काठमाडौं - गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घटनामा ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सोमबार अपराह्न करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.अ. ०२२० नम्बरको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाबारे अपराह्न ४ः३० बजे प्रहरी चौकी पुर्तिघाट, गुल्मीमा जानकारी प्राप्त हुनासाथ उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको कमान्डमा ६ जना, इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमान्डमा ५ जना तथा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माको कमान्डमा १० जनाको टोली घटनास्थलतर्फ खटिएको छ ।
प्रहरी टोलीले दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरेको छ । तीमध्ये ४ जना घाइतेलाई उपचारका लागि कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मी, स्याङ्जातर्फ पठाइएको छ । घाइतेहरूको नाम, थर तथा अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।


0 comment