अनेक सम्पदाका आयामबाट फरकफरक खाले आनन्दको रसोपानपछि पुग्यौं अन्नपूर्ण आधारशिविर (४१३० मिटर) । यतिबेला यहाँको तापक्रम छ, माइनस १ डिग्री । चराजस्तै चाँडो उठेर भकाभक ओइरिँदैछन् हिउँ पहिरोको डिलमा अवस्थित दृश्यावलोकन परिसरमा पर्यटक । उल्लास, उमंग, प्रसन्नता र रोमाञ्चकताको बहार बोकेर ।

जतिजति प्रभातकालीन उज्यालोको मात्रा बढ्दैछ, उतिउति चारैतिरका सेता हिमचुचुराले आफ्ना असली रूप र सौन्दर्य प्रदर्शन गर्दैछन् । हिजो अपरान्हपछि यि सबै बाक्लो बादलको समुन्द्रभित्र बेपत्ता भएका थिए ।

सेताम्मे हिउँबाट सुशोभित हिम शृङ्खलाको गोलाकार पर्खाल उभिएको छ चारैतिर । अन्नपूर्ण आधारशिविरको विशेषता भनेको चारैतिर मज्जाले मुस्कुराइरहने दर्जनभन्दा बढी विशाल हिमचुचुराहरू हुनु र ती अद्भुत आनन्द दिलाउने हिमचुचुराहरू बीच आफैंलाई आनन्दमा हराउने दुर्लभ अवसर मिल्नु हो । जसको भव्यता, भद्रता र सुन्दरताको सम्पूर्णतालाई समात्न सक्ने शब्द वा बिम्ब छैनन् । यो असीमित खुसीका अनुपम अनुभव अभिव्यक्ति गर्ने शैली वा सामर्थ समेत छैन मसंग । सानदार हिमशिखर सामुन्ने देखिन्छन् । मानौं सजिलै आफ्नै हातले सुमसुम्याउन  सकिन्छ । चित्ताकर्षक यी सुन्दर शिखरहरूको दृश्य हेर्नुमा जति आनन्द हुन्छ त्यत्तिकै लाग्छ गौरवानुभूति ।

बिहान ठीक ६ः१५ बज्यो । सूर्योदयको सुरुवाती झुल्काले पश्चिमपट्टि सबैभन्दा ठुलो आकारमा उभिएको अन्नपूर्ण साउथ (७२१९ मिटर)को शिरमा सुनको जलप लगाइदियो । हेर्दाहेर्दै छिनभरमै चाँदीको सिंगो ढिक्का बन्यो । पालैपालो (घडीको सुईअनुसार) अन्नपूर्ण फाङ अर्थात् बाह्रशिखा चुली (७६४७ मिटर), अन्नपूर्ण पहिलो (८०९१ मिटर), खाङसार (७४८५ मिटर), सिंह चुली (६५०० मिटर), टेन्ट चुली (५६०० मिटर), अन्नपूर्ण तेस्रो (७५५५ मिटर), गन्दर्भ चुली (६२४८ मिटर), माछापुच्छ्र«े  (६९९७÷६९९३ मिटर) र अन्नपूर्ण साउथको आडमा अवस्थित हिमचुली (६४४१ मिटर) लगायतका साराका सारा हिमचुचुरा चमचम चम्किने चाँदीमा बदलिन्छन् । आफैंलाई पूर्ण बनाइदिने आत्मिक सन्तुष्टिका सर्वोत्तम दृश्यावली ! योभन्दा अरू के हुन सक्छ पर्यटकका लागि सौन्दर्य रसोपानको खाट्टी खजाना ?

सुश्री आस्लेको अनुहारमा पनि खुसीको घाम झल्मलायो । उनको सौन्दर्य देखेर को डुब्छ कल्पनामा ? यिनी भने धेरै बेर हिमचुचुरोको सौन्दर्यमा डुबिरहिन । ग्रीन भ्याली नेपाल ट्रेक्स एन्ड रिसर्च हबमार्फत अन्नपूर्ण आधारशिविरसम्मको पदयात्रामा जोडिएकी मेरी पाहुना हुन् उनी लय मिलाएर हासिने हासो अनुकरणीय छ यिनको । आन्तरिक सुन्दरता समेत प्रसंशनीय छ । सुन्दर वा धेरै राम्रो भन्ने अभिव्यक्तिको लागि अङ्ग्रेजी ‘पृटी’ शब्द प्रयोग गर्छिन् । चिनियाँ मुलकी अमेरिकी आस्ले आम चिनियाँ पर्यटकभन्दा स्तरीय छिन् । अनुशाशन, जिज्ञासा र भलदामी पनको मात्रा प्रचुर भएर पनि । 

हप्ता दिनको हिडाइपछि अन्नपूर्ण आधारशिविर आइपुगेका हौ हामी । यसपालि पदयात्राका प्रायः सबै दिनका मौसम राम्रा रहे । पदमार्गमा देखिएका हिमचुचुराको अपूर्व सौन्दर्यले मनमा खुसी र आनन्दको बहार नै उर्लायो । 

चुम्बक बनेर मायालुको मुस्कानले जस्तै तानिरह्यो । वीरेठाँटीदेखि उल्लेरी (२०५० मिटर)सम्मको पहिलो दिनको पदयात्रामा उल्लेरीको उकालो काट्ने बित्तिकै (पूर्णिमा होटल पुग्ने बेला) अन्नपूर्ण साउथ र हिमचुलीले मायालु पारामा मन्टो झुकाएर स्वागतमा उत्रेको थिए ।

दोस्रो दिनको पदयात्रा थियो, उल्लेरीदेखि घोरेपानी (२८७४ मिटर)सम्मको । दिउसो घोरेपानी पुग्दा प्रायः हिमालहरू बादलबाट पुरिएका थिए । भोलिपल्ट पुनहिल (३२१० मिटर) पुगेको बेलामा भने माछापुच्छ्रे  (६९९७ मिटर), हिमचुली (६४४१ मिटर), अन्नपूर्ण साउथ (७२१९), अन्नपूर्ण पहिलो (८०९१ मिटर), निलगिरी (७०६१ मिटर), धम्पुस चुली (६०१२ मिटर),  टुकुचे चुली (६९२० मिटर), धौलागिरी पहिलो (८१६७ मिटर), धौलागिरी दोस्रो (७७५१ मिटर), धौलागिरी तेस्रो (७७१५ मिटर), धौलागिरी पाचौं (७६१८ मिटर), धौलागिरी चौथो (७६६१ मिटर) लगायतका दर्जनभन्दा बढी हिमचुचुराको लस्करले खुसीको बाढी ल्यायो । मनका खोल्साखोल्सीमा तृप्तीको अमिट छाप छाडेर ।

ताडापानी (२६३० मिटर)को टार्गेट थियो, तेस्रो दिनको । त्यहाँबाट अन्नपूर्ण साउथ (७२१९ मिटर), हिमचुली (६४४१ मिटर), अन्नपूर्ण तेस्रो (७५५५ मिटर), गन्दर्भ चुली (६२४८ मिटर), माछापुच्छ्रे (६९९७÷६६९३मिटर), मार्दी हिमाल (५५८७ मिटर) र लम्जुङ (६९८३ मिटर) हिमालका मन थाम्न नसकिने दृश्य कम्ता मनमोहक थिएन ! 

चौथो दिन ताडापानीबाट छोम्रोङ (२१७० मिटर) थियो गन्तव्य । पदयात्राको क्रममा हिडाइबाट उत्पन्न शरीरको ताप र घामको रापले लगाउदैको लुगा खोलेर कता फ्याकु जस्तो बनायो । अपरान्ह छोम्रोङ पुग्दा पनि हिमचुचुराहरू मैलो बादलको सिकारमा परिसकेका थिए । भोलि बिहान भने भएजतिका अन्नपूर्ण साउथ (७२१९ मिटर), गङापूर्ण (७४५५ मिटर), हिमचुली (६४४१ मिटर), अन्नपूर्ण तेस्रो (७५५५ मिटर), गन्दर्भ चुली (६२४८ मिटर), माछापुच्छ्रे (६९९७÷६९९३ मिटर) र मार्दी हिमाल (५५८७ मिटर)ले कोभन्दा को कम भने जसरी सौन्दर्य प्रदर्शन गर्न उत्रेका थिए । 

बेम्बो (२३१० मिटर)सम्मको गन्तव्य थियो, पाँचौ दिनको ।

अब हिमचुचुरा दायाँबायाँ अग्लाअग्ला डाडाकाढाबाट छेलिदै गए । अप्पर सिनुह्वा आइपुग्दा अन्नपूर्ण साउथ (७२१९ मिटर), हिमचुली (६४४१ मिटर), अन्नपूर्ण तेस्रो (७५५५मिटर) र माछापुच्छ्रे (६९९७/९९६३ मिटर) ले मात्र साथ दिएका थिए हाम्रो यात्रामा । बेम्बोमा त साथदिने हिमाल भनेको मात्र माछापुच्छ्रे भयो । त्यो पनि टाउकोको भाग मात्र ।

छैटौं दिनको गन्तव्यले बेम्बोबाट चार घण्टा उक्लेपछिको देउराली (३२३० मिटर) पुर्यायो । बाटोमा पर्ने दोभान (२२०० मिटर)बाट देखिने हिमाल भनेको पनि नै माछापुच्छ्रे मात्र हो । तर यहाँबाट देखिने माछापुच्छ्रेको दुई पुच्छरको भव्यता चनचुने थिएन । पुच्छरका सम्पूर्ण भाग सर्लक्कै देखिएको थियो । हिमालय (२९२० मिटर)बाट कुनै  हिमाल देखिदैन । त्यसपछि बल्ल देउराली पुग्नुभन्दा आधी घण्टा अगाडि (हिमलयबाट आउने उकालो सकिएपछि) हिन्कु गुफा (३१७० मिटर)को डाडामा आएपछि माछापुच्छ्रे (६९९७÷ ६९९३ मिटर) र अन्नपूर्ण तेस्रो (७५५५ मिटर)को टाउको मात्र देखिन्छ । त्यो समय थियो, मध्यन्हको समय । देउरालीको सिरानबाट भने गङापूर्णको थोरै भाग (शिर) मात्र देखिन्छ । अपरान्हपछि एक्कासि डाकाले घर घेरे जस्तै बाक्लो हुस्सु र कुहिरोले घेर्दै लग्यो यी हिमाललाई । त्यसपछि क्रमशः बाक्लो हुस्सु र कुहिरो अग्लाअग्ला पहाडका शिरबाट फेदतिर सर्दै गए । ४ बज्दानबज्दै सारा सेरोफेरो कुइरोमण्डल भयो । साझ नहुदै अध्यारोले झ्यापै छोप्यो । दिउँसो बाहिर घाम तापेर बस्दा आनन्द आएको त्यही ठाउँ साझ ढाड सेकाउने गरि चिसो सिरेटो चल्न थाल्यो । हिमाली भेगको बिशेषता नै रहेछ कि सदैव अपरान्हपछि छिनको छिन मौसम परिवर्तन हुने । सफा मौसम टिकिरहन नटिक्ने । हिउँदमाको बेला उस्तै परे पानी वा हिउँ परि हाल्छ । नत्र आपत्तिको रापमा जलेर आँसु झार्नै लागेको अनुहार जस्तो धुम्म भैरहन्छ ।

सातौं दिनको गन्तव्य भनेको  अन्नपूर्ण आधारशिविर (४१३० मिटर)को थियो । देउरालीबाट ओरालो झर्नासाथ दायाँतिरको टोपी खस्ने आग्लो पहाडको माथिबाट माछापुच्छ्रेको पुच्छर मात्र देखिन्छ । दश मिनेटपछिको पदमार्गबाट माछापुच्छ्रे पहिलोपटक जरैबाट देखियो । आधि घण्टापछि नै यो यात्रामा सर्वप्रथम ग्लासियर डोम (७१९३ मिटर) देखिन थालेको छ ।  यसको दायाँतिर अवस्थित गङापूर्ण र बायाँतिर अवस्थित अन्नपूर्ण तेस्रोको भाग बढ्दै गएको छ । पौने घण्टापछिको पदमार्गमा त गङापूर्ण र अन्नपूर्ण तेस्रोको भाग गजबले देखिन थाल्यो । माछापुच्छ्रेको सम्पूर्ण शरीर र संगैको गन्दर्भ चुली पनि छ्याङ्गै देखियो । एक घण्टामा माछापुच्छ्रे आधारशिविर (३७०० मिटर)को थुम्कोमा उक्लियौ । यहाँ माछापुच्छ्रे सबैभन्दा नजीक शक्तिशाली भएर उभिएको छ । 

त्यसपछि क्रमशः गन्दर्भ चुली, गङापूर्ण, ग्लासियर डोम र अन्नपूर्ण तेस्रोका ओजस्वी रुपले परम सन्तुष्टि दिलाउछ । यही एक मात्र त्यस्तो थलो हो, जहाँबाट ग्लासियर डोम र गङापूर्ण हिमाल सबैभन्दा नजीक, ठूलो र भब्य देखिन्छ । 

अन्नपूर्ण आधारशिविरबाट यी दुई हिमाल नै देखिदैन । अगाडिको पदमार्गमा पाइला बढाउदै गर्दा पछाडिका यी दुई हिमाल अग्ला पहाडहरूबाट छेकिदै गएका छन । अगाडिका अन्नपूर्ण साउथ र दायाँतिरको अन्नपूर्ण फाङ (बाह्रशिखा) भने खुल्दै जान्छन । पश्चिमतिर तन्किएको तर्पया उकालो उक्लदा उक्लदै आधा घण्टापछि त बायाँतिरको हिमचुली पनि देखिन्छ । आँखै अगाडि हाउजिङ जसरी उभिएका यी हिमालको अद्भुत दृश्यले हिड्दै गरेका पाइला पटकपटक रोकिन्छ्न । मन खुसीले बालक बनेर बुर्कुसी मार्छ ।

हिमचुचुरा पहाडको चेपबाट जागरिलो पारामा निस्किरहे पदमार्गहरूमा । र स्वागतमा हौसिदै हाम्रो बाटा हेरिहेरे तिनले । तिनैका घाचतिर झुरुपझुरुप बसेका छन् पदमार्गका होटल रेष्टुरेन्ट । सिजनको बेला भ्याइनभ्याई हुन्छ । कतिसम्म भने पाहुनाको सेवामा खटिदाको दैनिकी बिहान हिमचुचुरामा घामको किरण झुल्कनु अगाडिबाट सुरु हुन्छ । अनि बेलुकी आकाशमा जुनतारा झल्मलाइसकेपछि मात्र सकिन्छ ।  

हिमचुचुराकै स्रोत बनेका नदीनाला  हिमाली भाका बोकेर उधो बगेका छन् । यसैको सुसाइ सुन्दै हरेक रात रोधी बसेका परम्परागत एवं मौलिक विशेषताका अनेकौं पर्यटकीय गाउँघर भेटिन्छन् । प्राकृतिक, जैविक, भौगोलिक र ऐतिहासिक सम्पदाको झकिझकाउ सौन्दर्यले सिँगारिएको छ अन्नपूर्ण पदमार्ग ।

जसको उपस्तिथिले अन्नपूर्ण आधारशिविरको पदयात्रा ‘सुनमा सुगन्ध’ थपिएको छ । यसैले त विश्व पदयात्रा मानचित्रमा उत्कृष्ट श्रेणीमा कहलिएको गन्तव्य बनेको हो– अन्नपूर्ण आधारशिविर ।