काठमाडौं - रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शव फेला परेको छ । भोटेकोशी बाढीमा फसेकाहरुको खोजी गर्ने क्रममा बुधबार सुरुङभित्र दिउँसो दुईजनाको शव फेला परेको हो । भेटिका शवको सनाखत हुन सकेको छैन ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । ढुंगामुडा र हिलो सुरुङभित्र पसेर पूर्णरुपमा टालिएको थियो । गत  भदौ १० गते बिहान आएको विनाशनकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा नेपाली सेनाको नेतृत्वको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ । बाढीले बगाउँदा सयौं व्यक्तिको मृत्यु भएको छ भने त्यो भन्दा धेरै मानिसहरु सम्पर्कविहीन भएका छन् ।