टाम्पेरेको भाप्रीकी म्यूजियम सरसरति हेरिसक्दा दिनको २ वजेको थियो । तत्पश्चात् फिनलैण्डको सुदुर उत्तर पूर्व तत्कालिन सोभियतसंघको सिमा नजिकको अन्तिम बस्ती केमियारभी तर्फ प्रस्थान गर्ने क्रममा म टाम्पेरेको रेलवे स्टेसन तर्फ लागे । पौने तिनमा रेल रोभिनियमीको लागी छुट्यो । रोभिनियमी पुग्दा बेलुकाको सात बजेको थियो । त्यहाँबाट लोकल ट्रेन लिएर म पुन केमियारभी तर्फ लागे । केमियारभी पुग्दा बेलुकीको नौ बजेको थियो । जुलाइ महिनाको लामो दिन भएको कारण राती नौ बजे यहाँको ३ बजेको जस्तो सुर्य चम्की रहेको थियो । रेलवे स्टेसन दुइ जना मारिया र स्टेफी नामक श्वंयसेवी गाइडहरुले मलाई केमियारभी डुलाइ दिने प्रस्ताव राखे । 

मैले उनीहरुलाई आफु विद्यार्थी भएको हुँदा फि दिन नसक्ने बताए । अनि उनीहरुले पनि फिकोलागि काम गरेको होइन भने पछि म उनीहरुसंगै केमियारभीको सानो शहर हेर्न रेलवे स्टेसनबाट बाहिर निस्किए । दुइ घण्टासम्म उनीहरुले मलाइ डुलाए । त्यसक्रममा केभियारभीमा हिउँद महिनामा स्की गर्न धेरै मानिसहरु यूरोपका अन्य देशबाट त्यहाँ आउने थाहा लाग्यो । 

उत्तरी ध्रुव प्रदेश जसलाई ल्यापलैण्ड भनिन्छ । त्यो सोभियत संघ, फिनलैण्ड, स्वेडेन, नर्वे गरी चारदेशमा छरिएको रहेछ । ६ हजारको हाराहारीमा जनसंख्या भएको त्योे सानो शहरी बस्ती रहेछ । सबैको घर चिटिक्क परेको पुरै काठले बनेको हुने रहेछ । सन् १५८० ताका त्यहाँ फाट्टफुट्ट बस्ती वस्न शुरु भएको थाहा लाग्यो । त्यहाँको टाउनहल अनि बाँकी सहर अवलोकन गरिसक्दा भोक लागि सकेको थियो । मैले तिनवटा स्याण्डविच किने र उनीहरुलाई पनि दिए र तिनै जना मिलेर खायौ । मैले पैसा तिर्न लाग्दा त्यतिपरको देश नेपालबाट आएको मान्छेलाई हामी तिर्न दिन्नौ भनेर उनीहरु आफैले तिरे पछि उनीहरु बिदा भए । त्यतिखेर साडे नौ बजेको थियो । सुर्य अस्ताउने छाँट थिएन । 

त्यसपछि म नजिकैको पार्कमा पुगे र त्यहाँ रहेको बेञ्चमा गएर आनन्दले बसी सुर्यास्त कुर्न थाले । दश बज्यो सुर्य अस्ताएन, एघार वज्यो सुर्य अस्ताएन अनि बल्ल पौन वाह्र वजे सुर्य क्षितिजवाट विलाउन मात्रै कै लागेको थियो १२ वज्दा त सुर्य त्यहीबाट पुन उदायो । त्यस दृश्यलाई मैले मेरो क्यामेरामा कैद गरे । केही छिनको सुर्योदय हेरेपश्चात् म त्यही बेञ्चमा निदाएछु । पछि ब्युँझदा विहानको ३ वजेको रहेछ तर सुर्य भने हामीकहाको नौ वजेको जस्तो झलमल्ल भैसकेको रहेछ । २५ वर्ष पहिले मेरो वुवा वासुदेव ढकालले रोभिनियमीबाट मध्यरातको सुर्य अवलोकन गरी उत्तरी ध्रुव प्रदेश पुग्ने पहिलो नेपालीको रेकर्ड बनाएको कुरा सम्झे । 

मनमनै आफु पनि भाग्यमानी रहेछु भनेको जस्तो लाग्यो पृथ्विको झण्डै टुप्पामा पुग्दा । पार्क सुनसान थियो । म पुन वेञ्चमा पल्टिए र ६ जेपछि उठेर लागे रेलवे स्टेशन तर्फ । त्यहा पुगेर त्यहाको शौचालयमा विहानको नित्यकर्म सकी एक कप कफि र एउटा क्रोशन खाए । रोभिनीयामी तर्फ लाग्ने रेलको प्रतिक्षामा वसे । बिहानको सातवजे केमियारभीबाट रेल हिड्यो । म नौ बजे पुन रोभिनियामी आइपुगे ।