फिनलैण्डको केमीयारभीबाट मध्यरातको सूर्य हेरेर रोभिनियामी आइपुगी त्यहाँबाट फिनलैण्ड र स्वेडेनको सीमामा रहेको स्वेडिस शहर हाप्पाराण्डसम्म पुग्नको लागि स्थानीय रेल लिएर हिँडे । डेढ घण्टामै म हाप्पाराण्ड आइपुगेँ । त्यहाँको रेलवे स्टेशनको सूचना केन्द्रमा बुझ्दा त्यहाँ खास ऐतिहासिक महत्वको अवलोकन गर्ने स्थल नभएको बरु त्यहाँबाट १३३ किलोमिटर पर बोडेन भन्ने स्वेडेनको अर्को शहर दर्शनयोग्य भन्ने सूचना प्राप्त भएकोले केही समय स्टेशन छेवमै रहेको हाप्पाराण्ड समुद्रीतट डुली त्यहाँबाट स्वेडिस रेल लिएर म बोडेन आइपुगेँ । बोडेन आइपुग्दा दिनको दुई बजेको थियो । अनि म लागेँ त्यहाँको प्रख्यात मानिएको स्टे«न्यांस क्याथेड्रल अवलोकन गर्नेतर्फ ।
स्टेन्यांस क्याथेड्रल
यो एक लुथेरान चर्च रहेछ । धार्मिक सुधार प्रोटेस्टेन्ट क्रान्तिपश्चात यो चर्चमा स्वेडनको विशपको निवास र कार्यालय दुवै रहेछ । स्केण्डेनेभियन गोथिक शैलीमा बनेको यो चर्च इँटैइँटाले बनेको रहेछ । यस चर्चको मौलिकरुप भने १२ आंै शताब्दीको पहिलो दशकमा काठले बनेको रहेछ । धार्मिक सुधार आन्दोलनकै क्रममा ११ आंै शताब्दिमा एस्किल भन्ने पादरी यहाँ मारिएका रहेछन् र यहाँ पागान प्रकृयाबाट पूजा गरिदोँ रहेछ । पागान प्रकृया ध्यान, प्रार्थना, मन्त्रोच्चारण र संगीतको अनौठो प्रयोग हुने युरोपमा कहीँ नभएको पूजा विधि रहेछ । जब यो चर्च धार्मिक सुधार आन्दोलनपश्चात लुथेरान प्रोटेस्टेन्ट चर्चमा परिणत भयो यहाँ स्ट्रेन्यास विशप भएर आएका रहेछन् र उनैको सकृयतामा काठको मौलिक चर्चको स्थलमा ढुंगा र इँटाको वर्तमान चर्च बनाइएको रहेछ ।
यस चर्चको निर्माण गर्दा मिश्रित शैलीका साजसज्जाहरु प्रयोग गरी चर्चलाई आकर्षक बनाइएको रहेछ । चर्चको स्तम्भहरुको बीचको भाग (नेभ), मुख्य पूजा र प्रार्थना गर्ने मंच जस्तो अग्लोस्थल (आल्टर), आल्टरको वरिपरिको भित्ता (चान्सेल), चान्सेलको बीचमा रहेको अति पवित्रस्थल (सान्क्चुरी) ज्यादै परम्परागत शैलीमा बनाइएको रहेछ । आल्टरको पछाडिको भित्तामा गरिएका काष्ठकलात्मक प्रस्तुति (ट्रिपिटक रेरेडोस) चर्चको भित्री भागको पूर्वी अन्तमा प्रभावपूर्ण र आकर्षक किसिमबाट निर्माण गरिएको रहेछ । तर त्यसको ठीक विपरीत चर्चको गोलाकार गजुरको भित्री भाग भने आधुनिक शैलीमा बनाइएको रहेछ जस्ले गर्दा दर्शनार्थीहरुले परम्परागत, आधुनिक र अमूर्त शैलीको नेभ, चान्सेल, आल्टर र सान्कचुरी एकै चर्चभित्र तुलनात्मक रुपबाट अवलोकन गर्न सक्दा रहेछन् । यस चर्चभित्र स्वेडेनका महत्वपूर्ण ऐतिहासिक ब्यक्तित्वहरुको चिहानहरु पनि रहेछ जस्मा स्वेडेनका राजा चाल्र्स नवौंको चिहान पनि पर्दो रहेछ । चर्चभित्र मेरीको मूर्तिलाई इँटाको ठूलो खोपामा सजाइएको रहेछ । यसै चर्चमा स्वेडेनको महारानी क्रिस्टिनाको श्रीपेच पनि राखिएको रहेछ ।
यस चर्चको अर्को महत्वपूर्ण पक्ष भनेको यहाँभित्र रहेको स्वेडेनको सबैभन्दा पुरानो र प्रयोगमा रहिरहेको पुस्तकालय पनि रहेछ । यस पुस्तकालयको स्थापना सन् १३१६ मा भएको रहेछ । एक जना विधवाले उपहारस्वरुप दिएको पुस्तकहरुबाट शुरु भएको यो पुस्तकालयलाई सन् १६०० मा स्वेडेनकी महारानी क्रिस्टिनाले पहिलो चरणमा विस्तार गरेकी रहेछिन । सन् १७०० मा पादरीहरुले उपहारस्वरुप पाएका पुस्तकहरुलाई जम्मा गरी यो पुस्तकालयलाई अझै विस्तारित गरिएको रहेछ । करिब डेढ घण्टामा यो क्याथेड्रल अवलोकन गरी स्वेडेनको अर्को शहर उपशाला जाने क्रममा म रेलवे स्टेशनतर्फ फर्किएँ ।
0 comment