किराँत कालको अन्त र लिच्छविकालको प्रारम्भमा नेपाल कमजोर हुँदै गयो र अन्ततः ५३ भन्दा बढी टुक्रामा देश विभाजित भयो । यसरी विभाजन भई देश काँगडा, बाह्र र अठार ठकुराई, गढ्वाल, कुमाउँ, बाइसे, चौबिसे, गोर्खा, कान्तिपुर, भक्तपुर, विजयपुर, चौदण्डी, मकवानपुर, माझ किराँत, पल्लो किराँत, सिक्किम, भुटानलगायत अनगिन्ति भुरे–टाकुरे राज्यमा परिणत भयो । यी टुक्रे राज्यहरु एक आपसको झगडा र विलासितामा मग्न थिए । यस्तो परिस्थितिमा दक्षिण तर्फ व्यापार र उपनिवेश विस्तार गर्दै “कहिल्यै घाम नअस्ताउने देश” निर्माणको महत्वकांक्षा बोकेको अंग्रेज बिहार र बंगालमा आफ्नो मुठ्ठीमा पारिसकेको थियो । यस्तो शक्तिले नेपालका भुरे–टाकुरे राज्य हत्याउन कुनै भिषण युद्ध गरिरहनु पर्ने थिएन । केवल उनीहरुको सेनाले परेड खेल्दा नै रजौटाहरुको शिर अंग्रेजको जुत्तामुनि प्राणरक्षाका निम्ति गिडगिडाइरहेको हुनसक्थ्यो ।

यो कुरालाई राम्रोसँग मनन गरेका तत्कालीन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले स–साना पहाडी राज्यहरुको एकतामा मात्र अंग्रेजको शरण पर्नु नपर्ने स्थिति बन्छ भन्ने बुझेका थिए । तर सिमाना, कुलो, व्यापार, बाटो र अन्य स–साना कुराको निहुँमा झगडा गर्ने प्रवृत्ति बोकेका तत्कालीन राज्यहरुमा एकताको सम्भावना शून्य थियो । त्यसैले पृथ्वी नारायणले १७९९ चैत्र २५ गतेको राज्यारोहण पश्चात्त युद्ध विजय गरी अन्य राज्यहरु आफ्नो राज्यमा विलय गरी विशाल राष्ट्र निर्माण गर्ने दृष्टिकोण बनाए ।

जस अन्तर्गत सम्वत् १८०० मा नवाकोट माथि आक्रमण गरे तर सबल र सुदृढ सेना अभावमा पराजय भोग्नु प¥यो । यद्यपि हार नमानि १८०१ असोज १५ गते पुनः आक्रमण गरेर विजय गरी गोर्खा राज्यको सिमा विस्तार गरे । सम्वत् १८०३ सम्ममा गोर्खा राज्य अन्तर्गत महादेवपोखरी, फर्पिङ, चित्लाङ, भर्मस्थली, नालद्रुम, सिरानचोक तथा शिवपुरी समेत गाभएको थियो । लडाइँको हिसाबको सामरिक महत्वको विन्दु “मकवानपुर गदी” लाई पनि सम्वत् १८१९ मा गोर्खा राज्यको मातहतमा ल्याइएको थियो ।

त्यस पश्चात्त सम्बत् १८१४ मंसिर, १८२१ भदौ र तेस्रो पटक १८२२ चैत्र ३ गतेको घेराबन्दीले मात्र कीर्तिपुर गोर्खा राज्यमा गाभियो । पहिलो पटकको आक्रमणमा सेनापति कालु पाण्डे काटिए र स्वयम् राजा पनि झन्डै मारिए । दोस्रो पटकको आक्रमणमा भाइ शुरप्रताप र दलजित शाह शक्त घाइते भए । तेश्रो पटक चाहिँ धान काट्ने बेलामा महिनौं सम्म घेराबन्दी गरेपछि कीर्तिपुरेहरु आत्मसमर्पण गर्न बाध्य भए ।

यसरी नै सम्बत् १८२५ असोज १३ गते इन्द्रजात्राको दिन कान्तिपुर माथि सजिलै विजय भयो र २४ गते ललितपुर अनि १८२६ वैशाख १ गते ठिमी क्षेत्र र मंसिर १ गते भक्तपुरको समस्त भू–भाग गोर्खा राज्य अन्तर्गत विलय भयो । तर राजा नारायणले गोर्खा नभई आफ्नो विस्तारित सिमाक्षेत्रलाई “नेपाल” नाम दिए । यसरी आधुनिक नेपाल १८२६ मंसिर १ मा औपचारिक रुपमा निर्माण भयो । गोर्खाली सेन सीमा विस्तारमा लागिरहे । जस अन्तर्गत १८२९ मा माझ किराँत, १८३० मा चोदण्डी, १८३१ मा विजयपुर नेपालमा एकीकृत भए र सेना मेची खोला पारीसम्म समथल भू–भागमा चहलपहल गर्न थाले । यति मै पृथ्वी नारायणको देहावशान भयो । तर एकीकरण अभियान भने रोकिएन । छोरा प्रतापसिंहले चितवन, दाङ, कविलाशपुरगणलाई नेपालमा गाभे र उनको पनि मृत्यु भयो । अनि नाबालक राजा रण बहादुरको नायवी महारानी राजेन्द्र लक्ष्मीले लिई सम्बत् १८३४ देखि १८४२ मा चौविसे राज्य अन्तर्गतको लम्जुङ्ग, तनहुँ र कास्किलाई नेपालमा गाभिन् । त्यस पश्चात्त पृथ्वी नारायणका कान्छा छोरा बहादुर शाहले रण बहादुरको नायवीमा राज्य सञ्चालन गरी सम्वत् १८४९ मा सिक्किमको समस्त भू–भाग र भुटानको केही भू–भाग जितेर सिमानालाई टिस्टा पारी पु¥याए । तर भुटानको सेनाले भुटानको क्षेत्रमा नेपाली सेनालाई बसीरहन दिएन र नेपाली सेना सिक्किम, दार्जिलिङ, जलपाइगुरी र सिलगुरी क्षेत्रमा सिमित भए ।

यता पश्चिम तर्फ भने १८४४ मै चौबिसे राज्य र बाइसे अन्तर्गतको कर्णालीको जुम्लामा पूर्ण नियन्त्रण कायम थियो । सम्वत् १८४६ मा डोटी नियन्त्रणमा आयो र गोर्खाली सेना महाकाली पारी तरे । काली पारी तरेर १८४७ मा अलमोडा विजय गरी १८४८ मा गढवाल आक्रमण गरी गढवाललाई आश्रित राज्य बनाइयो । तर गढवालले नियम विपरित नेपाललाई कर नबुझाएकोले राजधानी श्रीनगरमा प्रधानमन्त्री भिमसेनको पालामा काजी अमरसिंहको नेतृत्वमा पुनः आक्रमण गरी गढवाललाई पूर्ण रुपमा नेपालको मातहतमा ल्याइयो । यसै क्रममा गोर्खाली सेना यमुना नदी तर्दै बाह्र र अठार ठकुराईको नियन्त्रणमा रहेको प्राचीन नेपालको यमुना पारिको भू–भाग पुनः नेपालमा मिलाउँदै गए र शतलज पारी पनि पुगे । शतलज पारिका स–साना थुम्के राज्यलाई नियन्त्रणमा लिँदै काँगडाको किल्लामा राजा संसार चन्दलाई ४ वर्ष सम्म घेराबन्दी गरे । तर संसारचन्दको सहायताको लागि आएको पञ्जावको राज रणजित सिंहको सेनासँग सेनासँग नेपाली सेना टिक्न सकेन । अन्ततः नेपाललाई युद्ध क्षति र शतलज पारिको भू–भाग छाडे बापत रु.१,००,०००।– पाउने शर्तमा ज्वालामुखि सन्धि गरी शतलज वारी नै रोकियो र नेपालको पश्चिम सिमाना शतलजमा सिमित भयो ।