ताहरूले गोपाल कोइराला त्यागीको जीवन, संघर्ष र सिर्जनशील यात्रालाई भावी पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा चित्रण गर्दै ‘एउटा अथक योद्धा पुस्तकले नेपाली साहित्य, राष्ट्रिय चेतना र इतिहास अध्ययनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

0 comment