आज राष्ट्रिय बाल दिवस नेपाल सरकारले विभिन्न कार्यक्रम गरी दिवस बनाइरहेको छ । बालापनको रक्षा ः भविश्यको सुरक्षा भन्ने नाराले बालबालिकाको सुरक्षालाई सामुहिक दायित्वको रुपमा चित्रण गरेको छ । आजको दिनमा बाल दिवसको रौनक चलिरहेका बेला एउटा प्रश्न मनमा लुटपुटिएको छ । केही समय अगाडी बलत्कार गरी हत्या गरिएकी बालिका गरिमा चौधरीको घटनाको ।
तीन वर्ष–यो उमेरमा एउटा बच्चाले अपराध बुझ्दैन, हिंसा बुझ्दैन, संसारलाई शंकाको आँखाले हेर्दैन । उसले त केवल माया, विश्वास र संरक्षण खोज्छ । तर त्यही विश्वासमाथि कसैले निर्ममतापूर्वक प्रहार ग¥यो । आज प्रश्न केवल “गरिमाको हत्या कसले ग¥यो ?” भन्ने होइन । आज प्रश्न अझ ठूलो छ–“गरिमालाई जोगाउन हामी कहाँ थियै ँ?”
हामी अपराध भएपछि जाग्छौँ । घटना हुन्छ, आक्रोश पैदा हुन्छ, सामाजिक सञ्जालमा पोस्ट हुन्छन्, सडकमा नाराबाजी हुन्छ, दोषीलाई कडा सजायको माग उठ्छ, नेताहरू वक्तव्य दिन्छन् र अधिकारीहरू छानबिनको आश्वासन दिन्छन ्। तर केही दिनपछि हामी फेरि आफ्नै जीवनमा फर्किन्छौँ। समाचारको शीर्षक फेरिन्छ र घटना बिस्तारै हराउँछ । तर एउटा परिवारका लागि त्यो दिन कहिल्यै सकिँदैन। आमाको काख सधैँ रित्तो रहन्छ, बाबुको आँखाबाट आँसु सधैँ झरिरहन्छ । त्यसैले गरिमाको मृत्यु एउटा समाचार मात्र होइन, यो एउटा चेतावनी हो–हाम्रो समाज, हाम्रो राज्य र हाम्रो बाल संरक्षण प्रणालीका लागि ।
एउटा बालबालिका हराउनु सामान्य घटना होइन । त्यो क्षणदेखि हरेक मिनेट महत्वपूर्ण हुन्छ । हरेक मिनेटले जीवन र मृत्युबीचको दूरी बदल्न सक्छ । त्यसैले बालबालिका हराएको सूचना पाएपछि परिवार, समुदाय, प्रहरी, स्थानीय सरकार र सम्बन्धित निकायबीच तत्काल र प्रभावकारी समन्वय हुनुपर्छ । तर हामीले बारम्बार देखिरहेका छौँ–बालबालिका हराएपछि परिवार आफैँ दौडिन्छ, आफैँ खोज्छ र आफैँ गुहार माग्छ । प्रश्न उठ्छ–बाल संरक्षणका लागि बनाइएका संरचनाहरू कहाँ छौं ? कागजमा समिति बनाएर मात्र बालबालिका सुरक्षित हुँदैनन ्। बाल संरक्षणको अर्थ बैठक, प्रतिवेदन र हस्ताक्षर बालमैत्री घोषणा मात्र होइन । बाल संरक्षण भनेको संकटको क्षणमा तत्काल काम गर्ने, बालबालिकाको जीवनलाई पहिलो प्राथमिकता दिने र जवाफदेही भएर अघि बढ्ने प्रणाली हो ।
बलात्कार र हत्या गर्ने व्यक्ति अपराधी हो र उसले कानुनअनुसार कठोर सजाय पाउनुपर्छ । तर समाजले अर्को प्रश्न पनि सोध्नुपर्छ–हामीले यस्तो अपराध हुन नदिन के गरिरहेका छौँ? के बालबालिकालाई सुरक्षित र असुरक्षित व्यवहारबारे पर्याप्त जानकारी दिइएको छ? के अभिभावकलाई जोखिमका संकेत पहिचान गर्न सिकाइएको छ? के विद्यालयमा बाल सुरक्षा नीति प्रभावकारी रूपमा लागू भएको छ? के स्थानीय तहमा बाल संरक्षण संयन्त्र सक्रिय छन्? के समुदायले शंकास्पद व्यवहार देख्दा कहाँ र कसरी जानकारी गराउने भन्ने जान्दछ? के बालबालिका हराउँदा तत्काल प्रतिक्रिया दिने पर्याप्त संयन्त्र छन्? यदि यी प्रश्नहरूको उत्तर कमजोर छ भने हामीले स्वीकार गर्नैपर्छ–हाम्रो प्रणाली अपराध भएपछि न्याय खोज्न सक्रिय छ, तर अपराध हुनुअघि बालबालिका जोगाउन अझै पर्याप्त सक्रिय छैन ।
हामी बालबालिकालाई भन्छौँ–अपरिचित व्यक्तिसँग नजानू, एक्लै बाहिर नजानू, कसैले गलत तरिकाले छोयो भने भन्नू, खतरा महसुस भयो भने भाग्नू। यी कुरा सिकाउनु आवश्यक छ । तर एउटा प्रश्न पनि सोधौँ–तीन वर्षको बच्चाले आफ्नो सुरक्षा आफैँ कसरी सुनिश्चित गर्न सक्छ? उसको सुरक्षा गर्ने जिम्मेवारी कसको हो? उत्तर स्पष्ट छ–वयस्कहरूको, परिवारको, समुदायको, संस्थाहरूको र राज्यको । बालबालिकालाई खतरा चिन्न सिकाउनु राम्रो हो, तर बालबालिकामाथि हुने हिंसा रोक्ने सम्पूर्ण जिम्मेवारी बालबालिकाकै काँधमा हाल्नु अन्याय हो । हामीले छोरीलाई डराएर होइन, समाजलाई जिम्मेवार बनाएर सुरक्षित बनाउनुपर्छ ।
हामी छोरीलाई भन्छौँ–सावधान रहनू । तर छोरालाई के भन्छौँ? के उसलाई अरूको शरीर, व्यक्तिगत सीमा र सम्मानको अर्थ सिकाउँछौँ? के उसलाई “नाइँ” को अर्थ बुझाउँछौँ? के उसलाई शक्ति भनेको अरूमाथि नियन्त्रण होइन भन्ने सिकाउँछौँ? के महिलालाई सम्मान गर्नु केवल संस्कार होइन, आधारभूत मानव अधिकार हो भन्ने बुझाउँछौँ? बाल यौन हिंसा रोक्ने अभियान केवल बालिकालाई सावधान गराउने अभियान हुनु हुँदैन । यो सम्पूर्ण समाजलाई जिम्मेवार, संवेदनशील र जवाफदेही बनाउने अभियान हुनुपर्छ ।
गरिमाको परिवारले आफ्नो छोरी गुमाएको छ । तर समाजले पनि केही गुमाएको छ–एउटा निर्दोष बाल्यकाल, एउटा सम्भावना, एउटा भविष्य र एउटा सपना। गरिमा ठूलो भएर के बन्ने थिइन्, हामीलाई थाहा छैन। सायद शिक्षिका, सायद डाक्टर, सायद कलाकार, सायद समाजसेवी, वा सायद आफ्नै सपना पछ्याउँदै एउटा खुसी जीवन बिताउने व्यक्ति । तर ती सबै सम्भावनाहरू अब समाप्त भएका छन्। अपराधीले एउटा जीवन मात्र खोसेन–एउटा सम्भावित भविष्य खोस्यो ।
आज हामी सामाजिक सञ्जालमा लेखिरहेका छौँ। भोलि अर्को घटना आउन सक्छ र त्यसपछि हामी फेरि लेखौँला । तर कहिलेसम्म? कहिलेसम्म बालबालिका हराउने? कहिलेसम्म बलात्कार हुने? कहिलेसम्म हत्या हुने? कहिलेसम्म घटना भएपछि मात्र सरकार र राज्यका संयन्त्रहरू जाग्ने? कहिलेसम्म पीडित परिवारले न्यायका लागि सडकमा आउनुपर्ने? र कहिलेसम्म हामी अपराध भएपछि मात्र बाल संरक्षण सम्झिने? अब उत्तर भाषणले होइन, कामले दिनुपर्छ । स्थानीय तहमा प्रभावकारी बाल संरक्षण संयन्त्र चाहिन्छ । विद्यालयमा सुरक्षित वातावरण चाहिन्छ । समुदायमा सचेत र जिम्मेवार नागरिक चाहिन्छ । बालबालिका हराउँदा तत्काल प्रतिक्रिया दिने प्रणाली चाहिन्छ । पीडित परिवारका लागि मनोसामाजिक, कानुनी र सामाजिक सहयोग चाहिन्छ । र अपराधीलाई प्रमाण र कानुनका आधारमा निष्पक्ष तर कठोर कारबाही सुनिश्चित हुनुपर्छ ।
गरिमाको घटनाले हामीलाई हाम्रो समाजको अनुहार देखाएको छ । त्यो अनुहारमा एउटा कठोर प्रश्न छ–के हामी साँच्चै सभ्य समाजमा छौं ? यदि एउटा तीन वर्षीया बालिका सुरक्षित छैनन् भने हाम्रो विकासको अर्थ के? ठूला भवन भएर के भयो? चिल्ला सडक भएर के भयो? डिजिटल नेपाल भएर के भयो? यदि एउटा बालिकाले आफ्नो समुदायमा सुरक्षित भएर बाँच्न सक्दिनन भने हामीले अझै धेरै कुरा सिक्न बाँकी छ । समाजको विकासको वास्तविक मापन प्रविधि, सडक र भवनले मात्र हुँदैन । समाजले आफ्ना सबैभन्दा कमजोर नागरिकलाई कति सुरक्षित राख्छ, त्यसले पनि समाजको सभ्यता मापन गर्छ ।
गरिमालाई हामी फर्काउन सक्दैनौँ। उनको परिवारको पीडा मेटाउन सक्दैनौँ । तर उनको नामलाई अर्थहीन बन्न दिनु हुँदैन। उनको मृत्यु अर्को समाचार बनेर हराउन दिनु हुँदैन । उनको नामले हाम्रो बाल संरक्षण प्रणालीलाई बलियो बनाउनुपर्छ । उनको नामले हाम्रो मौनता तोड्नुपर्छ । उनको नामले हाम्रो जिम्मेवारी सम्झाउनुपर्छ । र उनको नामले एउटा यस्तो नेपाल निर्माण गर्ने संकल्प जन्माउनुपर्छ, जहाँ बालबालिका घरबाट बाहिर निस्कँदा आमाबाबुको मन डरले काँप्नु नपरोस्, जहाँ बालिका हुनु जोखिम नबनोस्, जहाँ बालबालिकाको आवाजलाई गम्भीरतापूर्वक सुनियोस्, जहाँ अपराधीले कानुनको डर महसुस गरोस् र जहाँ पीडितले न्यायका लागि वर्षौँ कुर्नु नपरोस ्।
गरिमा न्यायकी हकदार थिइन् । हरेक बालबालिका सुरक्षित बाल्यकालका हकदार छन् । त्यसैले आज हाम्रो आवाज केवल “गरिमाका हत्यारालाई कारबाही गर” भन्ने मागमा सीमित हुनु हुँदैन । हाम्रो आवाज अझ ठूलो हुनुपर्छ–हरेक बालबालिकालाई सुरक्षित गर । बाल संरक्षण प्रणालीलाई बलियो बनाऊ । लापरवाहीमा जवाफदेहिता कायम गर ।



0 comment