महामहिम,
शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर आयोजना समेत समावेश महाकाली नदी एकीकृत विकास सम्बन्धमा भएको सन्धि सम्बन्धमा यो निवदेन गर्दछु । यसै अवसरमा म महामहिमलाई संयुक्त आयोगले डिसेम्वर ४–५, १९९२ मा गरेका निर्णयहरु तथा भारतका सम्माननीय प्रधानमन्त्रीको नेपाल भ्रमणको अवधिमा अक्टोवर २१, १९९२ का दिन पारित भएको संयुक्त विज्ञप्तिको स्मरण गराउनु पनि समीचिन ठान्दछु । यसै परिप्रेक्ष्यमा हाम्रा दुई सरकारहरुबाट अभिव्यक्त इच्छाहरुलाई कार्यरुप दिने प्रयोजनका लागि म चर्चामा आएका सहमतिहरु र सन्धिमा व्यवस्था भएका प्रावधानहरुको आधारमा देहायका प्रस्तावहरुलाई प्रस्तुत गर्दछु ।
१) टनकपुर बाँधलाई पूर्व पश्चिम राजमार्गसित जोड्ने महेन्द्रनगरसम्मको पक्की सम्पर्क सडक यो सन्धि लागू भएको १ वर्षभित्र भारतले निर्माण गरिदिने छ ।
२) (भारतका सम्माननीय प्रधानमन्त्रीको नेपाल भ्रमणको अवसरमा प्रकाशित) संयुक्त विज्ञप्तिमा उल्लेख भए अनुसार टनकपुर विद्युत गृहबाट भारतले नेपाललाई दुई करोड युनिट विजुली उपलब्ध गराउने भएकोमा जुलाई ७६, १९९२ मा टनकपुर विद्युत गृह सञ्चालन भएदेखि सन्धिमा व्यवस्था भए अनुसार सात करोड युनिट विद्यतु आपूर्ति गर्न नथालुन्जेल सम्मको अवधिमा भारतबाट नेपालले पाउनुपर्ने विजुली नेपाल र भारतबीच हाल भै रहेको विद्युत आदानप्रदान सम्बन्धी व्यवस्था अनुरुप मिलान गरिनेछ ।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनका सम्बन्धमा विस्तृत आयोजना प्रतिवेदनलाई अन्तिम रुप दिँदा, सम्झौता गर्दा अयोजना कार्यान्वयन गर्दा समेतका सन्दर्भमा देहायका सिद्धान्त र व्यवस्थाहरु अवलम्बन गरिनेछ ।
क) विस्तृत आयोजना प्रतिवेदनलाई अन्तिम रुप दिने काम दुवै देशले सन्धि भएको मितिले ६ महिनाभित्र गरी सक्नेछन् । यस प्रयोजनका लागि आवश्यक तथ्यांक प्रतिवदेनहरु यथाशिघ्र आदानप्रदान गरिनेछ । आयोजना प्रतिवेदन तयार गर्ने क्रममा आयोजनाबाट प्राप्त हुने लाभहरुको मूल्यांकन गर्दा खुद उर्जा लाभलाई अन्य वैकल्पिक स्रोतहरुको उपयोग गर्दा व्यहोर्नु पर्ने खर्चमा हुन आउने वचतलाई समेत गणना गरिनेछ सिँचाइ तर्फको लाभको लेखाजोखा गर्दा नदीको प्रवाह बढेको अनुपातमा हुने वृद्धि तथा अतिरिक्त लाभहरुको साथै बाढी नियन्त्रणतर्फको लाभको समेत गणना गरिनेछ ।
ख) यस सन्धि अन्तर्गत महाकाली नदीबाट प्रत्येक पक्षले लिन पाउने पानीको सम्बन्धमा भएको व्यव्सथालाई प्रतिकूल असर नपार्न भएको व्यवस्थामा कुनै पनि पक्षले महाकाली नदीको प्रयोग हुन नसकेको पानी माथि दावी गर्न पाउने प्रावधान सन्धिको धारा ३ को अनुच्छेद ३ बाट भएको मानिनेछ ।
ग) पञ्चेश्वर विकास प्राधिकरणको स्थापना सम्बन्धी प्रस्ताव लगायत आयोजनाको खर्च र कार्यान्वयन सम्बन्धी सम्झौता कार्यहरु दुवै देशले विस्तृत आयोजना प्रतिवेदन पारित भएको एक वर्षभित्र पूरा गर्नेछन् ।
३) आयोजनाको जति सक्यो चाँडो शुरु गराउनका लागि स्थलगत अध्यन लगायत विस्तृत ढाँचा सम्बन्धी तयारी कार्यहरु विस्तृत आयोजना प्रतिवेदन पारित हुने वित्तिकै प्रारम्भ गरिनेछ र आयोजना सम्बन्धी सम्झौता वार्तालाई पनि सँगसँगै चालू गरिनेछ । यस प्रयोजनको लागि दुवै देश मिलेर यी कार्यहरुको लागि छुट्टै खर्चको समेत व्यवस्था गर्न सक्नेछन् ।
४) विस्तृत आयोजना प्रतिवेदनको प्रावधानलाई दृष्टिगत गरी यस आयोजनालाई सो को कार्यान्वयनको सम्झौता भएको मितिले आठ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिनेछ ।
हाम्रो दुई सरकारबीच स्थापित सहमतिलाई मैले माथि उल्लेख गरेको बुँदाहरुले सही रुपमा प्रस्तुत गरेको छ भन्ने कुराको पुष्टि महामहिमबाट भैदिएमा म कृतज्ञ हुनेछु । यो पत्र र उल्लेख भएको सहमतिको पुष्टि हुने गरी महामहिमले मलाई लेख्नु हुने प्रत्युत्तर पत्रले हामी दुई सरकारका बीचको सम्झौताको काम गर्नेछ र यो सम्झौता सन्धिको धारा १२ को अनुच्छेद २ ले तोकेअनुसार दुई पक्ष बीच अनुमोदन सम्बन्धी लिखतहरु आदानप्रदान भएकै मितिदेखि लागू हुनेछ ।
महामहिम कृपया मेरो उच्चतम भावनाका आश्वासनहरुलाई स्वीकार गर्नुहोस् ।
महामहिम श्री प्रणव मुखर्जी
विदेश मन्त्री
भारत सरकार
डा. प्रकाशचन्द्र लोहनी
परराष्ट्र मन्त्री
श्री ५ को सरकार
0 comment