काठमाडौं - संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै उनीहरूको नियुक्तिका सम्बन्धमा कुनै उजुरी भए प्रमाणसहित पेस गर्न सर्वसाधरणलाई आह्वान गरेको हो।

प्रस्तावित न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीका बारेमा कुनै उजुरी भएमा १० दिनभित्र संसद सचिवालयमा दर्ता गराउन सूचित गरिएको छ । सर्वोच्चका लागि प्रस्तावित चारै जना उच्च अदालतको न्यायाधीशबाट सिफारिस भएका हुन्।

उजुरीकर्ताले आफूले पेस गरेको उजुरीको आधार र प्रमाण खुलाउनुपर्नेछ। समितिले उजुरीमाथि आवश्यक अध्ययन तथा छानबिन गरी संसदीय सुनुवाइको प्रक्रिया अघि बढाउनेछ। सुनुवाइ समितिले अनुमोदन गरेमा नियुक्तिका लागि योग्य हुनेछन्।