काठमाडौं – एक जना युवक फुर्सद पाउनासाथ नजिकैको आश्रममा बस्ने महात्माकहाँ पुगेर विचार विमर्समा डुब्थ्यो । विमर्शको क्रममा एक दिन महात्माले भने– मातापिता र परिवारको भरणपोषण गर्नु हाम्रो कर्तव्य हो । तर मायामोहबस त्यसैमा आशक्त भएर जीवनलाई खुम्चाउनु भने हुँदैन । त्यसैले परिवारको भरण पोषणका साथमा हामीले भागवातको स्मरणमा पनि उत्तिकै समय दिनुपर्छ । 

आफुलाई परिवारका हरेक सदस्यले प्राण झै माया गर्छन र आफुबिना उनीहरु मर्छन भन्दै युवक महात्माको विचारसित सहमत हुन सकेन । उनीहरु बीच यसबारे परिक्षा गर्ने सहमति भयो । सहमति पछि युवक घर फर्कियो । घर पुग्नासाथ पेट दुःख्यो भनेर भुईमा पछारियो । परिवारका सबैभेला भए । युवकले मरे मरे भन्दा भन्दै प्राण त्याग्यो । परिवारका सबै जना रुन कराउन थाले । 

त्यसैबेला ती महात्मा त्यहाँ आइपुगे । उनले भने म मृतकलाई बचाइदिन्छु । मलाई अलिकति जल दिनुहोस् । खुसीहुँदै युवककी पत्नीले तुरुन्तै जल ल्याइदिइन् । महात्माले मन्त्र पढ्दै भने – ल अब तपाईहरुमध्ये एकजनाले यो जल पिउनुहोस् । तर याद गर्नुहोस्, जसले यो जल पिउँछ उ मर्छ अनि यो युवक उठ्छ । 

उपस्थित सबैजना मुखामुख गर्न थाले र अर्को बाँच्छ भनेरको मरोस् । छिमेकी सबै लाखापाखा लागे । युवकका पिताले भने – म जल अवश्य पिउँथे तर म मरे भने श्रीमतिको के हाल होला ? माताले भनिन्– म पिउँथे तर म मरे भने यी बुढाको कन्तवियोग हुन्छ । यिनी खानै नपाई मर्न बेर छैन । पत्नीले भनिन् यी लालाबाला नभएको भए म पिउँथे । तर यिनको सुरक्षित भविष्यका लागि पनि मैले बाँच्न जरुरी छ । 

सबैको कुरा सुनेपछि महात्माले भने – त्यसो भए मै पिइदिउँ त यो जल ? प्रस्ताव भुईमा खस्न नपाउँदै सबैले एकै स्वरमा भने हुन्छ, हुन्छ तपाई नै पिउनुहोस् । तपाईको त रुने कराउने पनि कोही छैनन् । त्यसपछि जुरुक्क उठेर युवकले भन्यो– “महात्मा जी तपाईले पिउनु पर्दैन मैले संसारको वास्तविकता बुझे ।”