काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाले सडक, फुटपाथ तथा सार्वजनिक स्थलमा भइरहेका अवरोध हटाउन सम्बन्धित पक्षलाई सूचित गराएको छ। 

प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सुवेदीद्वारा मंगलबार जारी सूचनामा सडक, फुटपाथ तथा सार्वजनिक स्थलमा राखिएका कुनै पनि व्यवसायिक वा व्यक्तिगत सामग्री तथा सवारी साधन तुरुन्त हटाउन सबै सरोकारवालालाई आग्रह गरिएको छ।

नगरपालिकाका अनुसार बजार क्षेत्र अन्तर्गतका मुख्य तथा सहायक सडक, फुटपाथ र सार्वजनिक स्थानमा साना–ठूला व्यवसायिक गतिविधि तथा अनधिकृत पार्किङ्गका कारण सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेको छ।

कसैले अटेर गरी अवरोध कायम राखेमा सम्बन्धित सामग्री जफत गर्नुका साथै अनधिकृत रूपमा पार्किङ्ग गरिएका सवारी साधन नियन्त्रणमा लिई दण्ड–जरिवाना गराउने समेत चेतावनी दिएको छ।

 नगरपालिकाकाले अवरोध हटाउन पटकपटक माइकिङ्ग, पत्राचार लगायत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ। नगरपालिकाले सर्वसाधारणको सहज आवतजावत सुनिश्चित गर्न नियमको पालना गर्न समेत अनुरोध  गरेको छ।