काठमाडौं - नेपाली कांग्रेसले पाँचवटा भ्रातृ संस्थाको कार्यसमिति विघटन गरेको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकले १३ वटा भ्रातृ संस्थामध्ये पाँच वटाको कार्यसमिति विघटन गरेको हो। नेविसंघ, तरुण दल, महिला संघ, लोकतान्त्रिक खेलकुद संघ र दलित संघको तदर्थ समितिले साढे तीन वर्षसम्म महाधिवेशन गर्न असफल भएपछि विघठित गरिएको छ।
कार्यतालिका प्रस्तुत गरेका संघहरूको हकमा कार्यतालिकामा तोकिएको समयसम्म महाधिवेशन गर्नेगरी समयावधि थप गर्ने निर्णय गरिएको छ। नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ र नेपाल दलित संघका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा समेत दिइसकेकाले दुवै भ्रातृ संघका केन्द्रीय समितिहरू स्वतः विघटन भएको कांग्रेसले जनाएको छ।
लामो समयसम्म अधिवेशन नभएपछि २०७८ फागुनमा १० वटा भ्रातृ संस्थाको कार्यसमिति विघटन गरी तदर्थ समिति बनाइएको थियो।


0 comment