पोखराबाट एक घन्टामा नै पुर्यायो नयाँपुल जीपले । गुराँसे जङ्गलको पहाडी पदयात्राको पहिलो पाइला यहीँबाट सुरु हुन्छ । तेर्सो बढी, तर्पया उकालो कम । झण्डै तीन घन्टाको बाटो छ । बिरेठाटी हुँदै सुदामे, तिखेढुंगासम्मको । यहाँको पुल पार गर्नासाथ पहिलोपटक लालीगुराँसको प्रेमपूर्वक स्वागत मिलेको छ । टोपी खस्ने ठाडो उकालो छ उल्लेरीको । पदयात्राको सर्वाधिक यो उकालो चढ्दा दुई घण्टा लाग्यो ।
उकालो काट्नासाथ ठूलै कष्टबाट मुक्त मिलेझैँ लाग्छ । तर्पया उकालो उक्लेपछि भेटिने वनठाटीको बन गुराँसबाट सुसज्जित छ । बाक्लिदै गैरहेका छन् गुराँस । लस्कर लागेका छन् , तभन्दा म के कम भन्ने शैलीमा बैँस फक्राउदैका गुराँस । नमिच्छिने सजीव सौंन्दर्यको बिम्ब बनिरहेछ । थपिदै गएका रंगीबिरंगी गुराँसको तेजले थकान त मेटेको छ नै । शरीरमा झन्झन् स्फुर्ती भरिदै गएको महसुस हुन्छ ।
ढकमक्क गुराँस फुल्ने मौसम छ, चैत आधाआधीको । ह्वात्तै बढेको वातावरणीय सौन्दर्यमा उमंगिदै उल्लेरीबाट घोडेपानी उक्लेको थाहै पाउदिन । घडीको सुइले बताएपछि चाल पाए, ४ घण्टा लागेछ । तर लाग्दैन पत्यार । मन त भनिरहेकै छ, ४ मिनेट पनि बितेको छैन । गुराँसका थुँगाथुँगाका लोमहर्षक रंगहरूमा मन यति रंगिन्छ कि समय बुर्कुसी मारेको थाहै हुँदैन । साच्चै, खुखका समय बितेको थाहै नहुने रहेछ । यसको ठिक उल्टो दुःखका समय भने मिनेट पनि तन्किएर घण्टा, दिन मात्र होइन । महिना जस्तो भैदिन्छ । यो सुखदुःख भन्ने चिज विचित्रकै हुदो रहेछ ।
एकाबिहानैको शान्त वातावरण । ताजा हावा खादै पौने घन्टामा पुगिन्छ पुनहिल डाडा । आखामा नअटाउने परपरसम्म फैलिएका सजीव क्यानभास रुपी गुराँसले डाडापाखा झकिझकाउ भएका छन् । बनेको छ गुराँसे पदयात्रा रंगीन । पुनहिल पुगेपछि पदयात्रीहरूमा थप उल्लास र उमंगको रंग थपिदिन्छ । गुराँसे बनपाखाको पृष्ठभुमिमा माछापुच्छ्रे, हिमचुली, अन्नपूर्ण, नीलगिरी, धौलागिरीलगायतका १६ भन्दाबढी कान्ति पोखिएका हिम शृंखलाको सुनौला दृश्यले ।यहाँको अर्को सौन्दर्य हो, शान्त र रमणीय “लालीगुराँश पार्क“। घना गुराँसको जङ्गल बीच अवस्थित यो सुन्दर पार्क पुग्न घोरेपानीबाट मात्र २० मिनेट लाग्छ ।
घोडेपानी छोडेपछि अगाडिको पदयात्राका गुराँस उस्तै बाक्लो छ । यी बनेलु फूलका मनोमोहक रुपबाट चित्त चोरिएका जोकोही पदयात्रीका ओठमा मधुर मुस्कान हलक्क हुर्किएका छन् । गुराँसे वनको रौनकतामा वरपरको वातावरण नै महकिलो बनेको छ । यहाँबाट हिजो उक्लेको उल्लेरीको भेग उस्तै आँखा नझिम्काइकन हिरिरहु लाग्ने आकर्षक देखिन्छ ।
“रंगीचंगी गुराँसका उपस्थितिमा फक्राउदैछ उत्साहका रंगीन फूल । गुनासा पखालिदैछ्न् हर्षका बाढीले । रोजा गुराँसका थुँगा सिउदोमा सजाउदै, गालाभरी मायाका रंगहरू पोतेर कतिपय युवतीहरू पिरती पुकारिरहेका छन् । भसक्कै उमारिरहेका छन्, प्रेमका हरिया बोटहरू । र मन रसिक बनाएर फस्टाइरहेका छ्न् मायाका बाली । जब गुराँसकै रंगीन फूलले हृदयका ढुकुढुकी स्पर्श गर्छ, तब हर्षको छाल उर्लन्छ देहको कुना–कुनामा । अनि जवान बन्छ वसन्त पनि ।“
थाप्लाडाँडाबाट देउरालीको उचाइ चढ्न आधा घण्टा लाग्छ । रंगीचंगी बैँसालु गुराँसको
साथ पाएर पदयात्रीको मुहारमा चरम सुखको लहर मौलाउछ । मनैभरी पनि गुराँसैगुराँस फुलेका छन्, आतिथ्यतामा उभिएका अग्ला न अग्ला ढकमक्क फुलेका गुराँससंगै । फराकिलो फाट छ गुराँसको । त्यसमाथि एकै रंगको नभएर पिरती सम्झाउने फूलबुट्टे रुमाल जस्ता रंगीबिरंगी ।
यहाँबाट पुनहिलतिर फक्रिरहेका बैँसालु गुराँसे जङ्गलको दृश्य सुकिलो र मनोरम देखिएको छ । तर पुनहिलभन्दा परका गुराँस त आखाको लेन्सले भ्याउदैन । गुराँस कै शीतल छायाबाट गुज्रेका छन् बाटा । जहाँ अर्को खुसीको राश थपिदिएको छ, रातो कार्पेटले । प्राकृति प्रदत्त झरेका फूलहरूको कोमल कार्पेट । कुल्चेर कसरी अगाडि बढ्नु ? लौरोले पन्छाउने कर्म पहिलो प्राथमिकता बन्छ । अप्ठ्यारो लाग्ने केही पर्यटकका लागि ।
गुराँससंगको सुखद भेट अद्भुत क्षण बन्छ आन्तरिक र बाह्य पर्यटकका निम्ति । जसले एकाएक हर्ष, प्रसन्नता र रोमान्चकताको बहार ल्याइदिन्छ । सूर्योदयको पहिलो किरणले हिम शृङ्खलामा सुनको जलप लगाइदिदाको क्षण जस्तै अद्भुत । हरेक क्षण नयाँ, नौलो, र विविध लागिरहेछ । मन एकाकार र विस्मृत हुँदा । मानौं इच्छा, असन्टुष्टी र अभाव अलग भैसकेपछिको परम सुख र शान्तिको समय हो यो ।
यी चित्ताकर्षक गुराँससंग साटिन पाउँदा आफैलाई भुलेर भाबुक बनेका छन् । कोही आखाभरि फक्रेका गुराँसे जङ्गलको दृश्यपानमा दङ्ग देखिन्छन् । कोही त आत्मविभोर भएर पागलसरी चिच्याउछन् । सुचना बिनै झर्ने झरीजस्तै एकाएक हर्षका आँसु झार्छन् । सौन्दर्यको प्रतीक, राष्ट्रको गौरव र प्रतिष्ठा लालीगुराँससंग जत्ति लहसियो उत्ति आनन्द आउँछ । यस्तो आनन्द र खुसीको क्षण अविस्मरणीय बनिदिन्छ । जसलाई क्यामरामा कैद गर्न चुक्दैनन जोकोही । तिनै फोटो÷भिडियो आगामी दिनहरूमा स्वादिलो र सुखद सम्झना पुनर्जागृत गर्ने सहज साधन हुदो हो ।
देउराली डाडाबाट गुराँसकै सौन्दर्यपान गर्दै १ घण्टा लगाएर बन छिचोलेपछि बन्ठाटी पुगिन्छ । गुराँसे वनले साथ छोड्दैन आजको गन्तव्य (एक घण्टाको पदयात्रा) ताडापानीसम्म नै । वास्तवमा गुराँसको सघनता÷प्रचुरता घोडेपानीदेखि ताडापानीसम्मको साढे ३ घण्टे बाटोमा भेटिन्छ । जहाँ भेगमा १६ प्रजातिका गुराँस पाइन्छन् । एकै ठाउँ(कम दुरी)मा तर धेरै संख्या (७५ प्रतिशतभन्दा बढी)को गुराँसले ओगटेको यो घना जङ्गल गण्डकी प्रदेसकै ठूलो हो । यस भेगमा रातो, सेतो, निलो, पहेलो, बैजनी, गुलाफीजस्ता रंगका गुराँस पाइन्छन्, १६भन्दा बढी प्रजातिका । विश्वभर जम्माजम्मी ४२ प्रजातिका गुराँस छन् ।
ताडापानीबाट मास्तिरको बाटो समाउदा अन्नपूर्ण आधारशिविर पुगिन्छ । तर तल्तिरको बाटो पछ्याउँदै घान्द्रुक झर्छौ हामी । ओरालो छ बाटो । गुराँस पनि क्रमशः पातलिदै गैरहेकोछ । एक घण्टाको हिडाइले भैसे भेटाउछ । यहाँबाट गुराँसको उपस्थिति झनझन नगन्य बन्दै गैरहेको छ । डेढ घण्टामा लोकप्रिय पर्यटकीय गुरुङ गाउँ घान्द्रुक पुग्दा नपुग्दै गुराँस लगभग सिद्धिन्छ ।
राष्ट्रको पहिचान र गौरव बोकेको नेपालको राष्ट्रिय फूल लालीगुराँश अन्नपूर्ण क्षेत्र बाहेक उच्च पहाडी तथा हिमाली भेग (४–१० हजार फिटसम्मको उचाइ)मा पाइन्छन् । यतिखेर दामन–सिमभान्ज्याङ, बाग्लुङ, म्याग्दी, लमजुङ, ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, मुगु, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेल्धुरा, बैतडीलगायतका ४३ जिल्लामा ढकमक्क फक्रेका छन् । झन्डै ६ लाख ९२ हजार हेक्टर क्षेत्रफल (कुल वन क्षेत्रको १० प्रतिशत)को वनमा ३२ प्रजातिका गुराँसले सौर्न्दर्य छरेका छन् । विश्वको कुनै कुनामा नपाइने गुराँस नेपालमा पाइन्छ । मनाङ, मुस्ताङ, डोल्पामा “लोन्डेसी“ र लाङटाङ, मुस्ताङ, रसुवामा “क्वानियनुम“ प्रजातिका गुराँस नेपालमा मात्र पाइन्छ ।
पहिले वैशाख लागेपछि मात्र फुल्थे अन्नपूर्ण क्षेत्रमा यी रताम्य लालीगुराँश । तर अहिले भने विश्व तापमानको कारण चैतको सुरु मै फुलेर वैशाख पहिलो हप्तामा त लगभग निख्रन्छन् । अर्घाखाँची, भक्तपुर र ललितपुरलगायतका जिल्लामा पनि गुराँस फुल्न थालेका छ । अरु जिल्लामा पनि विश्व उष्णीकरणको प्रभाव उस्तै छ ।
गुराँसे जङ्गलले उज्यालिएको अन्नपूर्ण क्षेत्रको पहाडी पदयात्राबाट अपूर्व अनुभव बटुल्न चाहने जोकोही प्रकृतिप्रेमीका लागि निम्नलिखित एक हप्ते भ्रमण योजना (Itinerary) उपयोगी हुनसक्छ ;
पहिलो दिन ः काठमाडौंदेखि पोखरासम्म गाडि÷सडक मार्गबाट ६÷७ घण्टा (हवाई जहाज÷हवाई मार्गबाट २०/२२ मिनेट)
दोस्रो दिन ः गाडीमा पोखरादेखि नयाँ पुलसम्म १– १.५ घण्टा । पदयात्रा बिरेठाटीबाट उल्लेरीसम्म (४/५ घण्टा)
तेस्रो दिन ः पदयात्रा उल्लेरी घोडेपानीसम्म (३/४घण्टा)
चौथो दिन ः पदयात्रा घोडेपानीदेखि ताडापानीसम्म (४/५घण्टा)
पाँचौ दिन ः पदयात्रा ताडापानीदेखि घान्द्रुक सम्म (२/३घण्टा)
छैठौं दिन ः जीपमा घान्द्रुकदेखि पोखरासम्म (३/२.५ घण्टा)
सातौं दिन ः पोखरादेखि काठमाडौंसम्म गाडिमा ६/७ घण्टा (हवाई जहाज/हवाई मार्गबाट २०/२२ मिनेट)
३ पैदलबाट मात्र होइन, यातायातको माध्यमबाट पनि एकै दिनमा पुग्न सकिन्छ घोडेपानी। पोखराबाट चल्ने लोकल गाडीमा बेनी भएर (७/८ घण्टा)मा घोडेपानी पुग्न सक्छन् भने जीप÷निजी गाडीमा (४/५ घण्टा) मात्र लाग्छ । त्यस्तै पोखराबाट जीप/गाडीमा उल्लेरीसम्म (२/३घण्टा) र उल्लेरीबाट घोडेपानीसम्म (३/४घण्टा)मा पुग्न सकिन्छ । यसो गर्दा १ दिनको यात्रा छोटिन्छ ।
0 comment