‘चोरको खुट्टा काट भन्दा, जो चोर हो उसले आफ्नो खुट्टा थुत्छ’ भन्ने नेपाली उखान छ । यस्तै एउटा कथा मैले बच्चामा सुनेको थिए । जुन यसप्रकार छ, एक पटक एउटा कक्षामा एउटा छात्रको नयाँ किताब चोरी भएछ । आफ्नो किताव चोरी भएको गुरुलाई बताएपछि गुरुले सोधपुछ गर्दा कसैले पनि मैले चोरेको हँु नभनेपछि गुरुले सबै छात्रहरुलाई एउटा एउटा सलाइको काटी बाडेछन् र भनेछन् ‘सबैले यो सलाइको काटी घर लग्नु र भोली विद्यालय आउदा लिएर आउनु । जसले किताव चोरेको छ, उसको काटी अरुको भन्दा आधा इन्च अग्लो हुनेछ’ भनेर जानकारी दिएछन् । यस कुराले किताव चोर विद्यार्थीको मनमा खुल्दुली भएछ र घरमा पुगेर उसले के गर्ने होला भनेर खुबै सोचेछ । अनि बाठो भएर उसले ‘यदि मेरो काटी आधा इन्च बढ्छ भने आधा इन्च काटेर छोटो बनाउछु, अनि भोली आधा इन्च बढ्दा अरुको काटी जस्तै बराबरीको हुन्छ, अनि गुरुले आफूलाई चोरीको दोष लगाउन सक्तैन’ भन्दै काटीलाई आधा इन्च काटेछ र भोली पल्ट विद्यालय गएछ । कक्षामा सबै छात्रहरु हाजिर भएपछि गुरुले सबैबाट काटी फिर्ता लिएछन र काटीहरु जाच्दा चोर छात्रको काटी अरुको भन्दा आधा इन्च सानो भेटियो । अन्ततः चोर पत्ता लाग्यो । भनाइको मतलव जसले चोर्छ वा अपराध गर्छ उसले आफु चोर भन्ने कुरा कालान्तरमा आफैले प्रमाणित गर्छ । 

कुरा नेपालमा भएको संस्थागत भ्रष्टाचारको हो । राजनीति गर्नेहरुले पदको दुरुपयोग गरी हुने कुरालाई नहुने र नहुने कुरालाई कमिशनको लोभमा हुने बनाइ भ्रष्टाचार गरी अकूत सम्पती जम्मा गरेकै कारण राष्ट्रपतिदेखि वडा सदस्यसम्मै भ्रष्टाचार गरी नवसम्भ्रान्त बन्न पुगेका छन् नेपालमा । यहि कुरा बुझेर नै भ्रष्टाचार विरोधी नेपाली जनता एकातिर २०४७ पछिका लाभपदधारी सबै राजनीतिक कर्मिहरुको सम्पतीको स्रोत जाँच गरी स्रोत नखुलेको सम्पतीको राष्ट्रियकरण हुनुपर्छ । भ्रष्टाचारीहरुलाई कुनै हालतमा छोड्न हुदैन भन्दै सडक तताउन थालेका छन् भने अर्को तर्फ नयाँ भनाउदा दलका नेताहरु समेत घुमी फिरी भ्रष्टाचारमा मुछिन जानुले गर्दा भ्रष्टाचारीहरु उत्साहित भई ५ वर्ष र सो भन्दा वढी वर्षको पुरानो भ्रष्टाचारको मुद्धा खोतल्न नपाइने विधेएक संसदमा पेश गरेका छन् । भ्रष्टाचारीहरु वैधानिक रुपबाटै बहुमतको हवाला दिंदै चोखिन खोज्नुले चोरको खुट्टा काट भन्दा सबैले आफ्नो खुट्टा थुतेर नांगो भएको अवस्था छ अहिले । 

ससदीय ब्यवस्था भनेको यस्तो ब्यवस्था हो जस्ले महिलालाइ पुरुष र पुरुषलाई महिला हो भनेर निर्णय गर्नु वाहेक अन्यथा बहुमतको नाममा नयाँ कानून वनाइ जे पनि गर्न सक्छ भन्ने कुराको उदाहरण अहिले संसदमा प्रस्तुत भएको भ्रष्टाचार सम्वन्धी विधेएकले प्रमाणित गरेको छ । सत्तारुढ गठवन्धन, प्रतिपक्षी दल अनि भ्रष्टाचार विरोधी नयाँ दल भनाउदाहरु समेत घुमाइ फिराई भ्रष्टाचार र ठगीमा मुछिन गएको कारण यदि विधेएक पाश भएर कानून वन्न पुगेमा धमिजाकाण्डबाट शुरु भई गिरिवन्धु आइपुग्दा सम्मका सबै भ्रष्टाचारहरु अव वैधानिक बन्न पुग्ने स्पष्ट भएको छ । चोरहरुले खुलारुपमा हामी चोर हौ, हामीले चोरी गरेको अवधि ५ वर्ष कटिसकेको छ अव हामीलाई चोर वा भ्रष्टाचारी भन्न पाइन्न भन्ने छन् । 

बंगलादेशमा जनता सडकमा ओर्लदा तानाशाही र भ्रष्ट कहलिएकी प्रधानमन्त्री हशिनाले जसरी देश छोडेर भाग्नु प¥यो त्यसको वाछिट्टा अवश्यै नेपालमा पनि आउला र भ्रष्टाचारीहरुको संपत्ती नेपाली जनताले जफत गर्दै यिनीहरुलाइ लखेटलान भनेको त त्यसको ठीक विपरित भ्रष्टाचारीहरुलाई उन्मुक्ति दिने विधेएक पो संसदमा पेश हुन्छ बा ।

भ्रष्टाचारीहरुको यो नांगो नाचको प्रतिरोध गर्ने न सेना न जनता कोहि पनि देखिदैन नेपालमा । यसले के प्रमाणित गर्छ भने बंगलादेशमा भ्रष्टाचार विरोधी जनताहरु बहुसंख्यक रहेछन तर नेपालमा यिनीहरु अल्पमतमा रहेछ भन्ने पुष्टि हुन पुगेकै कारण विधेएकको एक दुइ सांसदहरुले जति विरोध गरेपनि संसदको बहुमतबाट पाश भएमा अचम्म नमान्दा हुन्छ । अनि त्यसको नतिजा के होला ? नतिजा स्पष्ट छ । भ्रष्टाचार मात्रै होइन ५ वर्ष भन्दा पुरानो निर्मला बलत्कार तथा हत्याकाण्ड लगायतका सबै आपराधिक काण्डहरुका  नायकहरुले पनि सफाइ पाउन आवश्यक फौजदारी विधेएकहरु संसोधन हुनु पर्छ भन्ने माग उठ्छ र उठ्नु स्वभाविक पनि हो । किनकी बहुसंख्यक नेपाली जनता कि मस्त निन्द्रामा छन कि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले भ्रष्टाचारमै मुछिन पुगेका छन कि विदेशिएका छन् । खोइ कसले तताउने सडक ?