फाक्दिङ्बाट १२ किलोमीटर हिडेपछि झकिझकाउ बस्ती नाम्चे बजार (३४४० मिटर) भेटिन्छ । भिरालो भिरालो भूमिमा बनेका छन् होटलहरू । तर केवरा फूलको आकर्षक झुप्पा जस्ता नजरभरि सजिएर बसिरहने खालका ।
नाम्चेबजार प्रवेशद्वार छिरेपछि ढुङ्गाका छपनी लगाइएको बाटो छ । यसैलाई पछ्याउँदै जादा भेटिने मुख्य बजार उत्तिकै भब्य र सुबिधाजन्य छ । तर दोकानमा स्थानीय उत्पादन नगन्य (५ प्रतिशत) मात्र पाइन्छ । अधिकाश (९५ प्रतिशत) आयातीत बजारिया समाग्री बेचबिखन गरिन्छ । यस बाहेक ९९ प्रतिशत बौद्ध धर्मावलम्बी भएको नाम्चे बजारमा बौद्ध धर्मसंग जोडिएका समाग्रीहरू समेत प्रशस्त उपलब्ध छन् ।
झन्डै ५० वर्ष अगाडिदेखि किनमेलको लागि केन्द्र बन्दै आएको इतिहास छ, यो बजारको । चार हजार जनसंख्या (स्थाइ÷अस्थायी) भएको यो बजारमा अहिले पनि थामे टेङ्देखि मात्र होईन सगरमाथा आधारशिविरको अन्तिम बस्ती गोरक्षेप(५,१६० मिटर)बाट समेत आवस्यक समाग्री किन्न आउछन् ।
नाम्चे बजार पासाङ ल्हामु गाउँपालिकाको अघोषित राजधानी हो । सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पा भन्छन्– यहाँ एयरपोर्ट र मोटर बाटो मात्र छैनन्, अरु सबै थोक छन् । पर्यटक लक्षित राष्ट्रिय÷अन्तरास्ट्रिय स्तरको होटल, रेष्टुरेन्ट, बार, क्याफे छन् । लाइभ गीतसंगीत (नेपाली/अङ्ग्रेजी) र मसाज छन् । अहिले यहाँ ५५ भन्दा बढी सानाठूला होटलहरू सबै अतिथिको सेवा र सुबिधाका निम्ति संचालनमा रहेका छन् ।
अनौठो अर्को कुरा के छ भने खुम्बु क्षेत्रका होटल÷लज÷रेष्टुरेन्ट प्रायः महिलाले चलाउन थालेका पाइयो । महिलाहरू आफै संचालक बनेका छन् । कतिसम्म भने सहकर्मी÷कामदारको रुपमा समेत परिवार भित्र कै छोरा, छोरी, बुहारी सम्लग्न गराइएका छन् । एकभन्दा बढी होटल संचालन गरेका पुरुषले पनि कही छोरी, कही छोरा÷बुहारीलाई चलाउन जिम्मा दिएका छन् । केही पुरुष पैसा कमाउन आमाडब्लम, लोबुचे लगायतका चुली चढ्ने पेशामा लागेका कुरा केही स्थानीय बासीको मत छ । कतिपय पुरुष आय आर्जनका लागि काठमाडौंजस्ता ठूला शहरतिर आएर व्यापार व्यावसायमा लागेका छन् । अन्नपूर्ण आधारशिविरतिर भने यसको ठीक उल्टो छ । मालिक लगायत कामदार प्रायः पुरुष नै पुरुष छन् । महिलालगायत बुढाबुढी र केटाकेटीको बीउ पनि भेटिदैन ।
संसारको सर्वोच्च शिखर सगरमाथा आधारशिविर र आरोहणको लागि मुख्य प्रवेश द्वार हो नाम्चे बजार । त्यस्तै खुम्बु क्षेत्रका अन्य फरकफरक गन्तव्य (गोक्यो पास, चोला पास, रेन्जोला पास लगायत)का लागि निस्कने पर्यटक पनि यही बाटो भएर जानुपर्छ । सबैको बास बस्ने लोकप्रिय बिन्दु हो यो । यहाँबाट नजिकको चिनियाँ नाका ’नाङ्पाला’ पुग्न ६ दिन लाग्छ ।
खुम्बु क्षेत्रमा खाध्यान्नको प्रमुख बाहक ओहोरदोहोर गरिरहने खच्चड, याक, चौरी, जोप्पेसँग पटक–पटक जंकाभेट भैरहन्छ लुक्लादेखि गोरक्षपसम्मका उकालीओराली पदमार्गमा । तर खच्चडलाई यहाँसम्म मात्र देख्न÷भेट्न पाइन्छ । यहाँभन्दा माथि उक्लन प्रतिबन्ध लगाइएको छ । वातावरण स्वच्छता कायम गर्ने हेतुले । पर्यटकलाई प्रदूषणबाट प्रभावित नहोस् भनेर । यहाँबाट मास्तिरका उकालाहरूमा कुर्कुच्च भारीले थिचिएका÷लादिएका जोक्पेहरूको जत्था बढी भेटिन्छन् ।
बौद्ध धर्मले काटमार गर्न बन्देज लगाइएको छ यो खुम्बु क्षेत्रमा । तर पशुपन्छीजन्य मासुका परिकार भने पाक्छन् प्रायः होटलहरूमा । नाम्चेमा पनि बोइलर कुखुरा हेलिकप्टरबाट आइपुग्छ । खसीको मासु भने सुरक्षा र जाचका लागि राखिएको प्रहरी चौकीले काटिरहन्छ । कम्तीमा दिनहुुँ २ वटा (३०/४० किलो)को हिसाबले बेच्छन् । रागाका मासु लुक्लाभन्दा तल खरिखोलाबाट यहाँसम्म आउन ३/४ दिन लाग्दोरहेछ ।
निलो आकाश पृष्ठभुमिमा राखेर पहिलोपटक मोहनी रूप छर्दै हिमाल÷पिक मुस्कुराउदै छन् । उत्तरतिर लोसासा हिमाल । पूर्वतिर खाङ्लेमु हिमाल र आमाडब्लम हिमाल । दक्षिणतिर खाङ्तेका हिमाल, थामसेर्कु हिमाल, कुसुम खाङ्गेरु हिमाल, कोङ्दे रि हिमाल, कोङ्दे पिक, सुन्दर हिमाल, खुम्बिला हिमाल । पश्चिमतिर चोलाक्छे पिक तबुचे पिक । बढ्नु मात्र होइन जिन्दगी, रोकिनु पनि हो । २ रात बास बस्ने गरि रोकियौ यहाँ । शरीरलाई स्थानीय तापक्रमसंग अनुकुलित पार्नेको लागि पनि । यही मेसोमा ८ बजे ६÷७ आनामा अवस्थित नजिकैको सगरमाथा नेशनल पार्क अवलोकनमा निस्क्यौ । पार्क विशेष गरेर तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा समर्पित र नोर्गेलाई प्राथमिकतामा पारिएको रहेछ ।
पार्क प्रवेश गर्नासाथ तेन्जिङको दायाँ हातले आइस हक उचालेको सालिक देखिन्छ । पार्क परिवेश मै संग्रहालय छ । जहाँ नोर्गेले त्यतिबेला सर्बोच्च शिखर सगरमाथा चढ्दा लगाइएका जुत्ता, क्र्याम्पन, पोशाक, पानी खान प्रयोग गरिएको भाडो, चस्मा लगायतका समाग्री राखिएको छ । पुराना जमानामा नाम्चे भेगका स्थानीय शेर्पा जातिको जीवन शैली झल्काउने खालका परंपरागत सस्कृती झल्काउने खालका शेर्पा भेषभूषा, भाडाकुडा (ठेकी, महि पार्ने भाडो/तोलम), मदानी, दुधेरी/दूध दुहुने भाडो, रक्सी पार्ने भाडो, तोम्बाको भाडो लगायतका समाग्री राखिएको छ । जसले त्यसबेलाको शेर्पा जातिको इतिहास र संस्कृतिलाई समेत उजागर गरेको छ । पार्कबाट फर्केर स्याङ्बोचेसम्मको छोटो हिडाइमा उक्लियौ।
प्रेमिल प्रभातकालीन समयमा हामी उक्लनु अगावै स्याङ्बोचे डाडामा घामको किरणले ’मर्निङ वाक’ गरिसकेको थियो । उकालो सकिनै लाग्दा, ३,७७५ मिटर उचाइको बोर्ड राखिएको भेटियो । त्यहाँ पुग्दा बिहानको ९ः३० बजेको हुदो हो । एकाएक हुस्सु उड्दै आयो । पोका बनेर मुखमा चिसो चुम्बन गर्दै उडदै गर्यो । तल्तिर हेर्दा थाहा भो– यी त यहीँ डाडाको घाचमा सेताम्य सतह बनाएर बसेको हुस्सुको समुन्द्रबाट उक्लेर आएका रहेछन् ।
करिव ३,८८० मिटर उचाइको यो हिमाली भेगमा जापानी नागरिक ताकाशी मियाहाराले ’एभरेस्ट भ्यू होटल’ खोलेका छन् । संसारकै सबैभन्दा अग्लो ठाउँमा अवस्थित यो सुविधासम्पन्न तारे होटललाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले सम्मानकासाथ समावेश गरेको छ । होटलको आगन होस या हरेक कोठाको झ्याल ! सर्वोच्च शिखर सगरमाथा सार्है सुन्दर देखिन्छ । यसबाहेक बिना बादलको नीलो आकाशमुनि र हरियो बर्को ओढेको पहाडमाथि चादी जस्ता सेता ल्होत्से, आमाडब्लम थामसेर्कुसहितका हिम शृङ्खलाका छताछुल्ल छटा छ्याङ्गै देखिन्छ । ०००
0 comment