जीवनलाई कसरी बुझ्ने ?
तनावहरुको सिरानि लगाएर कति दिन सुत्ने ?
आफैले आफैलाई ढाँटेर कति दिन बाँच्ने ?
मैले धेरै दिन पछि
आफ्नो अनुहार ऐनामा हेरें
ङिच्च हाँसे सेल्फी लिए जस्तो
उवडखावड दाँतहरु देखिए
आँखाहरु उदास थिए
मुस्कान थिएन ओठमा
गायव थिए सपना
चुच्चो नमिलेको डौठे नाक
चाउरिन थालेका गाला
उमेरै नपुगि
वैंस ओरालो लागेको देखियो ।
मैले कहिले सम्म पिउने दुःख ?
कुन कुन कुरा भष्मिभूत हँदा सम्म
दुःखको रापमा सेकिनु पर्ने मैले ?
आँसुको पनि मुहान हुनुपर्ने
लामो खडेरी पर्दा सम्म पनि
किन बगि रहन्छ मेरो आँखा बाट आँसु ?
मनोबल गुमाएर
बलियो भएको अभिनय किन गर्ने मैले ?
पीडाले थप्पड हान्छ
घोपिन्छ छाती
छिया छिया छाती बनाई
कहिले सम्म हाँस्नु मैले ?
यसरी आफैबाट आफू भागेर
कसरी अघि बढ्न सक्छ यात्रा ?
मैले त कसम खाएकै थिएँ
रगतका नदीहरु तर्ने
मान्छेहरु अन्याय सहेर बाँचि रहेछन
अभिशप्त जस्तै जिन्दगी घसारेर
गाँस छैन
वास छैन
छैन कपास पनि
मालिक महलमा सुत्छ
दुःखिहरुको आफ्नो बुकुरै छैन ।
आउ, संग्रमको दियो बालौ
उठाऔ एकताका हात
आखिर कति दिन टिक्ला र हिटलरी साम्राज्य ?
जब उठ्ने छौ हामी
भाग्ने छन निराशाका बादल
फर्कने छन खोसिएका खुसी
पुछिने छन दुःखका आँसु
जाग्ने छन मान्छेका जिजीविषा
शनै : शनै : प्राप्त हुने छ मान्छेत्व
उठ्ने छ शिर
रुने छैन मानवता
क्रमश : अगि बढ्नेछन मान्छे
उक्लदै परिवर्तनका पहाडहरु ।

0 comment