लक्ष्मी पोख्रेल,

थ्रुप्रिदै आकांक्षा चाङहरुभ पहाड जत्रा बनिरहेका छन् 
अचेल सपना पनि ।
यी पहाड त्यसै हलक्क अग्लिएका होइनन्
यहाँ त छरिएका छन्–
मेरा रहर र अठोटहरु

म त्यही पहाड माथि उभिएर
फेरि आशाको दियो बाल्न चाहन्छु
म त्यही पहाडमाथि उभिएर
 पुनः आफ्नो दायित्व उचाल्न चाहन्छु ।
आउ । अब यी पहाडहरुलाई सम्याएर
विश्वसको अन्न उब्जाउने खेता बनाउ
यी पहाडबाट मूल फुटाउ
बगाउँ शात्तिका अविरल जलधाराहरु

आउ मायाको रङ खुइलिएदेखि
उदास उदास भएका यी पहाडहरुलाई
हाम्रा सामूहिक अठोटका पहाड बनाउँ
म त्यही पहाड माथि उभिएर
हो मानवताको गीत गाउन चाहन्छु 
म त्यही पहाड माथि उभिएर
एक क्षण निराशाको आँसु बगाउन चाहन्छु
उत्साह बाढन चाहन्छु
भगवान शिवले यिनै पहाड माथि
उभिएर गाएका थिए ।
विश्व कल्याणका मन्त्रहरु
अचेल विरानो निरानो हुन खोज्दैछन् किन ?

भृकुटी र सीताको त्याग
पृथ्वी नारायण शाहको पराक्रम
वीर गोर्खालीको खुकुरीले
आफ्नो गौरवगाथा लेखेको पनि
यिनै पहाडमाथि उभिएर हो
किन मलिन मलिन यी पहाडका उज्याला ?
किन गुञ्जिन्न अचेल वेदको मन्त्र ध्वनि ?
आउ एक पटक फेरि
यी पहाडहरुलाई सुम्सुम्याई
र बजाऔं परपरसम्म पुग्ने शान्तिको पवित्र धुन ।

यही पहाड–तराई जहाँ
शान्तिको कामना गर्दागर्दै
बगेका थिए मेरा पुर्खाहरुको रगत
पहाड माथि उभिएर
एक पटक फेरि शान्तिको धुन गुन्जाउन चाहन्छु
हिमाल माथि उभिएर म
विश्व शान्तिको झण्डा फरफराउन चाहन्छु ।