काठमाडौं - नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । 

मुख्यगरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

२०८१ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत र गैर- खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ४९ प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत तरकारी उप- समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ । जुन सबैभन्दा उच्च मूल्यवृद्धि हो ।

त्यस्तै, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ५७ प्रतिशत र घ्यू तथा तेलको चार दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।

यो अवधिमा केही वस्तुको मूल्य भने घटेको छ । माछा तथा मासु उप- समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव १८ प्रतिशत, मरमसलाको शून्य दशमलव ७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको शून्य दशमलव ७८ प्रतिशतले घटेको छ ।

गैर- खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उप- समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ४९, मदिराजन्य पेय पदार्थको छ दशमलव ३२, कपडाजन्य तथा जुत्ता चप्पलको छ दशमलव १२ प्रतिशत र घरायसी उपकरणको चार दशमलव ८८ प्रतिशतले बढेको छ ।

गत असोजमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।