निना नाजारोभा,
बीबीसी न्यूज रसिअनले गरेको एउटा अनुसन्धानमा रुसी अदालतहरूले उल्लेख्य मात्रामा भगौडा वा छुट्टीबाट नफर्केका सैनिकहरूको मुद्दा हेरिरहेका देखिएको छ। धेरैजसो भगौडा सैनिकले आफन्तकोमा आश्रय लिँदा उनीहरू समेत मुद्दा खेप्नुपर्ने जोखिममा पर्ने गरेका छन्।
सन् २०२३ को मार्च २३ को बिहान दक्षिणी रुसको स्टाभरोपोल क्षेत्रमा दिमित्री सेलिजिनेन्को नामका युवाले आफ्नी प्रेमिकालाई मोटरसाइकलमा चढाए। उनी प्रेमिकामार्फत् स्थानीय सरकारी कार्यालयमा आफूले तिर्नुपर्ने रकम भुक्तानी गर्न चाहन्थे।
छ महिनाअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको सैन्य परिचालनका क्रममा उनी युक्रेनमा लड्नका निम्ति छानिएका थिए। मार्च महिनासम्ममा उनी अग्रमोर्चामा सामेल भएको हुनुपर्थ्यो।
तर १० दिन बिरामी बिदा बसेका उनी पुन: आफ्नो एकाइमा फर्किएनन्। त्यसले गर्दा उनी अहिले फरारको सूचीमा छन्।
गाउँ फर्किँदै गर्दा ती युवालाई विद्यालय पढ्दाका साथी आन्द्रेई सोभेरसेन्नोभले देखे। विद्यालयपश्चात् सोभेरसेन्नोभ प्रहरीमा भर्ती भएका थिए।
सोभेरसेन्नोभले सैन्य प्रहरीलाई सतर्क गराए। त्यसलगत्तै प्रेमिकालाई कुरेर बसिरहेका सेलिजिनेन्कोलाई तीन जना मानिसले पक्राउ गर्ने कोसिस गरे।
सेलिजिनेन्कोले आफ्नी आमा र सौतेनी बाबुलाई सम्पर्क गर्न सफल भए र उनीहरूले उनलाई गाउँ लगे। त्यसपछि के भयो भन्नेबारे दुईथरीका भनाइ छन्।
प्रहरीको भनाइअनुसार सौतेनी बाबु अलेक्स्यान्डर ग्राकोभ सेलिजिनेन्कोको हतकडी तान्दै "उसको सट्टा मलाई पक्राउ गर!" भन्दै चिच्याए। त्यसपछि उनले सेलिजिनेन्कोलाई भुइँमा लडाए र पिट्न थाले।
परिवारका मानिसहरूका कुराअनुसार, अलेक्स्यान्डर ग्राकोभले सौतेनी छोराविरुद्धको पक्राउ पुर्जी हेर्न खोजेपछि उनलाई धकेलेर लडाइयो र कुटियो।
पछि दुवैजनालाई अस्पताल लगियो भने ग्राकोभमाथि प्रहरीमाथि हातपात गरेको आरोप लाग्यो। त्यसैबीचमा सेलिजिनेन्को आफ्ना अभिभावकको कार लिएर भागे। उक्त घटनाबारे गाउँलेहरू बीच 'च्याट ग्रूप'मा बहस छेडियो।
सेलिजिनेन्कोका परिवारले उनीहरूका छोरा सेनामा भर्ती हुन उपयुक्त नै नभएको बताएका छन्। उनीहरूका अनुसार उनको राम्ररी स्वास्थ् परीक्षण पनि गरिएको थिएन र कोरोनाभाइरसको सङ्क्रमण देखिँदा देखिँदै पनि उनलाई अग्रपङ्क्तिमा पठाइएको थियो।
ज्यानुअरीको अन्त्यमा हिउँका कारण समस्या परेपछि उनलाई आराम गर्न पठाइयो। घर फर्किएको दुई दिनपछि उनको ग्यास्ट्रिकको शल्यक्रिया गरियो। तसर्थ उनी सेनाका निम्ति पूर्ण अयोग्य भन्दै सैन्य स्वास्थ्य आयोगका तर्फबाट जाँच गरिएको हुनुपर्थ्यो भन्ने परिवारजनको तर्क छ।
तर 'च्याट ग्रूप'का सबै मानिसहरू उक्त तर्कप्रति सहानुभूति राख्दैनन्। त्यसको जबाफमा परिवारजनले छिमेकीहरूका निम्ति एउटा भावनात्मक पोस्ट गरेका छन्।
"तपाईँ गाउँमा आरामले बसिरहनुभएको छ। तर तपाईँहरूमध्ये प्याटिगोर्स्क, बुड्योन्नोभ्स्क वा रोस्तोभको अस्पतालहरूमा रहेका घाइते सैनिकहरूलाई हेर्न को आउनुहुन्छ? अरूका बारेमा धारणा बनाउनुअघि दु:ख पाइरहेका आमा वा तिनका छोराको ठाउँमा बसेर सोच्नुहोस्। तपाईँका श्रीमान र छोराहरू तपाईँकै वरपर छन्, त्यसैले त्यही कुरा आफूलाई नपरोस् भनेर प्रार्थना गर्नुहोस्।"
सन् २०२४ को मार्च महिनामा अलेक्स्यान्डर ग्राकोभ प्रहरीमाथिको हातपातको आरोपमा दोषी पाइए र १,५०० डलर जरिवाना लगाइयो।
दिमित्री सेलिजिनेन्को सेनाको एकाइमा फर्किएनन् र उनको हालको अवस्था अज्ञात छ। त्यसमा संलग्न कसैले पनि बीबीसीसँग बोल्न चाहेनन्।
बीबीसी, न्यूज रसिअन
0 comment