काठमाडौं - नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताउनुभएको छ । 

जनकपुरधाम उपमहानगरपालिका- २३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न पुग्नुभएका सभापति देउवाले आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले ऋण लिनु ठीक नभएर अहिले अनुदान नै उपयुक्त भएको बताउनुभयो ।

सभापति देउवाले चीन नेपालको असल मित्रराष्ट्र भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो । 

फरक प्रसङ्गमा सभापति देउवाले मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि काँग्रेस एक्लैले केही गर्न नसक्ने भएकाले यसका लागि गठबन्धन दलभित्र छलफलको आवश्यकता रहेको बताउनुभयो । 

सभापति देउवाले काँग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।