विष्णु भट्टराई
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले नेपाली कांग्रेससँग गरेको समझदारी अनुसार अबको एघार महिनामा सत्ताको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । कांग्रेस सभापति सेर बहादुर देउवा छैटौ पटक प्रधानमन्त्री बन्न खुट्टा उचालि रहेका छन । कांग्रेस संसदीय दलका नेता देउवा नै भएकाले नेपाली कांग्रेसबाट प्रधानमन्त्री बन्ने उनै हुन । संसदीय दलको नेता नभई प्रधानमन्त्री बन्न नपाइने कांग्रेस विधानमै उल्लेख छ । देउवालई संसदीय दलको नेताबाट हटाउने ल्याकत शेखर गगन समुहसँग अहिले छैन । त्यसैले कांग्रेसका तर्फबाट देउवा नै निर्विकल्प मानिएका हुन ।
नेपाली राजनीतिका प्रखर खेलाडी देउवाले दुई वर्ष सत्ताको नेतृत्व गर्ने भनिदैछ । बाँकी एक वर्ष एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले गर्ने गठबन्धन समझदारी भएको कुरा कसैबाट छिपेको छैन । राष्ट्रिय पाटी बन्न समेत नसकेको एकिकृत समाजवादीले सत्ताको नेतृत्व गर्ने भनेर परोक्ष रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल प्रति कटाक्ष गरिसकेका छन । ओली जसरी पनि वर्तमान गठबन्धन भत्काउने प्रयास मै रहेका छन । उनको यो प्रयासले अहिलेसम्म सफलता पाउन सकेको छैन । तर उनी हार मान्नेवाला छैनन र थकित पनि देखिदैनन । देउवा र प्रचन्डकाबीच कोशी प्रदेशमा राष्ट्रिसभामा माओवादी उम्मेदवारको पराजयसँगै बढेको मनमुटावको भरपुर उपयोग गर्ने रणनीतिमा देखिदै आएका ओली राष्ट्रिय सभा अध्यक्षको निर्वाचनसम्म आइपुग्दा गठबन्धन तोड्ने कसरतमा देखिएका छन ।
मोहन बहादुर बस्नेत, ज्ञानेन्द्र बहादुर कार्की लगायतका कांग्रेस मन्त्रीहरु भ्रष्ट्रचारमा डामिदासमेत देउवा उनीहरुको बचाउमै छन । भ्रष्ट्रहरु नै प्रधानमन्त्रीको सारथी भएपछि देशमा सुशासन कसरी कायम हुन्छ ? अहिले राष्ट्रिय सभाध्यक्षमा माओवादीले दावी गरेपछि देउवा लत्रिन पुगेका छन ।
राष्ट्रिसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल भएका नाताले माओवादी केन्द्रले अध्यक्षमा दावी प्रस्तुत गर्नु अस्वभाविक होइन । सत्ता हस्तान्तरणपछि माओवादीको संवैधानिक निकायमा उपस्थिती लगभग शुन्य हुन्छ । कांग्रेसको प्रधानमन्त्री संसदको सभामुखमा एमाले अनि राष्ट्रिय सभा अध्यक्षमा पनि कांग्रेस नै भएपछि शक्ती सन्तुलनमा माओवादी केन्द्र कम्जोर हुने कुरा माओवादी पार्टीभित्रै एक खेमाले उठाइरहेका छन । यसकारण पनि माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष छोड्नु हुन्न भन्ने राजनैतिक विश्लेषकहरुको मत रहेको पाइन्छ ।
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा प्रस्ताव गरेको कृष्ण सिटौलाको नामप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छैन । पूर्व समझदारीमै सिटौलालाई राष्ट्रिय सभामा ल्याइएको कांग्रेसमा कतिपय नेताहरुको भनाई आइरहेको छ भने यस भनाईलाई प्रधानमन्त्री पुष्प कमल दहाल प्रचन्डले खन्डन गरिसकेका छन । त्यस्तो कुुनै सहमति समझदारी नभएको जानकारी प्रचन्डले आफ्नो पाटी पंक्तीलाई जानकारी गराइसकेका छन । कांग्रेसबाट राष्ट्रिय सभा अध्यक्षमा प्रस्तावित कृष्ण सिटौला जनताबाट तिरस्कृत, बहिस्कृत र निषेधित राजनीतिक पात्र हुन । सिटौलामा अलिकति पनि नैतिकता भएको भए उम्मेदवार बन्ने नै थिएनन । निर्वाचनमा पराजित उम्मेदवार सिटौला सुडान घोटला काण्डमा नाइके पनि हुन भन्दा फरक पर्दैन । उनी गृहमन्त्री हुँदा अरबौंको सुडान घोटला कान्ड मच्चाएका हुनाले नेपालको अन्तर्राष्ट्रिय बेज्जतसमेत भएको कुरा ताजै छ । जेलको हावा खुवाउनु पर्ने सिटौलाई राष्ट्रिय सभा अध्यक्ष बनाउनु नेपाली राजनीतिको कुरुप तस्वीर हो । यस घटनाले नैतिकताको खडेरी लागिरहेको नेपाली राजनीतिको अवस्था झनै कम्जोर हुने कुरामा कुनै दुविधा नै छैन । त्यसैले राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले नै दावी गर्नुपर्छ भन्ने हो । पदको दुरुपयोग गरी राष्ट्र बेज्जत हुनेगरी घोटला काण्ड मच्चाउने सिटौलालाई राजनीतिको बैतरनी तार्ने कसरतमा नेतृत्व पंक्तीनै तल्लीन भएर लाग्नु शोभनीय विषय हैन । जनस्तरमा विश्वासको वातावरण खस्कदै गएको नेपाली राजनीतिले यस्ता गलत प्रवृत्तिलाई समाप्त गरी अगाडी नगएमा राजनीतिप्रति विश्वास टिकाउन निकै सकस पर्नेछ ।
0 comment