बोडेनको स्ट्रेन्याँस क्याथेड्रल अवलोकन गरी सक्दा बेलुकाको ५ बजिसकेको थियो । तत्पश्चात म स्वेडेनको अर्को शहर उपशाला जाने क्रममा म रेलवे स्टेशनतर्फ फर्किएँ । रेलवे स्टेशनमा आएर सुचना बुझ्दा बोडेनवाट उपशाला हुंदै स्वेडेनको राजधानी स्टकहोल्म जाने राती १० बजेको अन्तिम रेल रहेछ र भोलीपल्ट विहान ९ वजे उपशाला पुग्ने रहेछ । त्यही रेलबाट उपशाला जाने निधो गरी म रेलवेस्टेशनमा नै बाँकी समय विताउने निधो गरे । यसैक्रममा हल्का बेलुकाको खाना रेलवेस्टेसनमा नै खाएर म रेल प्रस्थान गर्ने समय कुर्न थाले । तोकेको समय अनुसार राती १० बजे ट्रेन स्टकहोल्मको लागि प्रस्थान गर्यो । उपशाला स्टकहोल्मभन्दा ३८ किलोमिटर अगाडि नै छ भन्ने सुचना पाएको थिए । त्यसैकारण म निश्चिन्त भएर रेलमा सुते । भोली पल्ट बिहान ९ः१५ मा आएर उपशालाको स्टेशनमा रेल रोकियो । त्यहाँ भएको शौचालयमा गई आफ्नो नित्य कर्म सकी, हल्का खाना खाएर लागे पैदलै उपशालाको क्याथेड्रल अवलोकन गर्न । 

उपशालाको क्याथेड्रल 

यो क्याथेड्रल उपशाला विश्वविद्यालयको मुख्य भवन र फिरिस नदीको वीचमा उपशाला शहरको मुटुमै अवस्थित रहेछ । आर्कविशपको निवाश र कार्यालय समेत रहेको यो स्वेडेनको मुख्य लुथेरान चर्च रहेछ । ११८ मिटर अग्लो यो चर्च नोर्डिक देश (डेनमार्क स्वेडेन, नर्वे, फिनलैण्ड र आइसलैण्ड) कै सबैभन्दा अग्लो चर्च रहेछ । रोमन क्याथोलिकवादको यूरोपमा प्रभाव रहँदा १३औं शताब्दी तिर बनेको यो चर्चमा १७औं शताब्दी सम्म स्वेडेनको राजाहरुको राज्याभिषेक हुने गर्दो रहेछ । यसै चर्च भित्र स्वेडिस राजाहरु र आर्कविशप (उच्च पदस्थ पादरीहरु) को चिहान पनि राखिएको रहेछ ।  फ्रेन्च गोथिक शैली बनेको यो चर्चको स्तम्भरहेको बीचको भाग (नेभ) र नेभलाई क्रसको रुपमा काट्ने बीचको भाग ट्रान्ससेप्ट समेत हुने गरी वनाइएको यस चर्चका निर्माण सन १२७२ बाट शुरु भई यस्को पश्चिम मोहडासम्मको निर्माण सन् १४२० मा गएर सम्पन्न भएको रहेछ । त्यसपछिमात्र यस चर्चको पश्चिम भागको अन्तमा जुम्ल्याहा टावर (धरहरा) निर्माण भएको रहेछ । १७०२ को आगलागी परेर कुरुप भएको यस चर्चलाई कार्ल हार्लेमानले १७३५ मा पुन सिंगारेका रहेछन् । त्यसपछि पनि यस चर्चलाई सन् १८८० मा हेल्गो च्जेटरभालले पुन डिजाइन गरी यस्को स्वरुपमा परिवर्तन गरिदिएका रहेछन् । वाल्टीक शैली नमानी  गोथिक शैलीमा यस चर्च निर्माण गरेको कारण च्जेटरभालको ठूलै विरोध पनि भएको रहेछ । मुख्य रुपमा इटाले वनेको यो चर्चको स्तंभहरु भने चुनढुंगाले वनेको रहेछ । चर्चको छानाको भित्री भाग मौलिक रुपमानै धनुषाकार गरी गुम्वज शैली (भल्ट) मा वनाएइको रहेछ । चर्चका भित्ताहरु, धनुषाकार दलिनहरु महान स्वेडिस कलाकार जोहान गुस्ताफका फ्रेस्को पेन्टिंगहरुबाट सजाइएका रहेछन् । चर्चका झ्यालहरु पश्चिम दक्षिणका यूरोपका झै कलात्मक स्टेन शिशाले सजाइएका रहेछन् । चर्चमा रहेको थोर्नान नामक घण्ट पोलैण्डको टोरुनभन्ने ठाउँबाट स्वेडिस राजा कार्ल १२ औंले महान उत्तरी युद्धमा जित हासिल गरी ल्याएका रहेछन् । 

यो चर्चको इतिहास खोतल्दै जाँदा भाइकिंग युग सम्म पुगिदो रहेछ जुन बेलामा उपशालाकै गाम्ला भन्ने स्थलमा पागानहरुको मन्दिर रहेछ । पछि यही मन्दिरलाई क्रिश्चियन चर्चको रुपमा विस्तार गर्ने क्रममा निर्माण कार्यहरुलाई अगाडि वढाइएको रहछ । तर गाम्लामा भएको चर्च पनि सन् १२०४ मा आगलागीमा परी ध्वस्त भएपछि त्यहाँबाट यस चर्चलाई फिरिस नदीको दक्षिणमा तत्कालिन पोप अलेक्जेण्डर चौथोसंग सन १२५८ मा अनुमती लिई सारिएको रहेछ । पोपले चर्च निर्माणकार्यकै रेखदेख गर्न भनेर विशप कारुलोसलाई उपशाला पठाएका रहेछन् । धार्मिक सुधारको आन्दोलन नहुञ्जेल यस चर्चमा सर्वसाधारणलाई प्रवेश निषेध रहेछ । क्याथोलिक उच्च पदस्थ पादरी र राजखलकहरुले मात्र पुजा गर्न पाउन रहेछन् । धेरै पछि सन् १९७० मा आएर यस चर्चको जिर्णोद्धार कार्य गरिएको रहेछ । त्यस क्रममा विशेष गरी चर्चका भित्ता र झ्यालहरु मर्मत गरी सिंर्गाने कार्य भएको रहेछ । सन १९८९ को जुन महिनामा पोप जोन पाउल उपशाला चर्चमा आइ पुजा गरेका रहेछन् ।