काठमाडौं - साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीको जितमा डार्सी सर्टले १८ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए। आसिफ शेखले ३२ रनको योगदान दिए। बलिङमा सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा समेटिएको थियो। उसका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ र अनिल खरेलले अविजित १७ रन बनाए। लुम्बिनीका किशोर महतोले ४ तथा शेर मल्लले ३ विकेट लिए।

खेलमा नेपालमै पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिएको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले दोस्रो ओभरमा लिएको रिभ्यू भने सफल हुन सकेन।

एनपीएलअन्तर्गत मंगलबार विराटनगर किंग्स र चितवन राइनोज दिउँसो १२:३० बजे तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स साँझ ५ बजे भिड्नेछन्।