हेलम्वु क्षेत्र,
सिन्धुपाल्चोक जिल्ला प्राकृतिक हरियाली डाँडाकाँडा, बनजंगल, पाखा पर्वतले ढाकिएको आकर्षक क्षेत्र हो । राजधानीबाट लगभग ४५ माईलको दूरीमा (७२ प्।ः।) रहेको यो जिल्ला अन्तरगत हेलम्वु क्षेत्र पर्यटक आकर्षणको थलो मानिन्छ । यहाँ प्राय ः ह्योल्मो जातिहरुको वसोवास रहेको छ । “योल्मो’ वा स्थानीय भाषामा “ह्योल’ भन्नाले वरिपरि हिमालले घेरिएको स्थान र “मो’ भन्नाले देवी÷आमा जनाउँछ । हेल्मो भाषामा “हे’ को अर्थ आलु र लवु को अर्थ “मुला’ हुन्छ । त्यो ठाउँमा आलु–मुला प्रशस्त हुनाले हेलवुवाट अपभ्रंश भएर “हेलम्वु’ ठाउँको नामै रहेको बताईन्छ । हेलम्वु क्षेत्रमा बस्ने ह्योल्मोहरुको रहन सहन–धर्म शेर्पा–तामाङ जाति सँग केही मिल्छ ।
यस जिल्लामा मूख्य २ भञ्ज्याङहरु रहेको छन् – हेलम्वु भञ्ज्याङ (उपत्यका) र तातोपानी भञ्ज्याङ ।
हेलम्वु भञ्ज्याङ क्षेत्रको थुप्रै आकर्षणहरु मध्ये तार्केघ्याङ पनि एक हो । यो पुरानो घ्याङ २०२८ सालमा पुन निर्माण गरिएको थियो । तार्केघ्याङको नाम रहनुमा आफ्नै कथा छ – राजा रत्नमल्लको पालामा एकपटक काठमाण्डौंमा ठूलो महामारी फैलेको थियो । जसबाट धेरैको ज्यान गएछ । अनि यसै गुम्वाका लामालाई राजाले दरवारमा बोलाएर लामा उपचार विधिबाट महामारी रोक्न सफल भएछन् । तव राजाले खुशी भएर मन लागेको चिज मागभन्दा लामाले १०० वटा घोडा मागेछन् । राजाबाट प्राप्त ती घोडा लिई लामा गुम्बामा फर्केछन् । ह्योल्मो भाषामा “ता’ भनेको घोडा र “घ्या’ भनेको “सय’ हुने भएकोले सो “ताघ्या’ बाट “तार्केघ्याङ’ भएको हो, भनिन्छ । पछि पुन ः लामाले घोडा फिर्ता गरेर जग्गा मागेछन् । अनि राजाले त्यहिको जग्गा बक्सिस भएछन् । राजासँग जग्गा मागेर प्राप्त गरेको हुनाले ह्योल्मो भाषामा यस ठाउँलाई “लाङरा घ्याप्सा’ (मागेर दिएको) पनि भन्ने गरिएको बताईन्छ । हेलम्वुको स्याउ, करु, ताल, झरणा, निकुञ्ज, प्रचलित र मुख्य मानिन्छन् । यसकै निकटमा रहेको मेथाङ स्थित पाँच पोखरी तीर्थ ज्यादै रमणिय लाग्छ । तार्केघ्याङ सँगै डुप्गाङ गुम्वा, चिरी गुम्वा रहेको छ, भने अर्को प्रसिद्ध यसको निकटमा रहेको “मेलम्चे घ्याङ’ पनि हो, जो चिनियाँ लामाबाट रेखदेखमा रहेको छ । शेर्माथाङ एक अर्को पर्यटक तान्ने सम्पदा हो । हेलम्वु जानलाई राजधानीबाट मोटरमा पाँचखाल, लामीडाँडा, ढाँडखोला, बाहुनीपाटी हुँदै मेलम्ची, तारामाराङ महांकाल तिम्बुसम्म ५÷६ घण्टामा पुग्न सकिन्छ । त्यहाँबाट हेलम्वु पुग्न पैदल केही घण्टा हिड्नुपर्छ । यस्तै केही वर्ष देखि काठमाण्डौंको जोरपाटीबाट सांखु, नाङलेभारे, फटकशीला, बाहुनीपाटी, मेलम्चीनगरपालिका हुर्दै हेलम्वु यातायातबाट सेवा दिई राखेको छ भने चावहिलबाट कोटेश्वर, बनेपा–धुलीखेल, पाँचखाल, लामीडाँडा, कुन्ता बेंशी, ढाडखोला, मेलम्ची बजार भएर पनि यो बसबाट दैनिक आवत जावत गर्न सकिन्छ ।
हेलम्वु क्षेत्रमा धेरै पुरानो गुफा रहेको छ । परापूर्वकालमा त्यहाँ गुरु रिम्पोच पदमसम्भवेद्धारा तपस्या गरिएको बताइन्छ । दोस्रो, मिलारेया गुफा वा डुप्खाङ गुफा हो – जहाँ मिलारेयाद्धारा तपस्या गरिएको थियो । अर्को तबुसिङगीजोङ गुफा हो । लुङतेनफु जहाँ ङाछयाङ शाक्य जाङवोले तपस्या गरेको थिए । उहाँको प्रयासमा चिरी गुम्बा निर्माण गरिएको बताइन्छ । चौथो, रउफु गुफा हो । गुरु ग्यावा गेचाङवाले तपस्या गरेको स्थान जहाँ गेचाङलिङ गुम्बा रहेको छ । पाँचौं, गाङग्युल गुफा हो, जो गुरु डुक्पा काग्युपाले तपस्या गरेको स्थान मानिन्छ । यस्तै नाकोते गुम्बा – उर्केनको ल्हालुङ पल्दोर्जे गुरुबाट बनाइएको थियो । बौद्ध विद्धान साधकबाट तपस्या गरेको प्राकृतिक गुफा नै पछि गुम्बा निर्माण गरी रुपान्तर भएको बताइन्छ । देशभर मै बढी गुम्बा भएको सिन्धुपाल्चोक जिल्लामा पनि सबैभन्दा बढी गुम्बा हेलम्बु क्षेत्रमा पाईन्छ । स्मरण रहोस् यहि हेलम्वु क्षेत्र र अन्य स्थानबाट राजधानी काठमाण्डौं आएर बसोबास गर्नेहरुले “घ्योल्मो समाज सेवा केन्द्र’ वा “ह्योल्मो जब्घाङ देछेन होसाल छ्योलिङ’ नामक गुम्बा, बौद्ध, तीनचुलीमा र आमा ह्योल्मो सेवा जोरपाटीमा हालै भव्य रुपमा निर्माण गर्नु भएको छ । यसबाट बुद्ध धर्मको संरक्षणमा ठूलो टेवा पुग्ने आशा गर्न सकिन्छ ।
गौराती भीमसेन –
सिन्धुपाल्चोक जिल्लाको पर्यटन क्षेत्र मध्ये गौराती भीमसेन मन्दिर पनि एक हो । सदरमुकाम चौताराबाट केही उत्तर तर्फ गौराती भन्ने गाउँमा गौराती भीमसेनको मन्दिर अवस्थित छ । यस जिल्लाकै पुरातात्विक – ऐतिहासिक धरोहरका रुपमा परिचित अग्लो डाँडामा रहेको यस मन्दिर परिसरमा महाकाली, सरस्वतिको थान पनि रहेको छ । शीला लेख अनुसार करीब ४ सय वर्ष पुरानो मानिने यहाँ परापूर्वककालमा गौ (गाई) र राती भन्नाले रातो रंगको गाई राती पत्ता लगाईएकाले “गौराती’ नाम रहेको भनिन्छ । यसै धार्मिक क्षेत्रबाट गाउँको नाम नै “गौराती गाउँ’ रहेको स्थानीय बुढापाकाहरु बताउछन् । अनि कार्तिक शुक्ल पूर्णिमाका दिन “भीमसेनको’ उत्पति भएको भन्ने जनश्रृत्ती भएकाले “गौराती भीमसेन’ नाम रह्यो र यस दिन यस पवित्र धाममा ३ दिनसम्म ठूलो मेला लाग्ने गरेको छ । वडादशैं, श्रीपञ्चमी, चैत अष्टमी आदि विशेष पर्वमा पनि टाढा टाढाबाट आएका भक्तजनहरुको ठूलो भीड लाग्छ । भक्तजनले यहाँ आई पशु वली (पंचवली) दिने, वत्ति (लाख वत्ति) बाल्ने, पुजा आराधना गर्ने गर्दछन् । यसबाट उनीहरुलाई चिताएको पुग्ने, सुख शान्ति मिल्ने विश्वास रहेको छ ।
यहाँबाट सूर्योदय, सूर्यास्त, जुगल हिमाल, गणेश हिमाल, गौरी शंकर हिमाल लगायत प्रकृति हरियाली वन पाखा, खोला नाला राम्ररी अवलोकन गर्न सकिन्छ ।
हेलम्वु, गौराती भीमसेनपछि तातोपानी भञ्ज्याङ जो तत्कालीन तातोपानी गा.वि.स. मा पर्दछ । यहाँ एक ठाउमा बाह्रै महिना तातोपानीको धारा बगीरहने हुनाले नै यस स्थानलाई तातोपानी गाउँ भनेको स्पष्ट हुन्छ । जहाँ टाढाबाट आएर स्नान गर्नेहरुको भीड लाग्छ । यो क्षेत्र तिब्बतको खासा जाने सीमा भोटेकोशीको मितेरी पुल सम्म पर्दछ ।
यस क्षेत्रको चर्चित अन्य स्थानहरुमा दुगुना गडी, लिस्ति माई, गुम्बाहरु, धुन्थाङको टुडिखेल, झर्नाहरु, कफेश्वर महादेव मन्दिर तथा अन्य मठ मन्दिरहरु, जलविद्युत केन्द्र आदि मुख्य हुन्। सुनकोशी, भोटेकोशी, इन्द्रावती, बलेफी यहाँका मुख्य नदीहरु हुन् । जहाँ पर्यटकहरु जल विहार, राफ्टिङ गर्न खुव लालयित हुन्छन् । जुगल हिमाल, याग्रीमा, गोल्चे, लित्री आदि हिमश्रृङखलाहरु यस जिल्लाबाट अवलोकन गर्न सकिने थप आकर्षण हुन् ।
दुःखको कुरो २÷३ वर्ष अघि मात्र बाह्रविसे लामो साघु माथिबाट जुरेको ठूलो पहिरोले केही गाउँ बगाएर जनधनको ठूलो क्षति भएको थियो । पहिरो खस्दाभोटेकोशीले कति मान्छे बगायो, घर कति ढले ।यता २०७२ सालको महाभूकम्पले सिङ्गै देशलाई आहत बनायो भने गोर्खाको वारपाक पछि सिन्धुपाल्चोक नराम्ररी क्षत विक्षत भएकाले समग्र जिल्लाकै अनुहार कुरुप जस्तै बनाई दियो । बाटो भत्केर तातोपानी भन्सार नाका बन्द भई लामो समयसम्म व्यापार ठप्प भयो । राज्यबाट सकृयताका साथ समयमा राहत उपलब्ध हुन नसक्दा यो क्षेत्र व्यूझन धेरै समय लाग्ने नै भयो । धार्मिक एवम् प्राकृतिक पर्यटन पुरातात्विक सम्पदाहरु भत्किएर मर्मत सम्हार हुन नसक्दा जिल्ला र सिङ्गै देशलाई घाटा हुने नै भयो । यद्यपी आफुलाई यथासक्य सम्हाल्दै यो जिल्ला अघि बढी रहेकै छ ।
0 comment