हेलसिन्कीको क्रनुनहाका स्थित हेलसिन्की क्याथेड्रल हेरिसक्दा दिनको १ वजेको थियो । बाँकी समय हेलसिन्कीकै अर्को महत्वपूर्ण उस्पेन्स्की क्याथेड्रल हेरी रात्री रेलबाट फिनलैण्डको अर्को शहर टाम्पेरे जाने योजना मुताविक म त्यता तिर लागे । हेलसिन्की क्याथेड्रलबाट एक किलो मिटर भन्दा अलि बढीको दुरीमा रहेछ यो क्याथेड्रल । त्यसैलै म पैदलै त्यता तिर लागे । विस्तारै हेलसिन्की शहर हेर्दै, फोटो खिच्दै जाँदा म ४५ मिनेटमा त्यस क्याथेड्रल पुगे । 

उस्पेन्स्की क्याथेड्रल 

यो क्याथेड्रल फिनलैण्डकै मुख्य पूर्विय अर्थोडक्स चर्च रहेछ । यो भर्जिन मेरी (थियोटोकस) मा समर्पित क्याथेड्रल रहेछ । थियोटोकस नाम स्लाभोनिक शब्द उस्पेन्सीबाट आएको रहेछ जस्को अर्थ चीर निद्रा, मृत्यु वा समाधी भन्ने बुझिदो रहेछ । क्राइष्टकी माता भर्जिन मेरी यस चर्चभित्र चीर निन्द्रामा रहेको कारण यस क्याथेड्रलको नाम पनि उस्पेन्सी भनेर राखिएको रहेछ । यो चर्चको डिजाइन रसियन वास्तुविद आलेक्सी गोर्नोस्ताभेभले गरेका रहेछन ।

सन १८६२ मा आलेक्सीको निधन भएपछि यो चर्चको निर्माण कार्य शुरु भई ६ वर्ष याने सन १८६८ मा सम्पन्न भएको रहेछ । यस चर्चको छिडितला (क्रिप्ट) भने आलेकजेण्डर होटोभिज्च्कीको नाममा राखिएको रहेछ जो सन १९१४ देखि १९१७ सम्म यसै चर्चमा भिकार रहेछन । तिनतिरबाट पानीले घेरिएको काटायानोक्का थुम्कोमा रहेको यस चर्चको परिसरबाट हेर्दा हेलसिन्की शहर ओझेलमा पर्ने रहेछ । चर्चको पछाडिपट्टि भित्तामा रसियन बादशाह अलेक्जेण्डर द्धित्तियवारेको धातुपत्र (प्लाक) टासिएको रहेछ । यिनैको पालामा पनि फिनलैण्ड रसियाको शासन अन्तर्गत रहेछ र फिनर्लण्डको शासन हेर्नको लागि भनेर यी रसियन वादशाहले ग्राण्ड डची नियुक्त गरेका रहेछन र उनैको पालामा यो चर्च बनेको रहेछ । यस चर्च भित्र अवलोकन योग्य वस्तुहरुमा १९औ शताब्दीको सेन्ट निकोलासको मूर्ति पर्दो रहेछ ।

पहिले यो मूर्ति फिनलैण्डको भिवोर्गमा राखिएको रहेछ तर दोश्रो विश्व युध्दको समयमा यसलाई यस चर्चमा ल्याइ स्थापित गरिएको रहेछ । यसलाई संरक्षणको खातिर शिशाको घर भित्र राखिएको रहेछ । अर्को दर्शन योग्य वस्तु भनेको थियोकोटस कोजेल्टशान याने भर्जिन मेरीको चित्र रहेछ । यस चर्चलाई पश्चिम यूरोपकै सबैभन्दा ठूलो अर्थोडक्स चर्च मानिदो रहेछ । यस चर्चमा बार्षिक ५ लाख भन्दा वढी पर्यटकहरु अवलोकन गर्न भनी आउदा रहेछन । यस चर्चको अवलोकन गरिसकेपछि मेरो हेलसिन्कीमा हेर्नुपर्ने हरु केही भए जस्तो नलागेकोले म फिनलैण्डको अर्को शहर टाम्पेरे तर्फ प्रस्थान गर्ने उद्देश्यले रेलवेस्टेशन तर्फ लागे ।