काठमाडौं - नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बजारमा भइरहेको मूल्यवृद्धि रोक्नका लागि सरकारले  कुनै भूमिका नखेलेको आरोप लगाएका छन् । बजारमा अस्वाभाविक मूल्यवृद्धि हुँदा समेत राज्यका अनुगमनकारी निकाय मूकदर्शक बनेको भन्दै उनले मूल्यवृद्धि नियन्त्रण गर्न असफल भएको बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद केसीले निरीह बन्नु सरकारको घोर गैरजिम्मेवारीपन भएको बताए । विपदको बेला जनताको चुलो बलेको सुनिश्चित गर्नु राज्यका निकायको जिम्मेवारी भएको केसीको भनाइ थियो ।

उनले विपद्को बेला सबै राजनीतिक दलले सरकारलाई सहयोग गर्न चाहेको भए पनि सरकार भने मौन रहेको बताए । आम जनताको भान्सामाथि भइरहेको अस्वाभाविक मूल्यवृद्धिमा राज्य मौन बस्नु उपयुक्त नहुने जनाउँदै कालोबजारीमा ग्यास सहजै पाइने अवस्थाले पनि राज्यको उपस्थितिमाथि प्रश्न खडा गरेको बताए ।

बाढी प्रभावित नुवाकोट र रसुवा लगायतका जिल्लामा रोगव्यादी फैलिन नदिन सरसफाइ लगायतका कार्यमा विशेष ध्यान दिन पनि केसीले आग्रह गरे ।