सन् १९६० को दशकमा स्वतन्त्रता आन्दोलनबारे अत्यन्त चर्चामा आएका देशहरूमध्ये एक अल्जेरिया पनि थियो । भूमध्य सागरको दक्षिणमा अवस्थित अल्जेरिया क्षेत्रफलको हिसाबले अफ्रिकाको दोस्रो ठूलो देश हो । क्षेत्रफलको हिसाबले सुडान र जायर पहिलो र तेस्रो हो । २३ लाख ८१ ह्जार ७४० वर्गकिलोमिटर क्षेत्रफल भएको अल्जेरियाको अहिलेको जनसंख्या ३ करोड ६३ लाख छ । पूर्वमा ट्युनेसिया र लिविया, दक्षिणमा नाइजर र माली, पश्चिममा माउरितानिया र मोरोक्को पर्छ भने उत्तरमा भूमध्य सागर पर्छ । जातीय र धार्मिक रुपले अरबी र मुसलमान बहुल देशमा झन्डै एक प्रतिशत मात्रै युरोपेली र क्राइश्चेली र अन्य धर्म मान्नेहरू छन् । खनिजको हिसाबले यो देश सम्पन्न छ । पेट्रोल, ग्यास, फलाम, जस्ता, पारो, चाँदी जस्ता धातु र अन्य खनिज पदार्थ ठूलो मात्रामा पाइन्छ र त्यससम्बन्धी प्रशोधन उद्योगहरू पनि छन् ।
अल्जेरियाको उत्तरतिर समुद्री किनारमा बसोबास बढी छ भने दक्षिणको सहारा मरुभूमिको भाग छ, उत्तरी र दक्षिण पूर्वी भागमा केही क्षेत्र पहाड छ । सन् १८३० देखि नै फ्रान्सेली साम्राज्यवादले यस देशलाई उपनिवेश बनाएको थियो । त्यसैबेला अल्जेरियाको शैक्षिक स्तर फ्रान्सको भन्दा माथि थियो, तापनि त्यस देशलाई ‘पिछडिएको भूमि’ मानिन्थ्यो ।
उपनिवेशका १३० वर्षपछि फ्रान्सेली उपनिवेशवादीहरूले अल्जेरियाको सामाजिक र आर्थिक जीवनलाई धुजाधुजा बनाए तथा देशलाई नै एक दरिद्र देशको रुपमा फेरिदिए । उपनिवेशवादीहरूले अल्जेरियालाई ‘फ्रान्सको एक भाग’ को रुपमा घोषणा गर्दै १५ लाख फ्रान्सेलीहरूको बस्ती बसाली त्यहाँका उर्बर भूमि, खेत र खलिहान तथा व्यापार कब्जा गरे। दलित पीडित जनता जहाँ पनि स्वतन्त्र र मुक्त हुन चाहन्छन् । त्यसअनुसार अल्जेरियाली जनतामा पनि स्वतन्त्रताको भावना प्रबल रुपले विकास हुँदै गयो ।
दोस्रो विश्वयुद्धपछि स्वतन्त्रता र मुक्ति आन्दोलनले अफ्रिकी महादेश नै जुर्मुरायो। अफ्रिका महादेशका अनेक मुलुकहरूमा विभिन्न स्वतन्त्रता सेनानी र नेताहरू देखापरे। त्यसमध्ये अल्जेरियाका एक नेता अहमद बेन बेल्ला थिए । बेन बेल्ला जीवनभर विवाद समाधान गर्ने अफ्रिकी संघको सल्लाहकार समितिका अध्यक्ष थिए तथा फ्रान्सेली उपनिवेशवादीहरू र स्वतन्त्रतापछि पश्चिमी समर्थक अल्जेरियाली सरकारकै बन्दी भएर उनले २४ वर्ष कारागारको सजाय भोगे । उनी सन् १९१८ डिसेम्बर २५ मा अल्जेरियाको पश्चिमी सुफी मुसलमान परिवारमा जन्मेका थिए । विद्यार्थी जीवनमा उनी फ्रान्सेली उपनिवेशवादी शिक्षकहरूबाट अनेक भेदभावको सिकार हुनु परेको थियो ।
चार भाइमध्ये जेठो दाजु फ्रान्सेली सेनाबाट पहिलो विश्वयुद्धमा मारिए र अन्य दुई भाइ सौनमा मरेका थिए । सन् १९३६ मा १८ वर्षको उमेरमा उनी फ्रान्सेली सेनामा भर्ती भए । त्यसबेला फ्रान्सेली उपनिवेशको सेनामा अल्जेरियाली मुसलमानहरू भर्ना हुँदैनथे । उनलाई खेलमा अगाडि हुँदा सन् १९३९–४० तिर खेलकुदकै क्षेत्रमा पठाउन खोजिएको थियो, तर उनले त्यसलाई स्वीकारेनन् ।
सन् १९४० मा उनले सेनामा पदक पाएका थिए, पछि उनी बसेको अल्जेरियाली सेना विघटन भएपछि उनी मोरक्कोको फ्रान्सेली पैदल सेनामा भर्ती भए । उनले फ्रान्सेली राष्ट्रपति डेगालबाट पदम पाए र अफिसरको दर्जामा पदोन्नति भए तर मई १९४५ मा अल्जेरियाको सेतिफ सहरमा फ्रान्सेली उपनिवेशवादीहरूले दमन गरेपछि उनले आफ्नो पदोन्नति समेत अस्वीकार गरे । सेना छोडेपछि बेन बेतला नगरपालिकाको निर्वाचनमा भाग लिए तथा उपनिवेशको विरोध गर्ने एक भूमिगत संगठनको सदस्य भए । त्यही विशेष संगठन नै पछि अल्जेरियाको राष्ट्रिय मुक्ति मोर्चाको रुपमा अगाडि बढ्यो ।
सन् १९५१ मा फ्रान्सेलीहरूलाई उनको गतिविधिको जानकारी हुनासाथै उनी पक्राउ परे तथा उनलाई ८ वर्षको जेल सजाय भयो। लडाकु स्वभावको भएको हुँदा बेन बेल्ला जेलबाट ट्युनिसिया गुप्तरुपले तथा त्यहाँबाट मिश्र पुगे। मिश्र त्यसबेला अल्जेरियाली राष्ट्रिय मुक्ति मोर्चाको केन्द्र थियो र क्रान्तिकारी संघर्ष एवं एकताको समितिमा ९ जना सदस्यहरूमध्ये उनी पनि एक थिए ।
सन् १९५६ मा उनको गतिविधिकै कारण फ्रान्सेलीहरूबाट उनी पक्राउ परे तथा १९६२ मा मात्रै रिहा भए । कारागारमै उनी अल्जेरियाको अन्तरिम सरकरका उपप्रधानमन्त्री निर्वाचित भए । मिश्रमा त्यसबेला अब्दुल नासेर सत्तामा थिए र उनले अन्य अफ्रिकी देशहरूको स्वतन्त्रता र मुक्तिको निम्त समर्थन र सहयोग गर्थे । त्यस अर्थमा बेन बेल्लालाई पनि ‘नासिरवादी’ भनिन्थ्यो । सानैदेखि उनले फान्सेली भाषामा लेखपढ गरेका हुनाले अरबी भाषामा दख्खल थिएन ।
भनिन्छ, मिश्रमै उनले अरबी भाषा सिकेका थिए । नासेर १९५४–५६ मा मिश्रका प्रधानमन्त्री तथा १९५६–७० सम्मका राष्ट्रपति थिए । १९५६ मा उनले बेलायती साम्राज्यवादले पहिले बनाएको स्वेज नहरलाई राष्ट्रियकरण गरे। बेलायत, फ्रान्स र इजरायलले मिश्रमाथि आक्रामक युद्ध छेडेको थियो । त्यस युद्धमा उनी नासेरका समर्थक थिए । अल्जेरियाली राष्ट्रिय मुक्तिको नेतृत्वमा फ्रान्सेली उपनिवेशवादको विरोधमा १९५४ देखि सशस्त्र संघर्ष सुरु भयो ।
लाठी, भाला, घरेलु बम र अन्य हातहतियार लिएर सारा अल्जेरियाली जनता उठे। अल्जेरियाली जनताको त्यो विद्रोह र मुक्ति संघर्षलाई दबाउन पाँच लाख फ्रान्सेली सिपाहीको सेना अल्जेरिया पठायो । त्यस संघर्षमा उपनिवेशवादी सेनाले बम खसालेर वा बस्तीमा आगो लगाएर ३० लाख जनतालाई घरबारविहीन तुल्याएको थियो। सन् १९६२ सम्मको त्यो लडाइँमा झन्डै दश लाख अल्जेरियलीहरू अर्थात् १५ प्रतिशत जनता मारिएक थिए । २० सेप्टेम्बर १९६२ मा बेन बेल्ला प्रधानमन्त्री निर्वाचित भए तथा २९ सेप्टेम्बर १९६२ कै दिन सं.रा.अमेरिकाले मान्यता दियो। ८ अक्टोबर १९६२ को दिन संयुक्त राष्ट्र संघले अल्जेरियालाई १०९ औं राज्यको रुपमा स्वीका¥यो । अल्जेरियाको मुक्तिपछि राष्ट्रिय मुक्ति मोर्चाको नेता तथा प्रधानमन्त्री बेनियोकेफ बेनखेड्डासँग बेन बेल्लाको धेरै विषयमा मतभेद देखियो। तर जनताको समर्थन बेन बेल्लातिर थियो। १९६२ मा बेन बेल्ला पहिलो राष्ट्रपतिमा चुनिए । उनमा समाजवादी सहित्यको प्रभाव थियो ।
त्यसकारण उनी सत्तामा आउनासाथै भूमि सुधारको योजना अगाडि ल्याए, भूमिहीनहरूको हितको निम्ति नीति अगाडि सारे तथा फ्रान्सेली उपनिवेशवादीहरूले कब्जा गरेका भूमिलाई किसानहरूमा वितरण गरेपछि सहकारी जस्तो आफैंले बन्दोबस्त गर्ने व्यवस्था गरे । उनको राष्ट्रिय मोर्चाका सेना, भूतपूर्व गुरिल्ला, सरकारमा सामेल अनेक गुट र उपगुट तथा कर्मचारीतन्त्रको बीचमा अनेक मतभिन्नताहरू देखाप¥यो । उनका प्रगतिशील पइलाहरूका कारण अल्जेरियाका प्रतिगामीहरू र साम्राज्यवादी र उपनिवेशवादी तत्वहरूसँगको संघर्ष तीव्र हुँदै गयो ।
बेन बेल्ला सित्तामा पुगेपछि फ्रान्सेली उपनिवेशवादीहरूसँग भएको संघर्षमा ध्वस्त भएका र लथालिंग स्थितिमा छोडिएका अस्पतालहरू, कलकारखानाहरू र मेसिनहरूको बन्दोबस्त गर्न निर्वाचित मजदुरहरूलाई बन्दोबस्त गर्ने उपाय सुझाए । त्यस सरकारको क्युवा, प्यालेस्टाइन, प्रजातान्त्रिक गणतन्त्र कोरिया, भियतनाम जस्ता साम्राज्यवाद विरोधी देशहरूको समर्थन ग¥यो । यसरी बेन बेल्लाले क्युवा, भियतनाम, चीन र अन्य समाजवादी देशहरूले साम्राज्यवाद र पुँजीवादको जरालाई नै उखेलेर नयाँ व्यवस्था खडा गरेकोबारे आफ्नो देशलाई जानकारी दिन चाहन्थे। तर उनको सरकारमा सिद्धान्तमा अडान नराख्ने मध्यमवर्गीय बुद्धिजीवीहरूले अन्य तत्वहरूसँग मिलेर उनलाई अहंकारी, व्यक्तिवादी र लहडीजस्ता आरोप लगाउन थालियो। बेन बेल्लाले आफनो देशलाई एक प्रगतिशील र समाजवादी बाटो नजानिँदो ढंगले लैजान खोज्दा साम्राज्यवादीहरू र आफ्नै सरकारभित्र पनि मतभेद बढ्दै गयो र १९६५ मा एक सैनिक विद्रोहद्वारा उनलाई सत्ताबाट हटाई घरमै नजरबन्दमा राखियो। होरी बोमोडिनेले उनलाई १९८० सम्म घरमै बन्दी बनायो र पछि स्वीट्जरल्यान्डमा जान दिइयो । सन् १९९० मा उनी स्वदेश फर्के ।
सन् १९५० र ६० को दशक अल्जेरिया जस्तै संसारक धेरै उपनिवेश देशहरूको स्वतन्त्रता र मुक्तिको अवधिको दशक थियो, त्यसमध्ये अल्जेरियाको ८ वर्षे सशस्त्र संघर्षले फ्रान्सेली उपनिवेशवादलाई पराजित ग¥यो र बेन बेल्लाको सरकारले ल्याटिन अमेरिका र अफ्रिकी स्वतन्त्रता आन्दोलनका लडाकुहरूलाई राजनीतिक समर्थन र सैनिक तालिम दिने अन्तर्राष्ट्रवादी ऐक्यबद्धताको प्रतीकको रुपमा आफूलाई उभ्याएको थियो। उनले अफ्रिकी अमेरिकी नेता माल्कोलन एक्सलाई आफ्नो सरकारमा सामेल हुन निमन्त्रणा गरेका थिए । बेन बेल्लाको भूमिका अखिल अफ्रिकी र असंलग्न आन्दोलनको एक नेताका रुपमा चर्चित थियो ।
समाजवादी देशहरूसँग काम गर्दा उनले संघर्षरत उपनिवेशवादबाट मुक्त सरकारहरूलाई गरिने योगदानबारे प्रत्यक्ष र अप्रत्यक्ष रुपले बुझ्ने व्यक्तिको रुपमा देखा परेका थिए । तर उनले अफ्रिकामा समाजवाद कार्यान्वयन गर्ने र पूँजीवादी अर्थव्यवस्थालाई फाल्ने काम भने गर्न सकेनन् किनभने त्यो लामो प्रक्रियाबाट मात्र सम्भव थियो। सन् २००६ मा अल्जेरियाली पूर्व नेता बेन बेल्लाले लेखक सिल्भिया क्याटोरीलाई अन्तर्राष्ट्रिय दृष्टिकोणबारे एक अन्तर्वार्ता दिएका थिए । त्यसमा उनले तत्कालीन समसामयिक विकासबारे पनि आफ्नो दृष्टिकोण अघि सारेका थिए । अन्तर्वार्ताका केही अंश यस प्रकारको छ– ‘ट्युनिसिया, मोरक्को, भियतनाम, अल्जेरिया त्यसबेला स्वतन्त्रता संग्रामको स्रष्टाजस्तै थियो र तिनीहरूको समर्थन गर्नु एक पवित्र कार्य थियो। कोही आएर मद्दत माग्दा हामीले त्यसलाई पवित्र कुरा सम्झन्थ्यौं । हामीले तिनीहरूलाई सानो भए पनि सहयोग गथ्र्यांै चाहे त्यो हतियारको सहयोग होस्, अलिकति पैसाको होस् र अवसर अनुसार मानवीय शक्तिको पनि सहयोग गथ्र्यौं । चे ग्वे भारा त्यसबेला अल्जेरिया कोकोसँग आएका थिए ? दक्षिण अमेरिकामा लड्ने सबै लडाकुहरू अल्जेरिया आउँथे, तिनीहरूलाई हामी तालिम दिन्थ्यौं, हातहतियारको बन्दोबस्त गथ्र्यौं, पठाउँथ्यौं र सबै आवतजावतको बन्दोबस्त गथ्र्यौं ।
मण्डेला, अभिलियर काब्राल पनि अल्जेरिय आएका थिए, तिनीहरूलाई मैले प्रशिक्षित गरेको थिएँ, अनि तिनीहरू आफ्ना देशको स्वतन्त्रताको निम्ति संघर्ष गर्न फर्के । ‘म माक्र्सवादी होइन तर म आफूलाई पूरै वामपक्षमा राख्छु । म एक मुसलमान अरबी हुँ । मेरो विश्वासअनुसार मेरा कार्यहरू धेरै वामपन्थी हो । यसकारण म माक्र्सवादी सिद्धान्तसँग एकाकार नभए पनि म आफूलाई उपनिवेशवादी र साम्राज्यवाद विरोधी संघर्षको नेतृत्व गर्ने क्युवा, चीन प्रजग कोरिया जस्ता संसारका समाजवादी देशहरू र संसारका सबै वामपन्थी आन्दोलनको पक्षमा पाउँछु । यसकारण उपनिवेशवादबाट मुक्त हुन र राष्ट्रिय आन्तरिक सरकार स्थापना गर्न तिनीहरूसँग हाम्रो एउटा मुक्ति मोर्चा स्थापना गथ्र्यौं र सेनालाई आवश्यक सामग्रीको निम्ति सहयोग गथ्र्यौं ।’ तत्कालीन परिस्थितिबारे उनले भने– ‘म आफूलाई एक दक्षिणको मानिसको रुपमा लिन्छु र उत्तरमा अहिले केही परिवर्तन भएको छ । युवाहरू ‘अति’ भएको मान्छन्। विकृत विश्व व्यवस्थाबाट दक्षिण मात्रै होइन, उत्तरमा समेत प्रहार हुँदैछ । हामी पहिले दुःखकष्ट र दरिद्रता दक्षिणमा मात्र भएको मान्थ्यौं ।
अहिले उत्तरमा पनि गरिबी छ । यसले भन्छ– वर्तमान विश्व व्यवस्थाले कसैलाई पनि राम्रो गर्दैन, बरु यसले अरबपति कम्पनीहरूलाई मात्रै सेवा गर्छ । उत्तरभित्री भित्री गहिराइमा अहिले एक आन्दोलन चालू छ, त्यहाँका नयाँ पुस्ता विरोध गर्न र संघर्ष गर्न सडकमा आउँदैछन् । ११ अप्रिल २०१२ को दिन अल्जेरियाली राष्ट्रपति र अरब राष्ट्रवादका एक महान क्रान्तिकारी व्यक्तित्वको रुपमा अल्जेरियाको आफ्नै घरमा उनी बिते । १२ अप्रिलको दिन उनको शवलाई श्रद्धाञ्जलीको निम्ति राखियो भने १३ अप्रिलको दिन उनको अन्तिम संस्कार गरियो र ८ दिनको राष्ट्रिय शोकको घोषणा गरिएको थियो । ०००
0 comment