आँखाले नभ्याउने सेताम्य हिउँ र चिसोको साम्राज्य छ जताततै । हिउँको सेतोपन र सुन्दरताको सम्पूर्णता समात्न सक्ने शब्द वा बिम्ब छैन मसंग । न त छ– असीमित खुशीका अनुपम अनुभव बताउने शैली वा सामथ्र्य नै । घाम लागेपछिको सेतोपनको प्रचुरता कतिसम्म भने कालो चस्मा बिना  आँखाले हिउँ हेर्न कल्पना पनि गर्न सकिदैन । माइनस ८ डिग्रीको चरम चिसोले कक्र्याएको छ । त्यसमाथि मुटु छिचोल्ने सिरसिरे बतासले वातावरण थप चिसो बनाउन सहयोग गरेको छ ।  

जतिसुकै प्रबल प्रतिकूलता किन नहोस् ! हिम सौन्दर्यको भब्यताले नगण्य बनाइदिन्छ । पर्यटकहरूको एकाबिहानै भिडभाड बढेको छ अन्नपूर्ण आधारशिविर (४१३० मिटर) परिसरमा, अविस्मरणीय अनुभव बटुल्न । घामको शुरुवाती झुल्काले सबैभन्दा ठूलो आकारमा उभिएको अन्नपूर्ण पहिलोको शिरमा सुनको जलप लगाइदिन्छ । त्यसपछि पालैपालो अन्नपूर्ण साउथ, गङापूर्ण, हिउँचुली, माछापुच्छ्रे, टेन्ट, गन्दर्भ  लगायतका हिमशिखर÷चुली सुनमा बदलिन्छन् । हेर्दाहेर्दै छिनभर मै वरपरका सारका सारा हिम चुचुरा चमचम चम्किने चादीमा बदलिन्छ्न् । उल्लास, उमंग, प्रसन्नता र रोमान्चकताको बहार बोकेर । आफैलाई पूर्ण बनाइदिने यो भन्दा अरु के हुन सक्छ पर्यटकका लागि खुसीको खजना ! 

अन्नपूर्ण आधारशिविरको विशेषता भनेको चारैतिर मज्जाले मुस्कुराइरहने विशाल हिमचुचुराहरू बीच आफैलाई आनन्दमा हराउने दुर्लभ अवसर मिल्नु हो । सानदार हिमशिखर  आखै अगाडि देखिन्छन् । मानौं सजिलै आफ्नै हातले सुम्सुम्याएर भरपूर तृप्ति लिन सकिन्छ । अति आकर्षक यी सुन्दर शिखरहरूको दृश्य हेर्नुमा जति आनन्द हुन्छ त्यत्तिकै लाग्छ गौरवानुभुती ।

विश्व पदयात्रा मानचित्रमा उत्कृष्टताको श्रेणीमा कहलिएको गन्तव्य स्थल हो– अन्नपूर्ण आधार शिविर । अन्नपूर्ण संरक्षण क्षेत्र नेपालकै सबैभन्दा ठूलो संरक्षण क्षेत्र हो । जसको फैलावट ६६२२ बर्गकिलोमिटरको छ । यही सिमानामा समेटिएको यो अति आकर्षक केन्द्र नेपालका सर्बाधिक धेरै पर्यटक पुग्नेमध्येको एक चर्चित गन्तव्य हो ।

प्राकृतिक, जैविक, भौगोलिक, ऐतिहासिक र सास्कृतिक सम्पदाका बिबिध खाले सौन्दर्यले झकिझकाउ सिंगारिएको छ अन्नपूर्ण पदमार्ग । जसमा मौलिक विशेषताका दर्जनौं लोकप्रिय पर्यटकीय गाउँ समेटिएका छन् । मनमोहकताको हिसाबले पनि बिशेष किसिमका । फरकफरक सम्पदाका आयामबाट फरकफरक  मिठासका आनन्द, उर्जा र पाठ सिक्न सक्छन्  पर्यटकले ।  

सहरबजारमा सधै धुलोधुवाबाट निस्सासिनु पर्छ आम नेपाली । यस्तो आक्रान्तबाट मुक्ति दिलाउने उत्तम माध्यम बन्दछ यो यात्रा ।  निःशुल्क मिल्ने स्वस्छ स्वास्थ हावा अनि बनजङ्गलको शान्त शीतल वातावरण जो कोहीको लागि जीवन उर्जा पनि बन्न सक्छ । 

प्रकृति कै मनमोहक र अनुपम छ्हारीमा मान्छेको मन रसिक बन्छ । रोमाञ्चले झङ्कृत हुन्छ । आफुभित्र भएको स्रष्टालाई यसैको टेको बनाएर अब्बल साहित्य सृजना गर्न सक्छन् । अथवा अथाह आनन्दमा डाफे मुनाल झै उड्दै सारा संसार भुल्न सक्छन् । आफैलाई शून्य या सापेक्षतामा झारेर । आफ्ना मायालुलाई भेट्न उत्सुक जोडीहरू चराकै लय टप्प टिप्न सक्छन् । र सुखद मिलनका रोमाञ्चक क्षणलाई पुनर्जागृत गराउन सक्छन् ।

अनेक परिस्थितिको सामना गर्दै कहिले नजिक कहिले टाढा हुँदै निरन्तर बग्ने मोदीगङ्गा संघर्ष र धैर्यको पाठशाला बन्न सक्छ । फेसबुकका भित्ताभरि टासिन आउने उचित÷अनुचित चिजबिजहरूमा झुन्डिरहने अम्मलबाट छुट्टी मिल्छ । हाम्रा परम्परागत एवं मौलिक संस्कारका गाउँघर हेरेपछि । कतिको लागि जीवन दर्शन बन्न सक्छ त्यहाँका स्वाभिमानी र  आदर्श जीवन शैलीको संगत गरेपछि । 

सरलता, इमान्दारी जागर, अनुशासन र लगनशीलताका कारण गाउँलेहरूका संगतमा आएका प्रायः पर्यटक गहिरोसंग प्रभावित हुन्छन् । अझ अरूको दुखमा दिलोज्यान दिने बानी सिको गर्न लायकको छ । मानवीय पीडा भुलाउने, मानसिक तथा शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव दिने उच्च मनोरञ्जनात्मक नाचगान र चाडपर्वको वैशिष्टयता आफ्नै ठाउमा छ यस पदमार्गमा पर्ने पर्यटकीय गाउँघरका । 

जतिजति उचाई बढ्दैछ, उतिउति होटेल र कामदारको संख्यामा कटौती हुदैछ । होटेलको आतिथ्यता र सरोकारमा पनि कमी आउदैछ । जसरी उचाईको वृद्धिसंगै बोटबिरुवा घट्दै गएका छन् । माछापुच्छ्रे आधार शिविर (३७००मि) देखि अन्नपूर्ण आधार शिविर (४१३०मि) सम्म त बोट–बिरुवाको नामोनिशान भेटिदैन । हिउँ कुल्चेर हिड्नु पर्छ पूरै बाटो । जहाँ हिडेका पाइला मेटिदिन्छ हिउँले नै । तर हिमशिखर झनझन नसालु बन्दैछन् , नजिकिदै र प्रष्टिदै जानाले । 

मालिक लगायत कामदार सबै पुरुष मात्र छन् होटलमा देउराली (३००० मि) देखि नै । महिला बाहेक बुढाबुढी केटाकेटी कोहि बस्दैनन् । खेतीयोग्य जग्गा पनि भेटिदैन । होटेल बाहेक न त घरबस्ती छन्, न त छन्  कुनै मानवजन्य निसाना नै । बरु अनेक आकारप्रकारमा बडेमानका प्रकृतिप्रदत्त चट्टान भेटिन्छन् ठाउँठाउँमा । माथिमाथिका पहाडपर्वतमा भने सुकेका खैरा खर मात्र देखिन्छन् ।

हिडाइबाट उत्पन्न शरीरको ताप र  घामको रापले  लगाउदैको लुगा खोलेर कता फ्याकु जस्तो भैरहदा छिनभरमै मौसम लुगलुग कमाउने चिसोमा बदलिन्छ । एक्कासि डाकाले घर घेरे जस्तै बाक्लो हुस्सु र कुहिरोले घेरि दिन्छ सूर्यलाई । अनि तत्काल चिसो सिरेटोले ढाड सेकाइदिन्छ । हिमाली भेगको बिशेषता नै रहेछ कि छिनको छिन मौसम परिवर्तन हुने । सफा मौसम धेरै नटिक्ने । प्रायः अपरान्हपछि उस्तै परे पानी र हिउँ परि हाल्छ । नत्र आपत्तिको रापमा जलेर आँसु झार्नै लागेको अनुहार जस्तो धुम्म हुन्छ । साझ नहुदै अध्यारोले छोप्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रको जति प्रसिद्धि छ सम्पदाका हिसाबले उति नै मानवीय कमीकमजोरीका चर्का बिरोध र बेग्रेल्ती गुनासाहरू छन् । बिशेषतः होटलमा बासको असुविधा टड्कारो छ । कुनैबेला पैसा तिर्ने पर्यटक समेत सुविधाजनक कोठाको के कुरा ? डाइनिङ हलमा टेबुल–बेन्च जोडेर भेडाबाख्रा जसरी कोचिएर सुत्नु पर्छ । उस्तै परे पिढी र खुल्ला आकाश मुनि पनि सकसका साथ कठ्याङ्गृएर रात गुजार्न बाध्य हुन्छन् । 

कुनैबेला ज्यानको जोखिम मोलेर गर्नु पर्छ पदयात्रा । पदयात्रा मात्र होइन । आधार शिविर पनि जोखिममुक्त छैन । हिमशिखरहरूबाट हिमपहिरो निरन्तर झरझरिरहन्छ । तारबार बिनाको पहिरोको डिलबाट असुरक्षित दृश्यालोकन गर्नु पर्ने समस्या छ पर्यटकका लागि ।

यी र यस्ता विद्यमान प्रमुख समस्या समाधान भै दिए साच्चिकै धरतीको स्वर्ग बन्ने थियो यो अनेक आयामबाट सुसज्जित पर्यटकीय क्षेत्र ।

अन्नपूर्ण आधारशिविरसम्मको पदयात्राबाट अपूर्व अनुभव बटुल्न चाहने जोकोही पर्यटकको लागि निम्नलिखित भ्रमण योजना  (क्ष्तष्लभचबचथ) उपयोगी हुनसक्छ ;

पहिलो दिन ः काठमाडौंबाट पोखरा गाडीमा ६/७ घण्टा (हवाई जहाजबाट २०/२२ मिनेट)

दोस्रो दिन ः गाडीमा पोखराबाट नयाँ पुल १ घण्टा ४५ मिनेट । पदयात्रा नयाँ पुलबाट घान्द्रुकसम्म (४/५ घण्टा)

तेस्रो दिन ः पदयात्रा घान्द्रुकबाट छोम्रोङसम्म (५/६ घण्टा)

चौथो दिन ः पदयात्रा छोम्रोङबाट बेम्बो÷दोभानसम्म (४/५घण्टा)

पाँचौ दिन ः पदयात्रा बेम्बो÷दोभानबाट देउरालीसम्म (४/५ घण्टा)

छैठौं दिन ः पदयात्रा देउरालीबाट अन्नपूर्ण आधारशिविरसम्म (५/६ घण्टा)

सातौं दिन ः पदयात्राअन्नपूर्ण आधारशिविरबाट बेम्बोसम्म (५/६ घण्टा)

आठौं दिन ः पदयात्रा बेम्बोबाट झिनुडाडासम्म (४/५ घण्टा) । त्यसपछि जीप पोखरासम्म (३ घण्टा)

नवौं दिन ः पोखराबाट काठमाडौंसम्म गाडिमा ६/७ घण्टा (हवाई जहाजबाट २०/२२ मिनेट)

पर्यटक पोखराबाट झिनुडाडा हुँदै पनि अन्नपूर्ण आधारशिविरको यात्रा तय गर्न सक्छन् ;

पहिलो दिनः जीपमा पोखराबाट झिनुडाडासम्म (४ घण्टा)

दोस्रो दिन ः पदयात्रा झिनुडाडाबाट बेम्बो/दोभानसम्म (४/५घण्टा)

तेस्रो दिन ः पदयात्रा बेम्बो/दोभानबाट देउरालीसम्म (४/५ घण्टा)

चौथो दिन ः पदयात्रा देउरालीबाट अन्नपूर्ण आधारशिविरसम्म (५/६ घण्टा)