परीक्षा कोइराला,

विश्वमा महिलाहरुले पितृ सत्ताको अहंकार विरुद्ध लडिरहेको लामो समय वितिसके पनि अझै महिला दोस्रो नगरिक रुपमा विश्वको धेरै मुलुकमा छन्  (अझ विकसित देशमा पनि छन्। महिलाहरु एकाइसौ शताब्दीमा पनि पितृ सत्ताको थिचोमिचोमा हेपिन बाध्य छन्।

आज प्रत्येक वर्ष विश्वमा नारी दिवस मनाइदै गर्दा के महिलाको जीवन सुधार भएको भन्ने प्रस्न उठ्छ। नारी स्वयंले  आफ्नो हक , अधिकार अस्तित्वको लागि अनवरत रुपमा घरपरिवार, समाज, राष्ट्र सँग लड्नै पर्छ , आन्दोलन गर्ने पर्छ भन्ने आजको विषय हो। तर नारी विग्रह चाहदैनन् , चाहन्छन् सिर्जना। ध्वंश उनीहरुको  स्वभाव , प्रकृति होइन। यस अर्थमा नारी आफै जागरण हुनुपर्छ नै ,यसमा पुरुषको पनि सहयोग आवश्यक छदैछ। आखिर नारी पुरुष एक रथका दुई पांग्रा हुन्। एक सन्तानका मिलिमिली उत्पादक।

प्रकृतिले नै नारीलाई सृष्टिकर्ता पुरुषलाई परिवारको लालनकर्ताको जिम्मा दिएको छ। महिला पुरुष सरह हुनुपर्छ भन्ने छैन तर घर परिवार समाजले महिलाले निभाउने जम्मेवारी भूमिकाको कदर गर्नु आवश्यक छ। एकाइसौ शताब्दीको अवस्थामा पनि नारी माथि शोषण विभेदपूर्ण छ। समाज  महिला भएकै कारणबाट गरिने  विभेदबाट नउठेसम्म परिवर्तन सम्भव छैन।

महिलाले आफु हुनुमा गौरव गर्नुपर्छ आफ्नो भावनाको कदर गर्नुपर्छ। महिलाले आफ्नो जागरणका लागि शारीरिक , मानसिक ,भावनात्मक ,आर्थिक , सिपमुलक तालिमका अवसरलाई प्राथमिकता दिनु जरुरी हुन्छ। महिलाले परनिर्भरताबाट उठेर हरेक पक्षबाट आर्थिक , शिक्षा ,रोजगारीमा आत्मनिर्भर हुनु जरुरी छ। आफुले आफ्ना कुरामा निर्णय लिन सक्नुका साथै आफुले आफैलाई बुझ्नु जरुरी छ। महिलाले मातृत्वको अधिकार समेत सुनिश्चित गर्न पाउनु पर्छ।

संविधानले समानुपातिक आधारमा राज्यका सबै निकायमा महिला सहभागिता सुनिश्चित गर्ने उल्लेख गरेको तर , यसको कार्यान्वयन नहुनु बिडम्बना हो। महिलालाई ३३ प्रतिशित आरक्षण राज्यले प्रदान गरे पनि कम मात्रले यस अधिकारको उपभोग गर्न पाएका छन्। वि  २०७८ को जनगणनामा महिलाको पुरुषभन्दा धेरै जनसंख्या भएता पनि माथिल्ला, नेतृत्व तहमा अधिकांश पुरुषले ओगटेका छन् महिला सहायक पदमा छन्, जुन न्यायपूर्ण छैन। नारी आधा आकाश मात्र होइन , सम्पूर्ण आकाश हो ।

यस सन्दर्भमा हालसाल महिलाहरुले आफ्नो हक अधिकारको लागि संघर्ष गर्दा गर्दै एकल महिलाको बच्चाले नागरिकता पाउने भएको छ। यो एक महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ तर यतिमा नै सन्तोष गर्ने पर्याप्त ठाउँ छैन ।