काठमाडौं - नेकपा  माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताउनुभएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष दाहालले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो,“अब मिल्नुको विकल्प छैन, विभाजनको  शृङ्खला रोकिएको छ,सबै माओवादी एकताको प्रक्रियामा छन ।” देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले भन्नुभयो, “हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ,अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।”

अहिलेको  निर्वाचन प्रणालीले  राजनीतिक भ्रष्टाचार बढाउने उहाँको भनाइ थियो ।

कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न अध्यक्ष दाहालले निर्देशन दिनुभयो ।