काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले म‌ंगलबार युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्।

बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तय भएको भेटमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गरेका थिए।

अघिल्ला सरकारका प्रमुखहरुले विभिन्न देशका राजदूतहरुसँग एक्लाएक्लै भट्ने गरेको परम्परालाई तोड्दै वर्तमान प्रधानमन्त्री शाहले राजदूतहरुसँग सामूहिक र कार्यालयमा मात्रै भेट्ने परम्परा बसाल्ने प्रयास गरेका छन् । उनको यो शैलीलाई राजनीतिक वृत्तमा धेरैले मन पराएका छन् ।