३ महिना अघि के पी ओली पुन प्रधानमन्त्री बनेपछि पहिले भारत जान खोजेको तर भारतले अनिच्छा जाहेर गरेपछि चीनजाने तारतम्य मिलाइ रहेको बखतमा प्रचण्डले आफ्नो सत्ता जोगाउन ओलीले चाइना कार्ड खेल्न लागेको आरोप लगाएका छन् । खास अर्थ के हो चाइना कार्ड भनेको ? नेपाललाई चाइना कार्ड खेल्न बाध्य पार्ने वास्तविक रुपमा को हो ?

नेपाल चीन सम्वन्ध

तिब्बतका सम्राट श्रंग चन गम्पोको पालामा तिब्बत शक्तिशाली थियो । यसले मंगोलिया र मंचुरिया (हालको चीन) लाई अधिनस्थ गरेको थियो । कतै हिमाल बारी आएर नेपाल पनि खाने हो कि भन्ने डरले नेपालका राजा अंशुवर्माले आफ्नी छोरी भृकुटीको विवाह श्रंग चन गम्पोकासाथ गरिदिए पछि नेपाल तिब्बत सम्बन्ध गाढा बन्न पुगेको थियो । यिनै भृकुटीले तिब्बतमा बौद्ध धर्म लगेकी थिइन । पछि तिब्बत कमजोर भएपछि दलाइ लामा र चीन सम्राट बीच एक सन्धी भयो जसनुरुप धार्मिकरुप चीन सम्राटले दलाइ लामालाई मान्नु पर्ने तर प्रशासनको कुरा आउँदा तिब्बतको प्रशासन चीनले हेर्ने तय भएबमोजिम तिब्बतमा चीनको दुइ ग्यारिसन सेना स्थायीरुपमा बस्न थाल्यो ।

मल्लकालमा नेपाल तिब्बतको ब्यापार यति बढेको थियो की तिब्बतमा नेपाली सिक्का चल्दथ्यो । यही तिब्बत ब्यपारको कारण नेपाल खाल्डो (हालको काठमाण्डौ उपत्यका) धनधान्यले परिपूर्ण थियो । सत्रौ शताब्दिमा क्रिश्चियन धर्म तिब्बत र नेपालमा फैलाउन आएका केपुचिन पादरीहरुले त आफ्नो यात्रा वृतान्तमा  त्यतिखेरको काठमाण्डौलाइ देखेर पुर्वको फ्लोरेन्स (एकिकरण अघिको इटलीको साभोया वंशको राजधानी) जस्तो समृद्ध रहेको वताएका छन् । तर जव पृथ्वि नारायण शाहले नेपालको एकिकरण गरे उनले मल्ल वंशको पुराना धसिएको सिक्का हटाइ नयाँ सिक्का तिब्बतमा लागु गर्न खोज्दा तिब्बतले मानेन जसको फलस्वरुप नेपाल तिब्बतको सम्वन्ध चिसिन गयो जुन बहादुर शाहको नायवी कालमा युद्धमा नै परिणत भयो ।

सन् १७८९ देखि १७९२ सम्म गरी झण्डै ३ वर्ष चलेको त्यो युद्ध नेपाली सेनाले तिब्बतमा रहेको  चिनिया सेनासँग लडेको थियो । युद्धमा नेपाली सेना कमजोर सावित भयो र पछि हट्न शुरु ग¥यो । चिनिया सेनाले लखेटन छाडेन । अन्तत नुवाकोटको वेत्रावती सम्मै चिनिया सेना आइपुगी राजधानी काठमाण्डौनै हान्ला भन्ने खतरा बढेपछि नेपालले चीनसँग सन् १७९२ को अक्टोवर महिनामा बेत्रावतीको सन्धी गर्‍यो । यस सन्धीको एक धारामा अब उप्रान्त नेपाल चीन अशल मित्र हुनेछन र एक अर्का माथि तेश्रो शक्तिले आक्रमण गरेमा एकले अर्कालाइ सहयोग गर्ने छन्ू भन्ने ब्यवस्था भयो । हो चाइना कार्डको जग भनेको यहि सन्धि थियो ।

सन १८१४/१५ भीमसेन थापा प्रधानमन्त्री हुदा जव नेपाल र इष्ट इण्डिया कम्पनी वीच युद्ध भयो र जव नेपाल रक्षात्मक स्थितिमा पुग्यो नेपालले चीनसंग यसै सन्धिको आधारमा सैन्य सहयोग मागेको थियो याने अंग्रेज विरुद्ध चाइना कार्ड खेल्न खोजेको थियो तर त्यतिखेरको चीनको मंचुवंश आफै अंग्रेजसंग अफिम युद्ध लडिरहेको कारण यसले नेपाललाई सहयोग गर्न सकेन जस्को फलस्वरुप अंग्रेजद्धारा लादिएको सुगौली सन्धीको कारण नेपालले आफ्नो एक तिहाइ भूमी गुमायो । त्यतिखेर चाइनाकार्ड खेल्न सम्भव हुन्थ्यो र चीनले नेपाललाई सहयोग गथ्र्यो भने विशाल नेपालको भूभाग गुम्ने थिएन होला । 

कोतपर्व पछि जव जंग बहादुर शक्तिमा आए । उनी अंग्रेजसंग असल संवन्ध कायम गर्न सफल थिए र त्यसैको वलमा उन्ले १८५५ मा चीनको संरक्षित क्षेत्र तिब्बत माथि आक्रमण गरी ल्हासा लुटन भ्याय । तिब्बतले आत्मसमपर्ण मात्रै गरेनन बल्की सन १८५६ को थापाथली सन्धीमा हस्ताक्षर गर्न राजी भयो । जसनुरुप नेपालले कब्जा गरेको सिगात्से र मानसरोवर कैलास सम्मको भूमी तिब्बतलाई फिर्ता पायो जस्को लागि तिब्बत नेपाललाई वार्षिक १० हजार रुपैया बुझाउन राजी भयो ।

नेपालले आफ्नै बुतामा योे युद्ध लडेको कारण उसलाई चीन विरुद्ध अंग्रेजी कार्ड खेल्नु परेको थिएन वल्की सन १८५७ मा भारतमा अंग्रेज विरुध्द उठेको सिपाही विद्रोहको कारण भारतमा रहेको अंग्रेजी शासनको जग हल्लिएको बेला जंग बहादुरले आफनै नेतृत्वमा ६ रेजिमेण्ट सैनिक लिएर गएर सिपाही विद्रोह दवाइ लखनौ लुट गर्न भ्याए ।

जंग बहादुरको सहयोगबाट खुसी भएर अंग्रेजले सुगौली सन्धी अनुसार लिएको नेपाली भूमी मध्य हालको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर (नयाँ मुलुक) नेपाललाई फिर्ता दियो । यसबाट राजा सुरेन्द्र वीर विक्रम शाह जंग बहादुरसँग औधी खुसी भए र उनलाई कास्की र लम्जुगको राजा श्री ३ को पदवी दिए । यस कुराले नेपाल शक्तिशाली भएको बेला यसलाई न चिनिया कार्ड न अंग्रेजी कार्ड केहि पनि खेल्न पर्दो रहेनछ भन्ने कुरा पुष्टि हुन गयो । 

भारतमा अंग्रेज औपनिवेषिक शासनको विरुद्ध चलेको सफल आन्दोलनको कारण अंग्रेज भारत छोडेर जाने मनस्थिति वनाएको वेला जंग बहादुर जस्तै शक्तिशाली र निडर मोहन सम्शेर हुन्थे भने उनले सन् १९४७ मानै विशाल नेपाली भूमी अंग्रेजबाट फिर्ता लिन सक्तथे र संभव पनि थियो । तर नेपालमा राणाशाही विरुद्ध चलेको ससस्त्र मुक्ति आन्दोलले गर्दा मोहन सम्शेर आफै कमजोर हुन पुगेका थिए अनि राजा त्रिभुवन भारतले जे भन्यो त्यही मान्ने भएको कारण नेपालको शासनमा पुरै भारत हावी हुन पुग्यो । त्यति मात्रै कहाँ हो र गृहमन्त्री सरदार पटेलले त हैदरावाद जस्तै नेपाललाई खान खोजेका थिए तर नेहरुले नेपाललाई खानै पर्दैन, नेपाल कालान्तर हाम्रै हो भनेर रोकेको कारण नेपाल भारत विशेष संवन्ध कायम भयो ।

नेपालका राजाको सल्लाहकार भारतीय बने अनि नेपालको मन्त्री मण्डलको बैठकमा भारतीय राजदुत (हाइ कमिस्नर) को उपस्थिती अनिवार्य वन्यो । त्यतिखेर चाइना कार्ड खेलेर भारतीय हालीमुहालीको विरुध्दमा जाइलाग्ने  न राणा, न राजा न नेपाली कांग्रेस, न नेपाली जनता कोहि पनि उठेन, न चीन नेपाललाई सहयोग गर्न सक्ने अवस्थामा थियो । यद्यपि भारतसंग विशेष सम्वन्ध रहेकै अवस्थामा पनि नेपालले संयुक्त राष्ट्र संघको सदस्यता र चीनसंग दौत्य सम्वन्ध स्थापना गर्न सक्यो किनकी त्यतिखेर हिन्दी चीनी भाइ भाइको नारा गुन्जेको कारण भारत र चीन आफूहरुलाई अशल मित्र ठान्थे । नेपालको चीनसंगको दौत्य संवन्धको कारण भारत रिसाउनु पर्ने परिस्थिति थिएन । 

चाइना कार्डको प्रथम प्रयोग

भारतसँग विशेष सम्वन्ध भएकै अवधीमा नेपालमा सन् १९५८ मा प्रथम आम निर्वाचन भई नेपाली कांग्रेसले सरकार वनायो । तर वेथितीको ब्यवस्थापन गर्न नसकेको भन्दै १५ महिना पछिनै राजा महेन्द्रले नेपाली कांग्रेसको सरकार अपदस्थ गरी शासन आफ्नो हातमा लिएपश्चात भारत नराम्ररी रिसायो र नेपाल माथि आर्थिक नाकावन्दी थोपर्यो ।

राजा महेन्द्रले चीन गुहारेको फलस्वरुप तत्कालिन चिनिया उपप्रधानमंत्री चेन यी तिब्बत आइ त्यहाबाट नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी मात्रै दिएनन वल्की नेपालले मागेको अवस्था चिनिया सैन्य सहयोग हुने कुरा वताए । त्यस्को लगत्तै चीन भारतको दुस्मनी वढन थाली सन १९६२ मा गएर युध्दमा परिणत भएपछि कतै चिनिया सेना नेपाल पसी भारत आक्रमण पो गर्ने हो की भन्ने भयले प्रधानमन्त्री नेहरु तर्सिए र नेपालसँगको शत्रुता भारतलाई महंगो पर्ने देखी पंचायत ब्यवस्थालाई मान्यता दिंदै भारतले नेपालमाथिको आर्थिक नाका बन्दी हटायो ।

नेहरुले त्यतिखेर भारतीय संसद लोकसभामा यसरी वोलेका थिए "Now we are in war with China, an unfriendly Nepal can be a threat to Indian Security so that we have decided to endorse the political step taken by King Mahendra in Nepal"। यो नै राजा महेन्द्रको भारत विरुध्दको सफल चिनिया कार्डको प्रथम प्रयोग थियो । यस्ले राजा महेन्द्रद्धारा प्रतिपादित पंचायत ब्यवस्थालाई नेपालमा ३० वर्ष टिक्न सफल वनायो ।

चाइना कार्डको दोश्रो प्रयोग

आफ्ना कमजोर छिमेकीलाई सकेसम्म निल्नु, नसके आफ्नो अधिनमा राख्नु, त्यो पनि गर्न नसके आर्थिक नाकावन्दि थोपरी तर्साउनु भारत भन्ने देशको जन्म सन् १९४७ भएपछि यस्को नियती नै वन्दै आएको छ । उदाहरण स्वरुप भारतले सन् १९४९ मै भुटानसँग एक सन्घि गरी यसको रक्षा र परराष्ट्र मामला आफ्नो हातमा लिएको थियो । त्यसैगरी तत्कालिन सोभियत संघसंग सैनिक सन्धी गरेकै वलमा भारतले सन् ७० को दशकमा पाकिस्तानलाई टुक्राइ स्वतन्त्र वंगलादेश बनाउने र सिक्किमलाई निल्ने काम गर्न भ्यायो ।

भारतको यस्तो हर्कतबाट तर्सेका राजा वीरेन्द्रले अन्तराष्ट्रिय राजनीतिमा भारतलाई एक्लाउने रणनीति अख्तियार गरी नेपाललाई शान्तीक्षेत्र घोषित गरियोस भन्ने प्रस्ताव विश्व समक्ष राखे जस्को औपचारिक रुपमा समर्थन गर्ने चीन पहिलो राष्ट्र वन्यो तत्पश्चात, जापान, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स लगाएत विश्वका ११६ राष्ट्रले यसको समर्थन गरेपश्चात भारत नराम्री जिल्लियो र नेपालको राजतन्त्रनै सिध्याउने रणनीति भारतले अख्तियार गर्‍यो ।

राजा वीरेन्द्रको शान्ती क्षेत्र प्रस्ताव दक्षिण एसियामा भइरहेको भारतीय दादागिरीको विरुद्धमा खेलिएको चाइना कार्ड नभै अन्तराष्ट्रिय कार्ड थियो भन्नु पर्दछ । राजा र सक्रिय राजतन्त्र विरुद्ध भारतले नेपालका सबै प्रतिवन्धित राजनीतिक दलहरुलाई उचाले वमोजिम सन १९८८ को मार्च महिनाबाट पंचायत ब्यवस्था विरोधी आन्दोलन नेपालमा शुरु भयो । जव यो आन्दोलन उचाइमा पुग्यो भारतले नेपालका राजा समक्ष भुटानी मोडेलको सन्धी प्रस्ताव गर्यो ।

राजा वीरेन्द्रले भारतको यो प्रस्ताव मानेनन, ठीक त्यस्को विपरित उन्ले चीनसंग हात हतियार किनेर भारतलाई तर्साउन खोजे । भारत पनि के कम उसले नेपालमाथि पुन आर्थिक नाकावन्दि थोपरी आन्दोलनलाई प्रत्यक्षरुममै सघायो । संकट वढदै जादा राजाले भारत समक्ष घुडा टेक्नु भन्दा बरु पंचायत ब्यवस्था खारेज गरी वहुदलीय ब्यवस्था पुर्नस्थापना गर्ने घोषणा गरिदिए । भारत जिल्लियो । राजा वीरेन्द्रले भारत विरुद्ध पुन सफल चाइनाकार्ड खेलेर देखाए तर दुखको कुरा पुनरस्थापित वहुदलिय सरकारले राजा वीरेन्द्रको शान्ती क्षेत्रको प्रस्तावलाई भारतको इशारामा रद्यीको टोकरीमा मिल्काइदियो । 

चाइना कार्डको तेश्रो प्रयोग

नेपालको राजतन्त्र साइजमा नल्याई नेपाललाई भुटान वा सिक्किमको जस्तो ब्यवहार गर्न सकिदैन भन्ने निष्कर्षमा भारत पुग्यो । अव उसले गणतन्त्रको नारावोकी जनयुद्ध शुरु गर्न माओवादीहरुलाई उचाल्यो । यसप्रकार सन १९९६ बाट नेपालमा जनयुध्द शुरु भयो । यसै अवधिमा भारतले आफ्ना नेपाली एजेन्ट मार्फत राजा वीरेन्द्रको वंश विनाश गर्न भ्यायो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेकै बेला भारत पुन राजा ज्ञानेन्द्र समक्ष भुटानी मोडेलको सन्धी गरौ अन्यथा राजतन्त्र नै अन्त्य गरिदिन्छौ भन्न आइपुग्यो ।

राजा ज्ञानेन्द्रले सो कुरा मानेनन बरु चीनलाई सार्कमा ल्याउनु पर्छ भन्दै काठमाण्डौ भएको दलाइलामाको सम्पर्क कार्यालय वन्द गरिदिए । यसले भारत र तिब्बती स्वतन्त्रता चहाने अमेरिका र पश्चिमी राष्ट्रहरु क्रुध्द भए तव भारतले माओवादी लगायत नेपालका सबै राजनीतिक दलहरुलाई दिल्ली वोलाइ १२ वुंदे सहमतीमा हस्ताक्षर गर्न लगायो । सो सहमतीको सफल कार्यान्वयन हुदा नेपालको राजतन्त्र ढल्यो । राजा ज्ञानेन्द्रको चाइना कार्ड सफल हुन सकेन । 

चाइना कार्डको चौथो प्रयोग

१२ वुदे सहमती कार्यान्वयनमा आउदा प्रथम संविधानसभा र द्धितिय संविधान सभाको निर्वाचन भई नेपालले ८ वर्ष लगाएर संविधान तयार गरी जारी गर्यो । तर भारतले भने बमोजिमको संविधान नभएको कारण भारतले पुन आर्थिक नाकावन्दी लगायो । यो गणतन्त्र नेपाल माथिको पहिलो भारतीय नाकावन्दी थियो ।

नेपालले भारतको यस्तो नाकावन्दी विरुद्ध हारगुहार मागेपछि, अनाहक रुपमा नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै चीनले नेपालमा निशुल्क पेट्रोल र डिजेल निर्यात गरी भारतीय नाकावन्दीलाई टक्कर मात्रै दिएन वल्की नेपालसंग ब्यपार पारवहन सम्झौता गरी चीनको जल र स्थलमार्ग नेपाललाई उपलब्ध गराउने भएपछि नेपालमा ठूलो भारत विरोधी र चीन मैत्री जनमत वन्न गयो । यस्ले अन्तराष्ट्रिय रुपमै भारतको वेइजति भएपछि भारत नेपाल समक्ष झुक्न बाध्य भयो । यो नेपालले भारत विरुद्ध खेलेको पछिल्लो सफल चाइना कार्ड थियो । 

उपसंहार

भारतले जव जव नेपालको आन्तरिक मामला हस्तक्षेप गर्दै नेपाललाई नियन्त्रणमा लिन खोज्छ तव तव नेपालका शाशकहरु चीनसंग हारगुहार गर्छन र त्यो नै नेपालले खेल्ने चाइना कार्ड हो । अहिले अमेरिका र पश्चिमी राष्ट्रहरुको चाहना नेपाल विआरआइ भित्र नजाओस वरु हिन्द प्रशान्त रणनीति (आइपिएस) भित्र आओस भन्ने छ ।

नेपालले भने एकातर्फ आपिएस र एसपिपिमा र अर्कोतर्फ विआरआइ गरी दुबैमा हस्ताक्षर गरिसकेको छ । यद्यपि आइपिएस भित्रको एमसिसि कार्यान्वयनमा आइसकेको छ भने विआरआइ कार्यान्वयनमा आउन सकेको छैन र विवाद वढिरहेको छ । यहि विवादको कारण पछिल्लो अवस्थामा नेपालमा राजनीतिक अस्थिरता भई छिटछिटै सरकार वन्ने र ढल्ने भइरहेको छ । अहिले केपी ओलीको दुइतिहाइको वहुमतको गठवन्धन सरकार भ्रष्टाचारको कारण एकपछि अर्को गर्दै वदनामी कमाइ रहेको वेला भारतले सहकार्य गर्न नचाहेको देखिएको अवस्थामा उस्को चीन भ्रमणको तैयारी भइरहेको छ ।

नेपालले पोखरा विमानस्थल निर्माण गर्न लिएको ऋण विआरआइ भित्र होइन यसलाइ अनुदानमा परिणत गरिदेउ भनेको तर चीनले होइन त्यो त विआरआई भित्रकै ऋण हो भनेको अहिलेको अवस्था छ । देशमा विदेशी ऋणको वोझ थामी नसक्नु भएको र पोखरा अन्तराष्ट्रिय विमानस्थल प्रयोगमा नआइ सेतो हात्तीमा परिणत भइरहेको वेला हुन लागेको ओलीको यो चीन भ्रमण नेपालले चाहेजस्तै होला त ? भयो भने त प्रचण्डले भने जस्तै ओलीले चाइना कार्ड खेली आफनो सत्ता जोगाउन खोजेको देखिन्छ होइन नेपालको माग अनुरुप ऋण अनुदानमा परिणत गर्न चीन चाहेन र विआरआइ अन्तर्गतका नेपालले प्रस्तुत गरेका अरु आयोजनाहरु पनि अनुदानमा नभै ऋणमा मात्रै गर्न सक्ने कुरा चीनले जनायो भने ओलीको चाइना कार्ड असफल भई उन्को नियती राजा ज्ञानेन्दको जस्तै हुन वेर छैन । त्यसो भयो भने प्रचण्डले भने जस्तो इण्डिया कम्र्फट सरकार मात्रै नेपालमा टिक्ने वातावरण वनी नेपाल क्रमस भुटान वन्दै सिक्किमको नियति भोग्न जानेछ । नेपाललाइ चाइना कार्ड खेल्न वाध्य पार्ने पहिले भारत मात्रै थियो भने अहिले सिंगै हिन्द प्रशान्त रणनीति लागेको छ भन्दा अत्युक्ति नहोला ।