काठमाडौं - नेपाली कांग्रेस संस्थापन इतर पक्षको बन्दसत्र जारी रहेको छ । बिहान १० बजेदेखि सुरु भएको बन्दसत्रमा पूर्वगृहमन्त्री समेत रहेका नेता रमेश लेखकको ‘नेपाली कांग्रेसको विधान संशोधन अवधारणापत्र’ र पूर्वसहमहामन्त्री उमाकान्त चौधरीको संगठनसम्बन्धी प्रस्ताव पारित भएको छ । 

भेलाले गत पुसमा सम्पन्न विशेष महाधिवेशनलाई अवैधानिक ठहर गरेको छ ।

लेखकको विधान संशोधनसम्बन्धी अवधारणा प्रस्तावमा पार्टी सदस्यतालाई डिजिटल प्रविधिमार्फत स्वचालित गरिनुपर्ने, ३० वर्षमुनिका युवालाई पार्टी संगठनका सबै तहमा प्रत्यक्ष निर्वाचित र मनोनीतको व्यवस्था गर्ने,सदस्यता नवीकरण र हटाउन सकिने व्यवस्था गर्ने, सबै तहमा सदस्यता वितरण तथा नवीकरण लगायतका सम्पूर्ण कार्यलाई कम्प्युटर प्रणालीमा आधारित प्रविधिमा रुपान्तरण गर्ने व्यवस्था गर्ने उल्लेख छ ।

यस्तै. केन्द्रीय कार्यसमितिमा पार्टी सभापतिले मनोनीत गर्ने कोटामध्ये २५ प्रतिशत सिट समाजशास्त्री, राजनीतिशास्त्री, अर्थशास्त्री, कानुन शास्त्रीलगायत विभिन्न क्षेत्रका विशेषज्ञलाई मनोनीत गरिनुपर्ने प्रस्ताव छ ।

सहमहामन्त्री चौधरीले प्रस्तुत गरेको सांगठनिक प्रस्तावमा सामान्य संशोधन गरेर पारित गरिएको छ । उनले पनि पार्टीको सदस्यतालाई डिजिटल प्रणालीले मूल अवधारणा प्रस्तुत गरेका थिए ।

पूर्वसभापति शेरबहादुर देउवाको समेत सहभागिता रहेको यस भेलाको नाम परिवर्तन गरेर सम्मेलन गखिएको छ ।  देउवा पक्षीय नेता मीन विश्वकर्माले सर्वोच्च अदालतले कांग्रेस विवादसम्बन्धी मुद्दामा पुनरवलोकनको अनुमति दिएकाले नाम संशोधन गरेर सम्मेलन भनिएको बताएका छन् । विश्वस्त स्रोतका अनुसार  विधानले भेलालाई नचिन्ने भएकाले नाम परिवर्तन गरेर सम्मेलन राखिएको हो ।   शुक्रबारदेखि सुरु सम्मेलन आजै सकिँदै छ ।