कतिपयका लागि मनाङ बासीहरूको वास्तविकता एउटा बन्द किताब हुनसक्छ । कतिपयले त मनाङलाई यस ग्रहको एउटा गोप्य स्वर्गको रूपमा वर्णन गरेका छन् । वास्तवमै मनाङ पर्यटकको लागि  आकर्षणको अग्र लहरमा पर्ने  गन्तव्य हो । प्राकृतिक सौन्दर्य, मानवीय सत्कार र स्थानीयवासीका संस्कृतिको लागि प्रख्यात छ । 

गण्डकी प्रदेशमा अवस्थित मनाङ, गुम्बाको हिसाबले पनि उत्तिकै सम्पन्न छ । प्राचीन बौद्ध, धर्म, चाडपर्व, इतिहास, सभ्यता, संस्कृतिको कहानी बोकेका छन्  गुम्बाले । मनाङका प्रत्येक गाउँमा एउटा बौद्ध गुम्बा स्थापित छ । जसलाई अथाह आस्थाका साथ पूजा अर्चना गर्छन् । प्रत्येक वर्ष अनेक धार्मिक कार्य आयोजना गर्ने गर्छन् । खासगरी तीन गुम्बालाई सम्पूर्ण मनाङ्गी अत्यन्त श्रद्धाले मान्दा रहेछन् । ती तीन पवित्र गुम्बा हुन्– 
१. तारे गुम्बा (पल साक्या तस्राब गुम्बा)
२. मनाङ गाउँको पोचो गुम्बा र 
३. ब्राका गुम्बा 

यहाँ खाङसार गाउँमा अवस्थित तारे गुम्बा (पल साक्या तस्राब गुम्बा) बारे केही बताउने धृष्टता गर्दैछु ।

तारे गुम्बा तिब्बती बौद्ध धर्मको साक्या सम्प्रदायको गुम्बा रहेछ ।  जुन विश्वको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल जाने पदमार्ग (ठिक श्रीखर्क गाउँ तल) मा भेटिन्छ । तिलिचो ताल हेर्न प्रत्येक वर्ष हजारौं पर्यटकहरू जान्छन् । केही यात्री यस गुम्बालाई यात्रा सफल हुने आधार मान्छन् । र दर्शन÷अवलोकनपछि मात्रै अगाडि पाइला बढाउने गर्छन् । प्रचलित जनश्रूतिनुसार सयौं वर्ष अघि एकजना लामा घोडा चढेर गुम्बा बनाउन उपयुक्त स्थान खोज्दै त्यहाँ आउनु भएको थियो । उहाँले ठाउँको निरीक्षण  गर्दा बिना कारण घोडाको लगाम खस्यो । अचानक लगाम खसेको त्यही ठाउँमा गुम्बा निर्माण गर्ने निर्णय गर्नु भयो । त्यसै वर्ष गुम्बालाई तस्राब (त स्राब) गुम्बाको नाम न्वारान गरियो । तस्राब एउटा तिब्बती शब्द हो । जसको अर्थ घोडाको लगाम हुन्छ । 

यो पवित्र गुम्बा करिब हजार वर्ष अघि स्थापना गरिएको भनिन्छ । यद्यपि यसलाई प्रमाणित गर्ने गुम्बाको कुनै पनि लिखित दस्तावेज पाइदैन । खाङसार  बासीहरूका अनुसार धेरै पहिले त्यहाँ एउटा ठूलो समतल ढुङ्गा थियो । त्यस ढुङ्गामा तिब्बती भाषामा गुम्बाको इतिहास लेखिएको थियो । तर त्यो शिलालेखरुपी ढुङ्गा नै हरायो । गुम्बा कहिले निर्माण भएको थिए ? लामा को थिए ?  जस्ता बताउन सक्ने एक एक बलियो र भरपर्दो सूचनाको स्रोत गायब भयो । र गुम्बा बारे विरोधाभाषी कथाहरू बनिन थाले । 

यद्यपि गुम्बा हजार वर्ष पुरानो हुन सक्ने एउटा दर्हो प्रमाणको रुपमा लिन्छन् केही स्थानीयबासी । तिनीहरुको जिकिर हो– गुम्बामा रहेको एउटा कलाकृति छ । जुन जेचुन मिलारेपा (सन् १०५२–११३५) का एक जना शिष्यको हो । एक समय मिलारेपा अहिलेको मनाङ जिल्लाको भ्राका गाउँमा अवस्थित एउटा गुफामा ध्यानमा लीन हुनुहुन्थ्यो । त्यहाँ उहाँले गोन्पो दोर्जे नामको एक जना ङेस्याङपा शिकारीलाई देख्नु भयो । जो आफ्नो कुकुर सँगै एउटा मृगलाई पछ्याउँदै थिए।  उनको मिलारेपासँग गुफामा भेट भयो । भेटमा मिलारेपाले धर्मको उपदेश दिनुभएपछि दोर्जेले आफूलाई शिष्यको रूपमा स्विकार गर्न आग्रह गरेँ । अब कहिल्यै शिकार नगर्ने वाचा गरेँ । त्यो प्रतिज्ञापछि दोर्जेले आफ्नो धनुष गुफा माथि फाल्नु भयो । जसलाई  आजसम्म पनि त्यहाँ देख्न सकिन्छ । दोर्जेले आफ्नो बन्दुक समेत गुम्बामा समर्पित गर्नु भयो भनिन्छ । अझै पनि तारे गुम्बामा  कुन्दामा बज्र चक्रको सुन्दर चित्र कोरिएको पुरानो बन्दुक देख्न सकिन्छ । त्यो बन्दुक अरु कोहीको नभएर त्यही शिकारीको नै भएको विस्वास र दाबी गर्छ्न प्रायः स्थानीयबासी । तिब्बती भाषामा दोर्जेलाई बज्र भनिएको हुनाले उक्त बज्र गोन्पो दोर्जेलाई नै दर्साएको हुनसक्छ । 

तर केही स्थानीय समूह उक्त घोडसवार लामा ङोर्छेन कुङ्गा जाङपो (सन् १३८२–१४४४) भएको अनुमान गर्छन् । र गुम्बा उहाँका शिष्यहरूमध्ये एकजनाले निर्माण गरे । यो गुम्बा निर्माण भएपछि यहाँ धेरै भिक्षु संघ सदस्य रहेका थिए । सबै प्रकारका गुम्बा सम्बन्धी अनुष्ठानहरू गर्ने गरेका थिए । अनेकौं प्रख्यात रिन्पाछेहरूले गुम्बाको भ्रमण गर्नु भएको थियो । सन् १९५९ मा चिनियाँ आक्रमणको कारण परम पुज्य गुरु चोगे ठ्रिछेन रिन्पोछेज्यू तिब्बत छोडेर मुस्ताङ आउनु भएको भयो । मुस्ताङका राजा मार्फत मनाङगे छेरिङ धोन्डुपले धेरै पटक रिन्पोछेलाई मनाङ भ्रमण गर्न अनुरोध गरेका थिए । अन्ततः सहमत हुनु भइ एक महिना मनाङमा बस्नु भएको भयो । उहाँ यही तारे गुम्बामा बस्नु भएको थियो । बस्ने क्रममा रिन्पोछेले गाउँलेहरूलाई धेरै अभिषेक प्रदान सहस्र पुजा जस्ता अनुष्ठानहरू आयोजना गर्नु भएको थियो भनेर गुरुको आत्मकथामा स्पष्ट उल्लेख गर्नु भएको छ । महामहिम चोगे ठ्रिछेन रिन्पोछे गुरुहरूको पनि गुरु हुनुहुन्थ्यो । उहाँ परम पूजनीय १४ औं दलाई लामा र परम पूजनीय ४१ औं साक्य ठ्रिछेन  रिन्पोछे जस्तै । यतिमात्र होइन, उहाँलाई तिब्बती बौद्ध धर्मका अन्य सबै सम्प्रदायहरूका धेरै उच्च रिन्पोछेहरूका पनि गुरु मानिन्छ । त्यस्तै तन्त्र र मन्त्रका गुरु खेन्छेन छिमेले पनि तारे गुम्बाको भ्रमण गर्नु भएको छ । धेरै पूजाहरू आयोजना र अभिषेकहरू प्रदान गर्नु भएको छ । उहाँको अनुसरण गर्दै अहिलेसम्म अन्य धेरै साक्य रिन्पोछेहरूले  गुम्बाको भ्रमण गर्नु भएको रहेछ । खाङसार गाउँलेहरू बीच बौद्धधर्म राम्रोसँग स्थापित भएको पाइन्छ । 

अहिले मनाङमा परिवारको माहिलो छोरालाई भिक्षु बनाउन पठाउने प्रचलित परम्परा भने पूर्ण रुपले पालना भएको पाइदैन । त्यसैको कारण यस गुम्बाले विस्तारै भिक्षुहरू गुमाउँदै गएको देखिन्छ । गुम्बालाई  गाउँलेहरूले पालैपालो गरि हेरचाह गरिरहेका छन् । सन् २००५ मा गाउँलेहरूले परम पूजनीय ४१ औं साक्य ठ्रिछेन रिन्पोछेलाई यो गुम्बाको वर्तमान अवस्थाको बारेमा जानकारी दिएका थिए । उहाँलाई गुम्बाको हेरचाह गर्न केही भिक्षुहरूलाई पठाउन अनुरोध पनि गरे । उहाँले नै यस ठाउँमा जान्ने एक जना वरिष्ठ भिक्षुलाई गुम्बाको निवासी लामाको रूपमा यहाँ आउनको लागि आदेश दिनु भएको थियो । मनाङमा हिउँदमा भारी हिमपात हुने भएकोले उक्त लामा त्यति बेला यहाँ आउन सक्नु भएन । उहाँ ग्रीष्ममा दुई वर्ष मात्र निवासी भिक्षुको रूपमा बस्नु हुन्त्यो । त्यस समयमा लमजुङको बेसी शहरभन्दा माथि मनाङ जाने मोटरसडक थिएन । बेसी शहरदेखि खाङसार गाउँसम्म पुग्न ७ दिन पैदलयात्रा गर्नुपर्ने हुन्थ्यो । तर लामा निकै वृद्ध हुनुभएकोले  २ वर्षभन्दा बढी समय निवासी लामाको रूपमा बस्न सक्नु भएन ।

स्थानीय बासीहरू एक पटक फेरि खाङसारबासी परम पूजनीय साक्या ठ्रिछेन रिन्पोछेसँग गुम्बाको लागि एक जना निवासी लामाको लागि अनुरोध गरे । परम पूजनीयले सन् २००७ मा यो गुम्बाको गुरु (खेन्पो) को रूपमा खेन्पो ङ्गवाङ नोर्बुलाई नियुक्त गर्नुभयो । खेन्पो त्यति बेला भारतको देहरादुन स्थित साक्य कलेजमा बौद्ध दर्शनमा स्नातकको अन्तिम वर्षमा पढ्दै हुनुहुन्थ्यो । सन् १९८६ मा उहाँ  दश वर्षको उमेरमा खाङसार गाउँ छाडेर भिक्षु बन्न जानु भएको थियो । उहाँलाई काठमाडौंको बौद्धनाथमा रहेको थार्लाम सासाङ नामग्याललिंग गुम्बामा परम पूजनीय देजुंग रिन्पोछेको मातहतमा युवा शिक्षार्थीको रूपमा नियुक्त गरिएको थियो। उहाँले नै गुम्बाको हेरचाह गर्दै आउनु भएको छ । सन् २००८ देखि उहाँकै रेखदेखमा छ यो गुम्बा ।

काठमाडौंको थालम गुम्बाका केही भिक्षुहरू प्रत्येक वर्ष खाङसार गाउँमा विभिन्न बौद्ध गतिविधि तथा व्रत, एक सहस्र पुजा, बज्रयोगिनी जस्ता पूजा अर्चना गर्दै आएका छन् । पूजाको समयमा आदरणीय खेन्पो ङ्गावाङ नोर्बुले खाङसारका मान्छेहरूलाई बौद्ध धर्मका विभिन्न विषयमा उनीहरूकै भाषामा शिक्षा दिने गर्छन् । गाउँमा भिक्षुहरू आएको बेला आ–आफ्ना घरमा पूजा गराउने मौकाको लाभ उठाउन गाउँलेहरू सधै तत्पर हुन्छन् । 

गाउँलेहरूले सधैँ परम पूजनीय साक्य ठिछेन रिम्पोछे गुम्बामा आमन्त्रित गर्नको लागि ठूलो इच्छा व्यक्त गर्ने गर्छन् । उहाँ  भ्रमण गर्न नसक्नु भए पनि उहाँका कान्छा छोरा परम पूजनीय ज्ञान बज्र रिन्पोछेले सन् २००९ जून ११ मा भ्रमण गर्नु भयो । त्यस्तै महामहिम २७ औँ चोगे ठ्रिछेन रिन्छेन पल्जोर रिन्पोछे लगायत उहाँका सहयोगीहरूले पनि भ्रमण गर्नुभएको थियो । यही वर्ष परम पुजनीय ज्ञानबज्र रिम्पोछेले पनि गुम्बाको भ्रमण गर्नुभएको थियो ।