काठमाडौं - साहित्यकार गोपी मैनालीको कृति "अक्षरको मन" निबन्ध संग्रहको एक भव्य साहित्यिक समारोहमा लोकार्पण भएको छ । प्रमुख अतिथि इतिहासविद् दिनेश राज पन्त तथा विशिष्ट अतिथिको आसनमा रहनुभएका वरिष्ठ साहित्यकारहरुद्वारा एकसाथ कृतिको लोकार्पण गरिएको थियो ।
निबन्धकार गोपी मैनाली नेपालको प्रशासन सेवामा लामो समय सेवा गरी सचिवको पदबाट सेवा निवृत्त व्यक्तित्व हुनुहुन्छ । साहित्यका विभिन्न विधाका पुस्तक लेखिसकेका मैनालीले प्रशासन क्षेत्रलाई चुस्त, दुरुस्त र पारदर्शी बनाई सुशासन कायम राख्न अवकाशपछि पनि राष्ट्रिय स्तरका पत्रपत्रिका तथा जर्नलहरुमा नियमित लेख रचना प्रकाशित गरिरहनुभएको छ ।
अनामनगरस्थित डालो रेष्टुरेन्टको सभाकक्षमा उपस्थित वरिष्ठ श्रष्टाहरुबीच मैनालीको निबन्ध संग्रहको लोकार्पण भएको छ । लोकार्पित कृतिमाथि प्रा. डा. हरि प्रसाद सिलवालले गहकिलो ढंगको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी अर्का समीक्षक परशुराम पौडेलले पनि कृतिको समीक्षा गर्नुभएको थियो । मैनालीका निबन्धहरु अत्यन्तै उच्च कोटीका रहेको धारणा समिक्षकहरुले राख्नुभएको थियो ।
उक्त कार्यक्रममा विशिष्ठ अतिथिहरु हरिभक्त सिग्देल 'महेश', प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, युवराज मैनाली, समालोचक ठाकुर प्रसाद शर्मा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कवि महेश प्रसाई, साहित्यकार राजेन्द्र के. सी. लगायतले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
उक्त समारोहको आयोजक संस्था मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष कलानिधि दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन साहित्यकार निर्मल पराजुलीले गर्नुभएको थियो । समारोहमा साहित्यकारहरु राम प्रसाद पन्त, गोपीकृष्ण प्रसाई, ईन्दिरा ढकाल (सापकोटा), चैतन्य प्रकाश प्रधान, सुवासचन्द्र पौडेल "भीमफेदिया", आलोक चालिसे, वाजुराम पौडेल, बेदमणी घिमिरे, महेन्द्र चालिसे लगायतको उपास्थिति रहेको थियो । कृतिकार मैनालीले आफ्नो सम्बोधनमा सबैलाई धन्यवाद ज्ञापन गर्दै लेखन क्षेत्रमा थप उर्जा प्राप्त भएको बताउनु भएको थियो।






0 comment