आकाश नापेका साल, सिसौ, चाप, जामुन, यमुना, रुद्राक्षलगायतका हरिया वृक्षहरू शीतल सास फेरेका छन् । उसैगरि नजिकै नारायणी नदीको पानी छोएर बहेको बतासले शरीरमा शीतलताको नै सन्चार गरेको छ । लाग्छ फलाम सुकाउने तराईको प्रचण्ड तापलाई यिनैले आफ्ना खोकिलामा लुकाएका छन् । प्राण सन्चार गर्ने यहाँको शीतलतामा पाइला परेपछि एकाएक बन्द भएका छन् । बर्खाको बेला जरुवा जसरी रौका प्रत्येक प्वालहरूबाट निस्कने पसिनाका भुल्का जति ।

रुखका हागाहागामा बाँदरका बथान पिङ खेलिरहेका छन् । वातावरण प्रतिकूल बनेपछि हाम्रा वस्तीबाट बिलाएका भगेरा, ढुकुर, सारौ जति यता पो थुप्रिएका रहेछन् । हागासंगै चराचुरुङ्गी  चिर्बिराउदै तल र माथि नाच्दै छन् । यस्तो दृश्यले दङ्गयाउने र आल्हादित पार्ने काम एकैसाथ गर्दैछ । धनेश, चखेवाका प्रेमिल गीत समेत यतै सुन्न सकिन्छ । नेपालमा मात्र पाइने काढे भ्याकुरको उपस्तिथिति पनि यहीकै घना जङ्गलमा छ ।

पूर्ण प्राकृतिक वातावरणले बिशेष संसार बसाइदिएको यो घना जङ्गल भित्र गहिरो शान्ति छाएको छ । त्यतिबेला कसैको अनुभव अमूल्य बनिदिन्छ, जसलाई इन्द्रेणी रंगमा सुसज्जित अति सुन्दर मयुरको मादकतापूर्ण नाच हेर्ने मौका मिल्छ । आँत तरङ्गित पार्दै उसैलाई अर्कै लोकमा पुर्याइदिन्छ, जसलाई यतैकतै मस्तसंग चरिरहेको मृग नजीकबाट नियाल्ने अहोभाग्य जुर्छ ।

उल्लेखित तन र मनलाई एकत्वमा मिलाउने प्राकृतिक सौन्दर्यको प्रसङ्ग हो– चितवनको भरतपुर १ आँपटारीस्थित जम्मा ५७ बिघा १३ कठ्ठा ७ धुर जमिन फैलिएको दियालो बङ्गला दरबार सङ्ग्रहालयको ।  

पूर्वराजपरिवारका सदस्यहरू काठमाडौँको जाडो छल्न, चितवन राष्ट्रिय निकुञ्जमा सिकार खेल्न र मनोरञ्जनको लागि बिदा मनाउन प्रयोग गरिँदै आएको यो ऐतिहासिक दरबार क्षेत्रलाई संग्रहालयको रुप दिएको छ । यही असार २३ गतेदेखि सर्वसाधारणको लागि अवलोकन खुल्ला गरिएको छ । 

ऐतिहासिक महत्वको दियालो बङ्गला दरबार शानदार र झकिझकाउ छ । पहिलो तलामा रहेको व्यवस्थित बैठक कक्षले ध्यान सोहर्छ । भित्तामा पूर्वराजारानी महेन्द्र, वीरेन्द्र र ऐश्वर्याको तस्बिर साथै बाघको टाउको राखिएको छ । तस्तै  सिकारका सौखीन महेन्द्रबाट मारिएको घडियाल गोही भर्याङमा सजाइएको छ । सिकार गरी ल्याइएका वन्यजन्तुका छाला बाहेक सङ्ग्रहालय तत्कालीन राजाको पलङसहितको शयन, भान्सा, भान्सा कोठासमेत गरिकन आधा दर्जनभन्दा बढी कोठाहरू छन् । सबै कोठाहरू रुखका पातहरूजस्तै दरबारद्वारा प्रयोगमा ल्याइएका बहुमुल्य र दुर्लभ सामग्रीहरूबाट भरिएका  छन् ।

जङ्गलको बिचमा अवस्थित यो संग्रहालयको सिमाना जलदेवी सामुदायिक वनसंग जोडिएको छ । जुन जङ्गल र क्षेत्रफलको हिसाबले झन ठूलो हो । सामुदायिक वनमा हात्ती, गैडा जस्ता ठूला जंगली जनावर समेत पाइन्छन् । तर सैनिकको कडा निगरानी रहेको यो इलाकामा यी ठूला जनावर आउन नसक्ने गरि बार लगाइएको छ । मृग जस्ता साना जनावरको लागि भने आउन÷छिर्न मिल्ने  व्यवस्था गरिएको छ ।

एक महिनाको लागि बस्ने योजनामा आएका महेन्द्र अचानक हृदयाघातबाट यही  बङ्गलामा २०२८ माघ १७ गते (५१ वर्षको उमेरमा) मृत्यु भएको थियो । यसपछि यो दरबारको चर्चा एकाएक चुलिन गएको थियो । दरबारको प्रभाव भने सर्वसाधारणले आफ्ना व्यापार व्यवसायको सुरुको नाम स्वस्फूर्त रुपमा दियालो शब्दलाई चयन गरे  । त्यसपछि पूर्वराजपरिवारका सदस्यहरू यहाँ आउने क्रममा कमी आयो । तैपनि महेन्द्रको वार्षिक तिथि पारेर पूर्वराजा वीरेन्द्र बङ्गलामा आउने गर्थे । यिनले त २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाए ।

दरबार हत्या काण्ड र राजपरिवारको अवसानसंगै ओझेलमा पर्यो यो दरबार । भर्खर यसलाई संग्रहालयमा बदलेर सर्वसाधारणका लागि खुला गरिएपछि भने यहाँ पुनः चहलपहल बढ्न थालेको छ ।

भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ तथा सल्लाहकार  विश्वराज सुवेदी भन्नुहुन्छ– सबैका लागि खुला गरिएको संग्रहालयको भ्रमण आनन्ददायी मात्र होइन । शाहकालीन  इतिहास र शासन व्यवस्थाको लागिसमेत महत्वपूर्ण हुनेछ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको बङ्गला भरतपुर महानगरलाई सञ्चालन र व्यवस्थापन गर्ने गरी २ वर्षको लागि जिम्मा दिइएको छ । महानगरपालिकाले निकट भविस्यमा ट्रष्ट कै बाटो पारि रहेको ६ बिगाहा जग्गामा पार्क निर्माण गर्ने  योजना बनाएको छ ।

टिकटबाट उठेको राजस्वको ५०/५० प्रतिशत बाड्ने गरी सम्झौता गरिएको छ । प्रवेश शुल्क प्रतिव्यक्ति रु एक सय राखिएकोको छ भने बिद्यार्थीलाई ५० प्रतिशत सहुलियत÷छूट दिएको छ । पाँच वर्षसम्मका बालबालिकाले निःशुल्क प्रवेश पाउछन् । विदेशी पर्यटकको हकमा भने प्रतिव्यक्ति रु २ सय ५० तिर्नुपर्छ । 

यति हुँदाहुँदै पनि पूर्ण व्यावस्थापन बिना खुल्ला गरिएको संग्रहालय परिसरमा भोख प्यासको निम्ति खाजा घरको व्यवस्था छैन । संग्रहालय कार्यलय समयसम्म मात्र खुल्ला गरिएकोले ५ बजेपछि साझको शीतल समय सदुपयोग गर्नबाट बन्चित छन् आगन्तुक । अर्को शब्दमा, चर्को धामको सामना गर्नुपर्ने बाध्यता छ । बाहिरी गेटदेखि बङ्गलासम्मको पैदल हिडाइमा घामबाट बच्न छाता बोक्नुको बिकल्प छैन ।