काठमाडौं - नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा राख्ने ढंगबाट सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस संसद् समन्वय बोर्डको बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत राज्यका निकायलाई नियन्त्रण गर्ने प्रयास गरिएकाले गम्भीर आपत्ति रहेको बताए । सरकारले सिफारिस गरेको अध्यादेश जारी भइसकेपछि संसद अधिवेशन आह्वान गर्नुले पनि सरकारको बदनीयत स्पष्ट देखिएको उनले बताए ।

 अध्यादेश लगाएतका विषयमा कांग्रेसले सशक्त रुपमा अन्य विपक्षीहरुलाई समेत साथमा लिएर सदनमा आवाज उठाउने उनले उल्लेख गरे । उनले सरकारको क्रियाकलापले मुलुकलाई ठिक ठाउँमा लगेको जस्तो अनुभूति नभएको धारणा समेत राखे । त्यस्तै आङदेम्बेले व्यवस्थापनका विषयलाई ख्यालै नगरी सुकुम्वासीको बस्ती भत्काउने काममा समेत कांग्रेसको विरोध रहेको बताए । राज्य आतंक मचाउने ढङ्गबाट प्रस्तुत भएकाले यसको पनि विरोध गरिएको उनको भनाइ छ ।

कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय बोर्डको प्रथम बैठकमा पार्टीले यसअघि गरेका निर्णयहरुका विषयमा समेत छलफल भएको आङदेम्बेले जानकारी दिए ।