“समय छ भने भोलिको हाइकिङमा हामीसँग समाबेश हुनुस् !“ आह्वान थियो पर्वतारोहण संघका पूर्व अध्यक्ष जिम्बा जाङ्बु शेर्पा दाइको । अपरान्ह पठाउनु भएको मेसेन्जरको खबर साँझ  मात्र थाहा पाए, बासस्थान पुगेपछि । 

हाइकिङ फर हेल्थ, हाइकिङ फर इन्भाइरोमेन्ट, हाइकिङ फर हेप्पिनेस राखिएको छ नारा । एक मन भन्छ– नजाउ । बर्खाको बेला छ । मौसम बिग्रेर पदयात्रा प्रतिकूल बन्ने सम्भावना बढी छ । अर्को मन भन्छ– जाउ जाउ । बेसिजनको बेला छ । ट्रेकिङ नगएको महिनादिन कटिसक्यो । कति बस्नु काठमाडौंको धुलो, धुवाँ र प्रदुषण खाँदै । 

पहिलो र दोस्रो मन बीच बैचारिक द्वन्द्व भयो । घुम्न पाउँदा प्रफुल्ल हुने मनुवा न परे म । दोस्रो मनले जितिछाड्यो । पूर्ण प्रकृतिक वातावरणमा आफुलाई हराउने गरि हिड्न मन लाग्यो । शारीरिक तथा मानसिक थकान मेटाएर प्रकृति प्रदत्त उर्जा भर्ने निर्णय गरे । अन्ततः सहमतिको जनाउ खबर पठाए १० बजेतिर ।

असार ८ गते शनिबार । बिहानको पौने ६ बजेको थियो । ठीक एक घण्टाभित्र चाबहिल स्थित डियरवाक कलेजको गेटमा सामेल हुनुछ । ठीक समयमा पुग्नुपर्छ भन्ने हिसाबले निस्किए र समय मै पुगे । हाइकिङ जान जुर्मुराएका हामी जम्मा १५ जना एकत्रित भएका थियौं । ठीक ७ः०७ रिजर्भ गाडीमा चढेर गन्तव्यतिर लाग्यौ ।

साँगा हिल नामको चट्टाने पहाडमा १०८ मिटर अग्लो शिवको भीमकाय मूर्तिले हेरिरहेको थियो हामीलाई । तर त्यहीँ नजिकैको खोल्सामा गणेशको बहान मुसाको मुर्ति बनेर मन्दिरभित्र बिराजमान छ । मुसाले घर बाहिर बाली खाएर हानी पुर्याउछ । घरभित्र समेत हामीलाई अनेक हिसाबले सताउँछ । लत्ताकपडा काटेर, रातबिरात यता र उता कुदाकुद गरेर, ठाउँ ठाउँमा सताउने मुसालाई शत्रु ठानिन्छ । हेयको दृष्टिले हेरिन्छ तर त्यही मुसालाई माया मात्र होइन, सम्मान गरेर पुजिएको छ यहाँ ।

काठमाडौंबाट लगभग ४२ किलोमिटरको दुरीमा रहेको हाम्रो हाइकिङको गन्तव्य थियोे नमोबुद्ध । सरासर कोटेश्वर काट्न पाएन गाडिले । रोकिनुको कारण रहेछ, ३ जना सहयात्री यहीँबाट मिसिनु । तर तिनीहरू त बेखबर छन् । फोन समेत नउठाएर बेमतलबी बनेका छन् । तैपनि १०÷११ मिनेट पर्खियौ । अर्थ आएन, आएनन् तिनीहरू ।

भक्तपुर नालिन्चोकमा नयाँ संरचनामा नजर पुग्यो । ३३ रोपनीमा फैलिएको हेलिपोर्ट रहेछ, हिजो मात्र उद्घाटन गरिएको ।  १३ वटा हेलिकप्टर पार्किङ क्षमता भएको यो पोर्टमा अबदेखि एकैपटक ४ स्थानबाट उडान गर्न सक्नेछन् । भक्तपुरलाई छोडेर ७ः४५ बजे पुगियो सागा । शुरु भयो काभ्रे जिल्लाको सिमाना । माथि सागा हिल नामको चट्टाने पहाडमा १०८ मिटर अग्लो शिवको भीमकाय मूर्तिले हेरिरहेको थियो हामीलाई । तर त्यहीँ नजिकैको खोल्सामा गणेशको बहान मुसाको मुर्ति बनेर मन्दिरभित्र बिराजमान छ । मुसाले घर बाहिर बाली खाएर हानी पुर्याउछ । घरभित्र समेत हामीलाई अनेक हिसाबले सताउँछ । लत्ताकपडा काटेर, रातबिरात यता र उता कुदाकुद गरेर, ठाउँ ठाउँमा सताउने मुसालाई शत्रु ठानिन्छ । हेयको दृष्टिले हेरिन्छ तर त्यही मुसालाई माया मात्र होइन, सम्मान गरेर पुजिएको छ यहाँ । गाडीमै बसेर सोचे । हाम्रो जस्तो सबैलाई दया माया गर्ने, जीव मैत्री सभ्यता कहाँ पाइन्छ ! कुनै पनि जीवलाई नसताओस् भगवान मानेर पुजोस् भन्ने मनोबिज्ञान छ यहाँ । पुर्ण प्रेमले भरिएको यस्तो उत्कृष्ट संस्कृति कहाँ पाउनु अन्त ! 

साँगा काट्ने बित्तिकैको बाटो ओरालो छ । देब्रेतिर भेटिएका छन्, चिटिक्कका घरहरू । घरका तल माथिका बारीमा हरियो बढ्दै गएका मकैका बोट । पारी दायाँतिर आकाशिदै गएका उत्तीसका रुख । यही साइडमा  माइक्रो आवास क्षेत्रले आँखा तानिरह्यो । हरियो वनमुनि गह्रागह्रामा एकै बान्कीका कुम जोडेर बसेका अपार्टमेन्ट आकर्षक देखिएको छ । बाहिर बाक्लिदै गैरहेको वन देखेर रमाइरहेको मनलाई गाडी भित्रको एउटा कुराले एकाएक ध्यान खिच्यो । “हिजो बालेनले मित्रपार्क स्थित टेलिकममा डोजर चलाएछ । उसलाई यो पार्टी र त्यो पार्टी भन्नु छैन । गौरवकासाथ बालेनको शहर हेर्न आएको बताउने मोफसलबासीको संख्या बढ्दै छ ।“ अर्जुन होडा दाइलगायत सहयात्रीहरूले पनि बालेनको डोजर अभियान र प्रशासन शैलीको खुलेर समर्थन गरे । साच्चै देशभक्ति, त्यागी, सादगी, सदाचारी नेता नपाउनाले नै देश दिनदिनै भड्खालोमा परेको हो । आजको पत्रपत्रिकाले बाहिरी मुलुकको लागि रिक्त राजदूतहरूको नियुक्ति गरिएको समाचार प्राथमिकता दिएर छापेका छन् । पार्टीगत भागबन्डानुसार । कति नवनियुक्त राजदुतले कति करोड पार्टीलाई बुझाएर राजदूतमा नाम निकाले ? बहसको बिषय बन्यो एकछिन ।

हेर्दाहेर्दै बनेपा आइपुग्यौं । यहाँ १ जना अन्तिम सहयात्रीलाई टिपियो । अब जम्मा १७ जना भइयो हाम्रो समुहमा । कोटेश्वरबाट डोरिदै आएको यो  अरनिको  राजमार्गमा गुड्दैछौ । बनेपातिर पनि बढाइएको ६ लेनमा बाटो यता पनि बिस्तार गरेको देखियो । तर यता गाडी गुड्न मिल्ने सडक मुस्किलले २ लेन जति मात्र छ । यहाँको उखडबखडको सडकमा हामीलाई सिटबाट उचाल्ने गरि एकपटक उफार्यो गाडीले । हिसाबै गर्ने हो भने अहिलेसम्म जम्मा ३ पटक त्यसरी उफारेको थियो ।

बनेपालाई पछाडि पारेर धुलिखेलको प्रमुख बजार पुगियो । जिल्ला प्रशासन, मालपोत, कारागार, वकिल, हुलाक लगायतका जिल्ला कार्यालयहरू छन् । खेल मैदानमा खेलाडी थकाइ मार्न बसेजसरी असरल्ल बसे जसरी । पासमै रहेका सरकारी स्कुल र रंगशाला छोडेको मात्र के थियो गाडिले हजार सिढीको क्षेत्र पुर्याइहाल्यो । हाइकिङमा चर्चित हो नै नमोबुद्ध । ड्राई पिकनिकको लागि पनि उपयुक्त र शान्त ठाउँ रहेछ यो ठाउँ । छेउ मै पिपल चौतारी पिकनिक स्थलको उपस्थितिले पनि यस्तै भनिरहेको छ ।  फराकिलो ठाउँ, ४/५ थान चिया नास्ता ख्वाउन खोलिएका रेष्टुरेन्टहरू छन् । ती मध्य एकमा गएर ब्रेकफास्ट गरियो । पलले यहाँ एक बोत्तल बियर फोर्यो । बिहानैबाट झुम्मझुम्म बनेर बिन्दास पदयात्रा गर्ने सोचले होला ।

प्रकृतिको साथी बन्न आतुर छौ हामी । यहीँबाट पदयात्रा शुरु गर्‍यों ठीक ९ः१५ बजे । हजार सिढी उक्लनासाथ प्राकृतिक वातावरणले अर्कै दुनियाँमा पुर्याएको भान हुन्छ । झ्याउकिरीहरूले सामुहिक संगीत पस्केर स्वागत गरेका छन् । उक्लने क्रममै ९ः२८ मा झन बढी संख्याका झ्याउकिरीले तार सप्तकमा स्वर उरालेर वातावरण उत्सवमय बनाएका छन् ।

डाँडाको टुप्पो चुमियो ९ः४५ बजे । यहाँबाट कालीदेवी मन्दिरको थुम्को उक्लदाउक्लदै पृथ्वीनारायण शाहको सालिक भेटिन्छ । मन्दिर परिसरबाट धुलिखेल, बनेपा, साँगा र दुषिथानी हिमालय रिसोर्टसहित फूलबारी क्षेत्रको सुन्दर ल्यण्डस्केप देखिएको छ । सिनियर ट्रेकिङ गाइड सोनाम शेर्पा भन्नुहुन्छ,  ‘मौसम राम्रो भएको भए पूर्वतिरका गणेश र लाङटाङ हिमाल हासिरहेको पाउथ्यौ । दक्षिणतिरका गौरीशंकर र जुगल हिमालले चियाइरहेका हुन्थे । युगौयुगदेखि  हितैषी बनेर साथ दिदै आएका नुम्बुर हिमाल र मेरापिकले उसैगरी मुस्कान छरेर मोहनी लगाउथे ।’

आङ छ्योटिन शेर्पा दिदीको नाचले गर्मी याममा तापक्रम बढे जसरी ह्वात्तै रौनक बढाएको थियो । स्थानीय गाउँलेहरू समेत घाँटी तन्काइतन्काइ हेरे । बाटोमा हाँस्दै, नाच्दै, गफ गर्दै, फोटो खिच्दै अघि बढ्दाबढ्दै थाहै नपाइ करिब एक घण्टाको  ओरालो सकिदा १०ः५० बजेको थियो । 

भिरालैभिरालो बाटो भएर  झर्दै, एकैछिनको वनको बाटोले रमणीय गाउँ पुर्यायो । सुर्के बारीमा मौलाएका मकै छन् । तिनै हरिया मकैका पातलाई छुदै बहेको बतासले अनुहारमा स्पर्श गर्दाको आनन्द वर्णनातीत छ । मकै वारि छेउमा ससाना सफा  घरहरूले हिंडाइलाई उसै नबिर्सने गराउँछ । न धुवाँधुलो, न सवारी साधनको घ्यारघुर, न मान्छेको ठेलमठेल । यो गाउँले परिवेशले  बाल्यकालीन सुखद स्मृतिलाई ब्युताइरहेछ । कराहीमा जेरीजस्तै फनफनी घुमिरहेछ मस्तिष्कमा । अतीतको रंग पोतेर गाउँघरको चित्र । बिहानको १० बजेको थियो । बाटोमा हाते स्पिकरबाट बजाइएको लोक गीत घन्किरहेको थियो । आङ छ्योटिन शेर्पा दिदीको नाचले गर्मी याममा तापक्रम बढे जसरी ह्वात्तै रौनक बढाएको थियो । स्थानीय गाउँलेहरू समेत घाँटी तन्काइतन्काइ हेरे । बाटोमा हाँस्दै, नाच्दै, गफ गर्दै, फोटो खिच्दै अघि बढ्दाबढ्दै थाहै नपाइ करिब एक घण्टाको  ओरालो सकिदा १०ः५० बजेको थियो । 

लायन्स क्लब अफ काठमाडौं चाबहिल सिटीका अध्यक्ष जिम्बा जाङ्बु शेर्पा भन्नुहुन्छ– हामीले यस्तो हाइकिङ महिनाको २ पटक गर्दै आएका छौं । काठमाडौं वरपरका क्षेत्रमा गरिएको यो २१औं हाइकिङ हो । प्रत्येक हाइकिङमा कुनै एक क्षेत्रका बिज्ञलाई पनि आमन्त्रण गर्छौ । सहभागीले सम्बन्धित क्षेत्रको बारेमा धेरैथोरै जानकारी हासिल गरून् भन्ने हिसाबले । हाइकिङ आफैमा अब्बल मनोरञ्जनको माध्यम हो । थप मनोरञ्जन प्रदान गर्न नाचगान बाहेक बल चम्चा, कुर्सी जस्ता खेल खेलाइन्छ । जित्नेलाई प्रोत्साहन स्वरूप पुरस्कार पनि प्रदान गर्छौं । हाइकिङकै क्रममा भेटिएका प्लास्टिकका फोहर उठाएर सम्बन्धित ठाउँमा तह लगाइन्छ । सबै क्षेत्र र वर्गको लागि खुल्ला गरिएको हाइकिङमा जाने जोकोहीको लागि एक टिसर्ट बेच्छौ । एकपटक किनेपछि सधैंभरि कामलाग्ने टिसर्ट रु ८५० राखेका छौँ । प्रत्येक पटक हाइकिङमा गाडी भाडा बापत रु ८०० राखिएको छ । 

अब फेरि केही क्षण सुस्ताउने पालो । फराकिलो चौरसहितको पार्कको एक छेउमा फलामको कुर्सी पनि राखिएको छ । त्यही जिम्बा दाइले बोकाउनु भएको मेवा खाइयो । अनि चाखियो आरु पनि । ११ः ०० बजे यहाँबाट मध्यम उकालो बाटो उक्लियौ । आधा घण्टामा कुइकेल गाउँ टेक्यौ त्यहाँ गोरेटो बाटो छ । गाउँलेहरूले गाई बाख्रा र भैसी पालेका छन् । बारीमा लगाइएको हरिया मकैले हलक्कै शोभा बढाएको छ गाउँको । पहिलोपटक पारिपट्टी पहेलपुर  नमोबुद्ध देखियो । वनको पासमा रहेको आजको गन्तव्य नमोबुद्ध ! अकस्मात मस्तिष्कमा खेल्दै गरेका बिचारहरू बिलुप्त भए । हाम्रो समुहले आङ छ्योटिन शेर्पा दिदीबाट जुस र चिया पियौ । अनि कान्छी शेर्पा दीदीले अमेरिका र भारतको चकलेट उस्तै प्रेमपूर्वक चखाउनु भयो । साउथ अफ्रिकन पल र केही नेपाली सहयात्रीहरू भने थकाइ मार्ने बहानामा नेपाली मात्रको सर्वसुलभ कोदोको झोल घुट्क्याउन भट्टी पसे । र निस्के जम्बो एक बोत्तल निगार बोकेर । 

 यहाँबाट उत्तरतर्फ १० मिनेट हल्का उकालो र तेर्सो हिडेपछि  भेटियो, एक सुबिधासम्पन्न थाइ रिसोर्ट । माथि कालीदेवी मन्दिरबाट मनोमोहक देखिएको यो दुषिथानी हिमालय रिसोर्ट भब्य पनि रहेछ । बाटो ओरालै छ । मुन्धुम फार्म स्टेसन नामक होटल काटेर कानाकोट डाँडा आइपुगियो । डाँडालाई सिरानी बनाएर बसेका बारीमा मकै लगाइएको छ । यहाँ पहिलोपटक देखे, मकै बारीलाई ध्वजा पटकले फनफनी बारेको । काभ्रे भान्ज्याङको आइपुग्दा १०ः२० बजेको थियो । धुलिखेलबाट आएको देब्रे जाने बाटोले मन्थली पुर्याउँछ । हामी यो बाटो काटेर ठीक बिपरित दिशातर्फ उक्लेको गोरेटो बाटो पछ्याउँछौँ । गाडीबाट नमोबुद्ध जानेजत्तिले दायाँतिरको बाटो समाउँछन् । यहीँ बाटो मुनी स्व. मदन भण्डारीको नाममा एक पार्क बनाइएको रहेछ ।

उकालो वनको बाटो छिचोल्दै १२ः४५ बजे नमोबुद्ध पुगियो ।  पार्किङमा गाडी खचाखच छन् । शनिबारको दिन भएर पनि होला आगन्तुकहरूको भीड छ । यहाँसम्म आउने नीजी गाडी प्रशस्तै देखिन्छन् । एकादुई सार्वजनिक बस समेत देखियो ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्व मात्र होइन, प्राकृतिक सुन्दरताका कारणले पनि आन्तरिक तथा बाह्य पर्यटक ओइरन्छन् यहाँ । जुन यसको प्रसिद्धको प्रमाण हो ।

सारा संसारको शान्ति र सत्यताका प्रतीक ! अहिंसाका प्रवर्तक ! एशियाका तारा ! नेपालको गौरव भगवान गौतम बुद्धको पहिलो जन्मस्थल भनेर  समेत चिनिन्छ नमोबुद्धलाई । काभ्रेमा पर्ने यस क्षेत्रको  नगरपालिकाको नामाकरण पनि नमोबुद्ध राखिएको छ । नेपालका ३ महान् बौद्ध स्तूपाहरू मध्ये एक ऐतिहासिक बौद्ध स्तूपा हो, नमोबुद्ध । बाँकी २ स्तूपा हुन्– बौद्धनाथ र  स्वयम्भूनाथ । नेपालका यी ३ प्रसिद्ध चैत्यहरूप्रति तिब्बती बौद्ध धर्मावलम्बीहरूको बडो श्रद्धा छ । 

यहाँबाट देखिने हिमालहरू र माथि कालीदेवी मन्दिर परिसरबाट देखिने हिमालहरू उस्तै हुन् । तर यहाँबाट देखिएको भूदृश्यले मन अलि भिन्न तरिकाले प्रफुल्ल बनाएको छ । पूर्वतिरको भकुण्डे बेसी, पश्चिमतिरको पनती, उत्तरतिरको दुषितथानी रिसोर्टसहित देखिने फूलबारी क्षेत्र र दक्षिणतिरको दाप्साको मनोहर दृश्य एक ठाउँमा उभिएर हेर्न पाइन्छ । जसको कारण प्राप्त आत्मिक सन्तोष र सुख वर्णनभन्दा पर छ । दाप्सातिर नै पर्छ, बाहुबली झरना अर्थात् तीन धारे झरना । जसले पछिल्लो समय निकै चर्चा कमाएको छ ।

बुद्धको पहिलो जन्मस्थल ‘नमोबुद्ध’को रोचक किम्वदन्ती यस्तो छ । “करिब ६ हजार बर्ष अगाडि शारदा बतासे गाविसस्थित एक महाराजाका ३ छोरा थिए । उनका कान्छा छोरा सुशील, दयालु र सहनशील स्वभावका थिए । एकदिन पाँच डमरु सहितको बघिनी भोको र अचेत रूपमा सुतिरहेको अवस्थामा देखेपछि राजकुमारको मनमा करुणा पलायो । आफ्नो तिघ्राको मासु टुक्रा टुक्रा पारेर बघिनीलाई दिए । छाती खोपेर रगत निकाली डमरूलाई पिलाए ।” यसरी राजकुमारले आफ्नो शरीर दान दिएर प्राणीको प्राण बचाएको धार्मिक कथन पाइन्छ । पछि राजाले यहीँ ठाउँमा भेटिएको उनको अस्तु राखेर गुम्बा निर्माण गरिदिए । आफ्नो शरीर दान गरेको २५ सयवर्षपछि लुम्बिनीमा तीनै राजकुमारले मायादेवीको कोखबाट जन्म लिए । भगवान गौतमबुद्धको रुपमा । र पाँच डमरू बुद्धका शिष्य भए । हो,  ठीक यहीँ ठाउँमा सानो गुम्बा छ । गुम्बाभित्रको भित्तामा बुद्धको मुर्तिसहित शरीर दान गरेको चित्र  रेखाङकन गरिएको छ ।

यही शरीर दान गरिएको गुम्बा नजिकैको एक रेष्टुरेन्टनमा लन्च खाइयो । पेट भर्ने कर्म गरियो भनौ । आङ छ्योटिन शेर्पा दिदीले सुक्खा रोटी, ब्रेड, आलुको तरकारी र अचार  (केको भन्ने हेक्का राखिन) ल्याएकी रहिछन् । आफैलाई समेत नराखिकन बाडिन प्लेटमा राखेर सबैलाई । प्लेट भने जिम्बादाइको सौजन्य थियो । पिउनको लागि जुस र मही छ । बियर खानेको लागि रेष्टुरेन्टको चिसो बियर छदैछ । क्लबका सचिब देवी पन्तले नम्किन बाँड्नु भयो ।

नमोबुद्धमा कात्तिक पूर्णिमाको अघिल्लो दिन पूजाआजा गर्ने दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ ।  चैते पूर्णिमा र साउनको प्रत्येक बुधवार पनि मेला लाग्छ यहाँ । मेलामा नेपाल अधिराज्य भरबाट मात्र होइन,  संसार भरका बौद्ध धर्मावलम्बीहरू समेत समेटिन्छन् । दर्शनार्थीले मेलामा लाखौं–लाख दीप प्रज्वलित गर्दछन् । यहाँ एक पटक मात्र पाइला टेके जुगौं–जुगको पाप पखालिने र चिताएको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 

दिउँसो २ बजे नमोबुद्धबाट ओरालो लागियो । सिढीको बाटो पाँच मिनेट मै वन भेटिन्छ । पदयात्राको शुरुवातीमा जस्तै यहाँ पदयात्राको आखिरीमा पनि झ्याउकिरीले उसैगरी सामुहिक संगीत पस्केका छन् । मानौं यो बिदाइको संगीत हो । जसमा आगामी दिनहरूमा पनि सम्झनु÷नबिर्सनु भन्ने आग्रहको भाका उरालिएको छ ;

माया नमार्नु है माया नमार्नु
पछि पनि सम्झेर आउदै गर्नु ...! 
संसारमा सबैभन्दा ठूलो त माया नै  हो !
संम्झनालाई अनन्तसम्म बचाउने त स्मृति नै हो !

माया नमार्नु है  ... .. .