काठमाडौं —ललितपुर महानगरपालिका वडा नंं. २२ मा रहेका इँट्टा उद्योगबाट सामुदायिक विद्यालयमा गई अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । वडा नंं २२ बुङ्गमति क्षेत्रमा ४ वटा इँट्टा उद्योगबाट नजिकैका विद्यालय महाँकाल आधारभूत विद्यालय, बाखेल आधारभूत विद्यालयमा बालबालिका अध्ययन गर्न आउने हुनाले सोही विद्यालयहरुमा अध्ययन गर्ने बालबालिकालाई विद्यालय झोला, विद्यालय पोषाक, कापी पेन्सील कलम लगायतका आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो । 

श्री बाखेल आधारभूत विद्यालयमा अध्ययन गर्ने ८२ जना र श्री महाँकाल आधारभूत विद्यालयमा अध्ययन गर्ने ६६ जना बालबालिकालाई सामग्री वितरण गरिएको हो । इँट्टा उद्योगबाट विद्यालयमा आउने बालबालिकालाई शैक्षिक सामग्री दिएपछि विद्यालयमा बालबालिकाको संख्या बढेको विद्यालयका प्रधानाध्यापकहरुको भनाइ छ । सामग्री वितरण कार्यक्रममा बोल्दै बाल विकास समाजका कार्यकारिणी सदस्य रामशरण रिमालले शैक्षिक सामग्रीको सदुपयोग गर्न अभिभावकको मुख्य भुमिका हुने बताएका थिए । बाल विकास समाजले बालबालिकाको शिक्षाका लागि स्थापना कालदेखि नै काम गरिरहेको छ र कम्तीमा आधारभूत तहको शिक्षामा विपन्न बालबालिकाको पहुँच वृद्धि होस् भन्ने सोंच संस्थाको रहेको बताए । 

कार्यक्रममा बोल्दै वल्र्ड भिजन इन्टरनेसनल नेपालका परियोजना विशेषज्ञ भरत तामाङ्गले विशेषगरी इँट्टा उद्योगमा आउने बालबालिकाहरु आमाबुबासँगै आउने हुनाले ६ महिना उद्योगको सिजन हुँदा यहाँ रहने र सिजन सकिएपछि गाउँ फर्किने हुनाले नानीवावुहरुको पढाइमा असर हुने गरेको र यसमा स्थानीय तहको विशेष ध्यान जानुपर्नेमा जोड दिएका थिए । उक्त शैक्षिक सामग्री बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा वितरण गरिएको संस्थाले बतायो । शैक्षिक सामग्री वितरण कार्यक्रममा बालबालिका, प्रअ, शिक्षक संस्थाका प्रतिनिधि, अभिभावक लगायत सरोकारवालाहरुको बाक्लो सहभागिता रहेको थियो । 
विशेषगरी इँट्टा उद्योगमा आफ्ना आमाबुबासँगै बालबालिकाहरु पनि आउने गर्छन । गाउँमा पढदापढदै आमाबुबा उद्योगमा काम गर्न आएपछि बालबालिका पनि सँगै आउने र उद्योग नजिकै रहेको विद्यालयमा आफ्नो पढाइलाई निरन्तरता दिने गर्छन । आमाबुबा उद्योगमा मजदुरी गर्छन भने बालबालिका विद्यालय जान्छन ।