काठमाडौं - चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुन जस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन् ।
लहान नगरपालिका- १५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइ डाँडा ताल’ निर्माण गरिएको छ । पूर्व- पश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब १० किलोमिटर उत्तरमा पर्छ यो ताल ।
जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ताल संरक्षण र व्यसस्थापनसँगै पर्यटनको समेत विकास गरिएको झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले बताउनुभयो ।
झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको यस तालको वरिपरि अन्य चारवटा सानाठूला पोखरीसमेत रहेका छन् । प्राकृतिक सुन्दरताका साथै थप पर्यटकीय संरचनाको निर्माणपछि पर्यटनको नयाँ गन्तव्यका रुपमा यस क्षेत्र विकास भएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष चौधरीका अनुसार तालको संरक्षण, सम्बर्धन र सौन्दर्यीकरण गरी पर्यटकीयस्थल निर्माणमा डिभिजन वन कार्यालय लहान, सिरहाबाट ७० लाख, वन तथा भूसंरक्षण विभागबाट रु २० लाख, जलस्रोत तथा सिँचाइ विकास डिभिजनबाट ४० लाख, संसद् विकास कोषबाट १५ लाख सहयोग रकम खर्च भएको छ ।
त्यसैगरी पर्यटन विकास कार्यलय लहानबाट यस आर्थिक वर्षभित्रमा कार्यान्वयन गर्ने गरी रु ५० लाख विनियोजन भएको छ । उक्त बजेटबाट समितिले तालमा ‘बोटिङ’ सञ्चालन, ठाउँ- ठाउँमा विश्रामस्थल निर्माण, ताल घुम्ने बाटो, शौचालय, वनभोजस्थल लगायतका संरचना बनाइसकेको छ भने महादेव र हनुमान मन्दिर निर्माण अधुरो रहेको छ ।
त्यसैगरी आगामी दिनमा भ्युटावर बनाउने लक्ष्यसमेत रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
0 comment