उस्पेन्स्की क्याथेड्रल अवलोकन गरिसक्दा दिनको ४ बजेको थियो । यसको साथै हेलसिन्कीमा हेर्नुपर्ने कुरा अरु नभएकाले म फिनलैण्डको अर्को सहर टाम्पेरेतर्फ लागें । यो सहर फिनलैण्डको १८० किलोमिटर उत्तरमा रहेछ । म टाम्पेरे पुग्दा बेलुकाको ७ बजेको थियो । तर घाम भने हामीकहाँको दुई बजेको जस्तो थियो । रेल्वेस्टेसनबाट टाम्पेरे सहर हेर्दै जाँदा टुल्ली भन्ने ठाउँमा  एउटा युथ होस्टल रहेछ । ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । त्यहीं एक रात बिताउने निर्णय गरें । होस्टलको कमनरुमको एउटा बेड बुक गरी बेलुकी करिब आठ बजेतिर बाहिर निस्केर खाना खाए अनि होष्टलै फर्केर सुते । विहान होष्टलमा ब्रेकफाष्ट गरी  लागे म टाम्पेरेको क्याथेड्रल अवलोकन गर्न ।  

टाम्पेरेको क्याथेड्रल 

यो क्याथेड्रल टाम्पेरेमा रहेको विशपको निवाश सहितको लुथेरान चर्च रहेछ । यसको क्याथेड्रलको डिजाइन लार्स सोन्क गरेका रहेछन । यस क्याथेड्रलको निर्माण सन १९०२ देखि १९०७ को वीचमा भएको रहेछ ।  यो क्याथेड्रल फ्रेस्को कलाकोलागि विश्व प्रख्यात रहेछ जहा ह्यूगो सिमवेर्ग सन १९०५।६ मा वनाएका पेन्टंीगहरु राखिएको रहेछ । यी कलाहरु जुन वेला वने त्यतिखेर यस्ले धेरै आलोचना र विवाद झेल्नु परेको रहेछ । त्यस क्याथेड्रलमा रहेका  The Wounded Angel (घाइते परी ) र The Garden of Death (मृत्युको वगैंचा ) नामक दुइ कलाकृति हेर्नकै लागि यूरोप र विश्वका विभिन्न देशबाट पर्यटकहरु आउदा रहेछन । सिमवेर्ग मृत्यु भनेको हाम्रो वरिपरी घुमीरहेको हुन्छ भन्ने विश्वाश गर्ने हुंदा उन्ले कालो टोपी लगाएको अस्थिपंञ्जर पनि पेन्टिंग गरेका रहेछन् । 

विशेष गरी क्याथेड्रलको दलिनमा रातो पृष्ठभूमीमा गरिएको मुखमा स्याउ च्यापेको पखेटा सहितको सर्पोको पेन्टिंगलाई पाप र भ्रष्टाचारको सूचकको रुपमा लिइदो रहेछ । पाप र भ्रष्टाचारको सूचकको रुपमा रहेको यस्तो पेन्टिंगलाई किन चर्चजस्तो पवित्रस्थलको दलिनमा राखेको भनेर ब्यापक विरोध भएको रहेछ । प्रार्थनाकक्षको मंच (Alter) मा राखिएको म्याग्नुस ऐन्केलको विश्वका जनजाती सम्वन्धी अर्को कलाकृति त्यस क्याथेड्रलको् आर्कषणको केन्द्र रहेछ । त्यतिखेर फिनलैण्ड रुसको अधिनमा भएको तर फिनिस जनता त्यस्को विपक्ष रही स्वतन्त्रता माग गरिरहेको कारण उनीहरु आफनो वेग्ले पहिचान वास्तुकला अनि कलाकारिता बाट दिन चाहदा रहेछन् । अनि यो क्याथेड्रललाई त्यसैको उदाहरण मानिदो रहेछ ।  यो चर्चको अर्को आकर्षण भनेको कलापूर्ण रुपबाट पेन्टींग गरिएको झ्यालका शिशाहरु पनि पर्दा रहेछन ।