तेङबोचेबाट देबोचेसम्म नै बोटबिरुवाका बगैंचा भएर गएको छ हाम्रो हिँड्ने बाटो । गोडाले ओरालो झार्दैछ तर प्रभातकालीन सुरम्यता र प्राकृतिक प्रभावले मनको उल्लासलाई झन्झन् मास्तिर उकाल्दै छ । जसको वर्णनका लागि शब्द अपूरा छन् ।

आँखा अगाडि अजङ्गको आमाडब्लम हिमाल सर्वाङ्ग सौन्दर्य प्रदर्शन गरिरहेछ । आमाडब्लमको नग्नतालाई ढाका टोपी लगाएको ल्होत्से हिमाल लुकेर हेरे जसरी टाउको मात्र निकालिरहेछ । यिनैका प्रभावशाली सौन्दर्यरूपी कुचोले मस्तिष्कमा मडारिरहने विचारहरू भकाभक बढारिँदै छन् । गर्मी नपच्ने याकलाई पनि जाडो लाग्छ ? जङ्गलको सघन निर्जनतामा यो याक कलिलो घाममा आङ तताउदैछ ? बिना हलचल रुख झैँ उभिएरै । 

पाङबुचेको बाटोतिर समान उचाइका धुपीसल्ला उभिएका छन् । सोमरे (४०१० मिटर) बाट माथि उक्लेपछि भने रुखविरुवा भेटिँदैनन् । वनस्पतिको नाममा घाँसको थुप्रोजस्तो देखिने बाउन्निएका धुपीसल्लाका पोथ्रा ‘भैरुङपाती’ र फूलजस्तो देखिने रातोरातो वनस्पति ‘सुनपाती’को बुट्यान मात्र भेटिन्छन् । पुड्किँदै जाने यिनीहरूको उचाइ लोबुचे पुग्दा एक बित्ता जति पनि रहँदैन । हामी उच्च भौगोलिक उचाइमा पुगिसकेको कुरा यसले पनि पुष्टि गरेको छ । वनस्पति र उचाइको सम्बन्ध व्युत्क्रमानुपातिक हुन्छ । जति उचाइ बढ्दै जान्छ, त्यति वनस्पतिको उचाइ घट्दै जान्छ ।

सोमरेमा पुग्दा दिनको उमेर आधाभन्दा बढी भइसकेको छ । भोक र थकाइले लल्याकलुलुक पारेको छ शरीर । लन्च भनिने दिउँसोको खान्की खान लाग्दैछौँ । आज दालभात खाने मन छैन । लगातार एउटै खान्की खाँदा मुखले पनि माग गर्छ अर्को स्वादको खान्की । चाहे डा. अरूणा उप्रेतीको भाषामा भनिने पत्रु खाना नै किन नहोस् ! एग फ्राई नुडल्स खाएँ, मेरो पाहुनाले खाएको लन्च थप पनि दिइन् साहुनीले । दालभातको तात्तातो दाल खाऊँ कि जस्तो लागेर सोधेको थिएँ । भरिया भाइले प्रतिप्रश्न तेस्र्यायो मैतिर, ‘ठुलो खसीको दाल छ, खानुहुन्छ दाइ ?’ राँगाको मासुमा झोल हालेर त्यसैलाई दाल बनाएको रहेछ । नखाने जनाएँ, मागेको होइन । ‘अलिकति सुप खानुस् है दाइ ।’ साहुनीले सुपजस्तै स्वादिलो भाकामा आदेश दिइन्, बटुकाभरि मसरुम सुप टक्य्राउँदै । मेरो पाहुनाले भन्दा बढी परिकार र मूल्यको खान्की खाएँ आज मैले । एग चाउमिनको ७ सय, मसरुम सुप ५५० गरि जम्मा १२५० रुपैयाको त्यो पनि निःशुल्क । पाहुना लिएर पदयात्रामा निस्कँदा पथप्रदर्शकलाई गाँस र बासको पैसा लिँदैनन् प्रायः होटल रेस्टुरेन्टले । खान्कीले भोक भगाउने, शरीरमा शक्ति भित्र्याउने र थकाइ सामसुम पार्ने काम एकैसाथ गर्यो ।

उचाइ बढ्दै जाँदा त्यही अनुपातमा चिसो बढ्ने नै भयो । हात ठिहि¥याउन र नाकबाट पातलो पानी निस्कन थालेको हिजोदेखि नै हो । चिसो पानी त मुखमा हाल्नै सकिँदैन । अब मनतातो पानीबिना हातमुख धुन पानी मुस्किल छ । धुने के भन्नु ! धोएजस्तो मात्र गर्ने हो । झनै साबुनले धुने कर्म त हैरान बेसाउनु हुन्छ । मरिगए चिप्लो नै निख्रँदैन । चिसो सिरेटोबाट बच्न नाक, कान र घाँटी छोपेर हिँड्नु परेको छ ।

रेडियो र नेट नाम्चेसम्म टिप्छ । नाम्चेका होटलमा साँझतिर जब सबै हातमा मोबाइल चल्छन् तब भार थेग्न नसकेर नेटले धर्म छाड्छ । तेङबोचे (३८६० मिटर) सम्म डाटाले काम गर्छ कहिलेकाहीं । डिङबोचे नपुग्दै पाङबुचे (३९३० मिटर) गाउँ काटेपछि त डाटा, नेट मात्र होइन, मोबाइलमा फोनले पनि टावर देखाउन छाड्छ । यतातिर नेट चलाउन एभरेस्ट लिंक र एयर लिन्कको एक जिबी २४ घण्टे कार्ड किन्न पाइन्छ । यसका लागि पर्यटकले आठ सय र नेपालीले ६ सय तिर्नुपर्छ । 

एउटा अनौठो कुरा भयो आज । कुरा के भने मध्याह्नको हिँडाइमा पनि पसिना निस्केन शरीरबाट । हिजो दिउँसोको यत्तिको हिँडाइमा कम्ती पसिना छुटेको थिएन ? गर्मी यति धेरै महसुस भएको थियो कि शरीरलाई नजिकैबाट बगेको चिसो दुधकोशीको पानीमा चोबली हालूँ, होइन भने होटल पुग्नासाथ चिसो पानीले खलखली नुहाइदिऊँ जस्तो । तर होटलमा आइसकेपछि तत्काल नुहाउने मेसो नै मिलेन । सावरका लागि विदेशी पाहुनाहरूको लाइनका कारण । पालो आउने कहिले हो कहिले ! १२÷१५ मिनेटमा पसिना सुकेपछि त चिसोचिसो पो भयो । पालो हापेर कोठातिर फर्किए पाइला । सफा रुमाल मनतातो पानीमा भिजाएँ र त्यसैले शरीर पुछेर चित्त बुझाएको थिएँ । आजदेखि त यो पुछपाछको कार्यक्रमसमेत बन्द होला जस्तो छ, साइबर सेवा बन्द भएझैं । आगामी पदमार्ग झन्झन उचाइका छन् । नुहाउन त कोशौं परको कुरा । चिसोकै कारण डेङबोचेभन्दा माथिका होटलहरूमा त नुहाउने सावरको व्यवस्था नै हुँदैन । हिँड्न छोड्यो कि चिसो भइहाल्छ । फेरि अपराह्नपछि मौसम खराब हुनु उच्च हिमखण्डको दैनिकी नै हो, चाहे दिनमा जतिसुकै राम्रो मौसम किन नहोस् । जतिजति दिन ढल्कँदै गयो, झन्झन् चिसो स्याठ न्वारानदेखिको बल निकालेर बेगले चल्छ ।  

आजको वासस्थान डिङबोचे गाउँ (४४१० मिटर) आइपुग्यौं । तेङबोचेबाट यहाँसम्म आइपुग्दा ठ्याक्कै पाँच घण्टा लागेछ । जम्मा पाँच सय ५० मिटर माथि उक्लेछौं । साधारणतया हाम्रो शरीरले एक दिनमा पाँच सय मिटरसम्मको उचाइ पचाउन सक्छ । ५० मिटर बढी उचाइ उक्लेछौं । नाम्चे (३४४० मिटर) बाट डिङबोचे (४४४० मिटर) सम्म आउँदा ठ्याक्कै एक हजार मिटर भएछ । विज्ञनुसार प्रत्येक एक हजार मिटर नाघेको ठाउँमा दुई रात बास बस्नु जरुरी हुन्छ । यसले शरीरको तापक्रमलाई उचाइनुसार घट्दै गएको तापक्रमसँग व्यवस्थापन कायम गर्छ । आखिर जिन्दगी भनेको व्यवस्थापन न हो । यसैले डिङबोचेमा दुई रात बास बस्ने सुझाएँ पाहुनालाई । हिजो साँझ अलि असहज महसुस भएको थियो । अहिले सामान्य अवस्थामा ओर्लिएँ म । तर मेरा एकजना पाहुनाको टाउको दुख्न छोडेको छैन । यसले यहाँ अर्को रात पनि आराम गर्नु भनेर संकेत दिएको हुन सक्छ ।

हिमाली भेगमा सक्छु भनेर हतारमा यात्रा गर्नु हानिकारक हुन्छ । त्यस्तै नसकी नसकी उचाइमा उक्लनु पनि हानिकारक हुन्छ । लेक नलागे पनि ज्यानले दुःख झेल्नुपर्छ । यदि उच्च ठाउँको यात्रामा तापक्रमको व्यवस्थापन गर्न चुक्यौं अर्थात् आफूलाई वातावरण अनुकूलित पार्न सकेनौं भने सास फेर्न गाह्रो हुने, टाउको दुख्ने हुन्छ । दिउँसो भने सुत्नु हुँदैन । सुरुवातीमै तात्तातो लसुनको सुप र अदुवा–मह–कागती चिया, कफीजस्ता तातो÷गर्मी पेय पदार्थ पिउनुपर्छ । यसो गर्दा पनि कम हुनुको साटो उल्टी आउन थाल्यो । ज्वरोले छोडेन, ज्यानले असजिलो मानिरह्यो भने ‘अल्टिच्युड’ अर्थात् लेक लागेको हो भन्ने बुझ्नुपर्छ । अक्सिजन नाप्दा ६० भन्दा मुनि देखायो भने यो पनि खतराको संकेत भनेर बुझ्नुपर्छ । यस्तो अवस्थामा तत्कालै तलतिर (कम उचाइतिर) फर्किहाल्नुको विकल्प छैन । अन्यथा ज्यानका लागि जोखिमपूर्ण अवस्था आइलाग्न सक्छ ।

अहिले डिङबोचे गाउँलाई हिउँ र चिसोले कब्जा गरेको छ । जम्मा २५ होटल पाहुनाका लागि खुलाइएका छन् । अपराह्नदेखि नै होटलमा हिटर बलेको छ । हिजो तेङबोचेदेखि नै होटलले बाल्न थालेको हिटर अब यात्राको अन्तिम बस्ती गोरक्षेपका होटलसम्म बलिरहने छ । दूरदराजका बस्तीहरूमा विद्युत् पु¥याउन कठिन हुन्छ । त्यसैले अबका यात्राको अन्तिम होटलसम्म विद्युतको सुविधा छैन । सौर्य ऊर्जाबाट काम चलाउने गर्छन् । होटललाई साह्रै फारु गरेर चलाउनुपर्ने बाध्यता छ । डाइनिङ हलमा डिनर खाने बेलासम्म मात्र उज्यालो हुन्छ । सुत्ने कोठाहरूमा बत्तीको सुविधा छैन । अनकन्टार ठाउँमा अवस्थित यहाँका मानिसले सामान्य सुविधा उपभोग गर्नसमेत कति कठिन रहेछ भन्ने बोलेको छ यसले ।

अँध्यारो कोठामा के गरी बस्नु ? सिरकभित्र घुस्रेर निन्द्रादेवी निम्त्याउनुबाहेक अरू उपाय भेट्दिनँ । बेलुकी १० नबज्दासम्म नसुत्ने बानी । जसोतसो ८ः३० बजाएँ । जाडोले अँठ्याएको शरीरले ओछ्यानको न्यानो पाएर पनि होला भुसुक्कै भएछु । मध्यरातमा ब्युझिएँ । चाँडो सुतेपछि बिचमा ब्युँझिनु अस्वाभाविक होइन । धेरै बेर मनमा के के कुरा खेलेको याद छ तर कतिबेला निदाएछु यादै भएन । ब्युझिँदा ६ः३० भइसकेको छ । पर्दा खोलेर बाहिर हेर्छु । ‘बाहिरै आऊ न, हामीसँग साटिन !’ स्निग्ध, स्वच्छ र पवित्र हिमाल मौन आह्वानसहितको विनम्र अनुरोधमा झुकिरहेथ्यो । ‘तिम्रै रूपले तानेर त यहाँसम्म आएको हुँ । तिमीसँग लहसिँदाको अतुलनीय खुसी र अविस्मरणीय सन्तुष्टि लैजान,’ बिहानको स्फूर्तिमा भावविभोर भएर मनमनै साउती मारेँ । हत्तपत्त कपडा लगाएर बाहिर निस्किहालेँ । गुलाबी घामको किरणमा डाँडामाथि हिस्सी परेका हिमाल÷पिक हाँसिरहेका छन् । प्रेमिकासँगको रोमाञ्चक स्मृति कल्पेर प्रेमी त्यसैत्यसै हाँसेजस्तो ।

उत्तरतिर लोसासा हिमाल, एलाम्पिक पिक । पूर्वतिर छपलु हिमाल, खाङ्लेमु हिमाल, मकालु हिमाल (खाङ्लेमु पछाडि पहिलोपटक), बरुन्चे हिमाल, आमाडब्लम हिमाल आङ सेकाइरहेका छन् । दक्षिणतिर खाङ्तेका हिमाल, थामसेर्कु हिमाल, कुसुम खाङारु हिमाल, कोङ्दे रि हिमाल, कोङ्दे पिक, नुम्बुर पिक, थामे पिक, सुन्दर हिमाल, खुम्बिला हिमाल जति हाम्रै महानताको मनोभाव उकास्न अग्लिएका हुन् जस्तो लाग्छ ।

पश्चिमतिरका सेताभन्दा सेता चोलाक्छे पिक, तबुचे पिक, छोयू हिमाल, फकल्टे पिक (पहिलोपटक देखिएको) लगायतले मनका काला मयल पखाल्दैछन् । यिनै मोहक हिमालचुलीलाई साक्षी राखेर डिङबोचे वरपर डुलेँ । चौतर्फी चिसो हाबी छ । चरक्क पोल्ला कि जस्तो गरी झलमल्ल लागेको घामले रत्तिभर न्यानो पार्न सकेको छैन । के यो घाम होइन ? खुम्बु क्षेत्रको सूर्योदयको उपत्यका भनेर समेत चिनिन्छ यो घमाइलो ठाउँलाई ।

आज एक दिन यहीं सुस्ताउँदैछौं हामी, अगाडिको यात्रा रोकेर । यही क्रममा नास्तापछि नजिकैको नाकार्साङ डाँडा (५६१६ मिटर) को उचाइ नाप्दैछौं । यसको उचाइ भनेको कालापत्थर (५६४४ मिटर) को हाराहारी हो । डाँडो चढ्नासाथ दायाँ तलतिर गह्रा परेको जीवन्त भू–सतहले आँखामा डेरा जमाउँछ । जहाँ रङरङका रहरलाग्दा जर्सी गाई चरिहरहेका जस्ता मिलाएर बनाएका होटलहरु छन् । जति उकालो उक्लियौं, उति हिमालको आकार र आकर्षक बढ्दो छ । सय सय मिटरको फरकमा झन्डा गाडिएको छ । जसको उपस्थितिले कति मिटरको उचाइमा पुगियो भन्ने जानकारी मिल्छ । भोलि उक्लने थुक्ला डाँडा ४६०० मिटर बराबरको उचाइमा पुग्यौं, एक घण्टा ३० मिनेटमा । अर्को शब्दमा, डिङबोचेको उचाइभन्दा १२०६ मिटरको उचाइ बढी माथि आएछौं । आधा घण्टा बसेर हाई पचाएपछि फर्कियौं । डिङबोचे गाउँ भएर नै एलाम्पिक आधारशिविर पुगिन्छ । यहींकै अर्को बाटोले थ्री पास पु¥याउँछ । लोबुचे गाउँ हुँदै गोरक्षेप गएपछि सगरमाथा आधारशिविर पुगिन्छ । जहाँ हामी पर्सि पुग्दैछौँ । आधारशिविरबाट गोरक्षेप फर्केर जोङ्ला, थाङ्ना गाउँ पछ्याउँदै जाने पाइलाले गोक्यो उतार्छ । गोक्योबाट नै गर्ने हो, रेन्जोला पास (५४०० मिटर) । त्यसपछि लुङदेन गाउँ, थामे गाउँ हुँदै नाम्चे बजार फर्कन सकिन्छ ।