“फोहरमैला” भन्नाले घरेलु फोहरमैला, औद्योगिक फोहरमैला, रासायनिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला वा हानिकारक फोहरमैला सम्झनु पर्छ र सो शब्दले तत्काल प्रयोग हुन  नसक्ने अवस्थामा रहेका, फालिएका वा सडेगलेका का, वातावरणमा ह्रास आउने गरी निष्काशन गरिएका ठोस, तरल, ग्यास, लेदो, धुवाँ , धुलो, विद्युतीय तथा सूचना प्रविधिका लागि प्रयोग भएका सामाग्रीहरु लगायतका पदार्थ वा त्यस्तै प्रकारका अन्य वस्तुहरु वा अनधिकृत रुपमा सार्वजनिक स्थलमा टाँसिएका मा पोष्टर, पम्पलेट र नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी फोहरमैला भनी तोकिदिएको अन्य वस्तु समेतलाई जनाउनेछ भनी फोहमैला व्यवस्थापन ऐनले परिभाषित गरेको छ । फोहरमैला वातावरणीय दुष्प्रभाव मध्ये एक हो ।  हाल काठमाडौं उपत्यका र अन्य ठूला सहरहरूमा फोहोरको मात्रा दिन–प्रतिदिन बढ्दै गइरहेको छ । एक अध्ययन अनुसार काठमाण्डौ उपत्यकामा दैनिक १ हजार टन फोहरमैला उत्पादन हुने तर तर त्यसको आधा मात्र उपयुक्त व्यवस्थापनका लागि संकलन हुने गरेको छ । वाँकी फोहर नदी नाला तथा अन्य सार्वजनिक स्थलमा रहने गरको छ । 

हाम्रा शहरहरूवाट उत्पति हुने फोहरहरू अन्य विकशित मुलुकहरूको तुलनामा कम जटिल प्रकृतिको मानिन्छ । यहाँ जम्मा हुने फोहोरहरूमा तरकारी केलाउँदा निस्किने फोहोर, प्लाष्टिकका झोला, कार्टुन, कागज, माटाका फुटेका भाँडाहरू, कपडा, टुक्राटुक्री सिसाहरू, करेसाबारीका झारपात र पुराना जुत्ता चप्पलहरू र अधिक मात्रामा मानिसले उपयोगमा ल्याउने सामानहरू रहेका छन् । यी   फोहरमैलाहरूलाई  जलनशील, अजलनशील,पुनः प्रशोधनयुक्त, प्लाष्टिकका ठूला भाडा र सामान, खतराजन्य, स्रोतयोग्य फोहर, ओजनदार फोहर,मेसिनरी सामान र खाद्यपदार्थ  गरी विभिन्न भागमा विभक्त गर्न सकिन्छ ।  एक अध्ययन अनुसार काठमाण्डौको फोहरमा जैविक ६७ं.५ प्रतिशत, कागज ८.८ प्रतिशत, प्लाष्टिक ११.४ प्रतिशत, धूलो र निर्माण सामाग्री ५.३ प्रतिशत, टेक्सटायल तथा गार्मेन्ट ३.६ प्रतिशत र अन्य ३.४ प्रतिशत रहेको पाईन्छ । त्यसैले काठमाण्डौ उपत्यकाको फोहरको प्रकृतिलाई हेर्दा ७०% organic फोहर भएकाले फोहोरहरूलाई श्रोतमानै वर्गिकरण गरी राम्रो ध्यान दिएर कम्पोष्ट मल बनाउने प्रविधिलाई बढि प्रभावकारी र व्यावहारिक बनाउने हो भने ३०% फोहरलाई मात्र व्यवस्था गर्नुपर्ने देखिन्छ । त्यसैले घरघरमा नै फोहरमैलालाई अलग (segregation) गर्ने कुरालाई बढी जोड दिनेतर्फ ध्यान जानु आवश्यक छ । यससँग सरोकार निकाय र पक्षहरूले कभनचभनबतष्यल को पक्षमा ध्यान दिएमा फोहरमैला व्यवस्थापनमा प्रभावकारिता आउने देखिन्छ । फोहोरहरूलाई उत्पति स्थलमानै वर्गिकरण गरी पुन प्रयोग र पुनचक्रिय प्रयोग गर्ने मात्र हो भने पनि फोहरमैला व्यवस्थापनको कार्य धेरै सहज हुन जान्छ ।

सेवा, सुविधा र अवसरहरुको खोजी तथा शहरी क्षेत्रमा उपलब्ध शिक्षा र रोजगारीको अवसरको कारण  ग्रामिण क्षेत्रवाट शहरी क्षेत्रमा मानिस ओईरिने प्रवृति नै शहरीकरण हो भन्न सकिन्छ ।  भौतिक पूर्वाधार विना अव्यवस्थित अन्धधुन्ध रुपमा यसरी प्रत्येक वर्ष शहरी क्षेत्रमा थपिने यो जनसंख्याले निम्त्याएका विभिन्न सम्स्याहरुमध्ये एक वातावरणीय सम्स्या हो –फोहरमैला ।  नेपालमा शहरीकरणको वार्षिक वृद्धिदर १७ प्रतिशतको हाराहारीमा रहेको पाईएको छ । एक अध्ययन अनुसार प्रत्येक वर्ष काठमाण्डौंमा मात्र ६ हजारको संख्यामा नयां घरहरू थपिने गरेका छन् । थपिएका यी घरहरूले काठमाण्डौं उपत्यका भित्रका अत्यन्त उर्वर भूमि नष्ट गरेका छन । यही ढंगले उपत्यकामा नयां घरहरू निर्माण हुदै जाने र यहांको उर्वर भूमि यवं हरियाली नष्ट भईरहने  तर, सरकार यवं निजी क्षेत्रले यसको संरक्षण यवं संवद्धनमा चासो यवं सरोकार नदेखाउने हो भने यसले गंभिर वातावरणीय दुष्प्रभाव ल्याउने निश्चित देखिन्छ ।अव्यवस्थित शहरीकरणका कारण हालसम्म काठमाण्डौं उपत्यकामा मात्र ८० हजार हेक्टरको हाराहारीमा उर्वर जमिन नष्ट भै सकेको तथ्यांक छ । यो क्रम निरन्तर वढ्दो अवस्थामा छ । यसले उपत्यकाका उर्वर भूमि मात्र नष्ट गरेको छैन केवल घरै घर र सवारी साधन मात्र छिर्न सक्ने सडक  वढाएको छ । खुला जमिन र पार्कहरूको अभाव हुन गएको छ ।  

नेपालमा हाल करिव १९ प्रतिशत जनसंख्या शहरमा बसोबास गर्ने अनुमान छ । कूल शहरी जनसंख्याको ५५ प्रतिशत काठमाण्डौ उपत्यकामा र वाँकी ४५ प्रतिशत अन्य सहरमा रहेको तथ्यांक छ । यो दर प्रत्येक वर्ष वढ्दो अवस्थामा रहेको छ । मूलत अवसरको खोजी लगायतका कारणले शहरी क्षेत्रको जनसंख्या तीब्र वृद्धि हुँदै गएको अध्यायनहरुले देखाएका छन् । यसको परिणामस्वरुप शहरमा उपलब्ध सीमित सामाजिक र भौतिक पूर्वाधार सेवाहरुमा अतिरिक्त चाप पर्न गएको छ । काठमाडौ लगायत अन्य ठूला शहरहरु तथा नगरोन्मुख क्षेत्रहरुमा बढ्दै गएको जनसंख्याको चापलाई शहरी क्षेत्रको धारण क्षमता भित्र कायम राखी प्राकृतिक तथा साँस्कृतिक वातावरणमा सन्तुलन कायम गर्न सके त्यसले फोहरमैला उत्पति तथा व्यवस्थापनमा समेत अनुकुल प्रभाव पर्न जानेछ । 

फोहरमैलाको उपयुक्त व्यवस्थापन सम्बन्धी कार्यलाई कुनै एक पक्षको एकल प्रयासले मात्र प्रभावकारी बनाउन सकिदैन त्यसैले सरकार, स्थानीय निकायहरु, नागरिकहरू, निजी तथा गैर सरकारी संघ सस्थाहरु, दातृनिकायहरु,उद्यमीहरू र सरोकारवालाहरूको सक्रिय साझेदारीबाट नै यो कार्य सफल हुनसक्छ । फोहरमैला व्यवस्थापनको सन्दर्भमा तिनवटा 'R' (Reduce, Reuse & Recycle) अर्थात् घटाउने कार्य, पुनःप्रयोग र पुनः प्रशोधनलाई प्रभावकारी रूपले अवलम्वन गर्न सकिन्छ । हाम्रो सन्दर्भमा यो तौर तरिकाको प्रभावकारीरूपले अवलम्वन हुन सकेको छैन । यद्दपी अवलम्वन नै नभएको अवस्था भने हैन तर, व्यवस्थित रूपले सञ्चालन हुन सकेको पनि छैन । उपयुक्त स्वस्थकर फोहर निष्काशन स्थल (sanitary landfill site) को उपयुक्त व्यवस्था नहुनु र भएका स्थलहरुमा पनि स्थानियवासीहरुको पटकपटक अवरोध आउनुले समस्या थपिएको छ । अझ सम्म पनि नगरबाट निस्कने फोहर नदीको किनार र खुला ठाउँहरूमा विसर्जन गर्ने गरिएको छ । प्राविधिक र स्वास्थ्यको दृष्टिले यो कार्यले खतरापूर्ण अवस्था निम्त्याउन सक्ने हुनाले समयमा नै सजग हुनु आवश्यक छ । 

फोहरमैला व्यवस्थापनको सन्दर्भमा फोहरमैला अलग अलग गर्ने व्यवस्था (segregation)  महत्वपूर्ण पक्ष हो । यसलाई नै सही व्यवस्थापनको पहिलो चरण हो मान्न सकिन्छ । जवसम्म segregation को कार्य सुव्यवस्थित र प्रभावकारी ढंगले हुन सक्दैन तवसम्म फोहरमैला व्यवस्थापन कार्य सफल मान्न सकिन्न । यो कार्यको लागि नागरिकहरूलाई फोहरमैलाका दुश्परिणामहरुवारे सचेतना अभिवृद्धि गरी उनीहरुलाई  पूर्णत सजग तुल्याउनु आवश्यक छ । फलस्वरुप उत्पतिस्थलमानै फोहरमैलाको वर्गिकरण हुन गई व्यवस्थापन कार्य सहज हुन सक्छ । सचेतना अभिवृद्धिमा  स्थानिय निकायहरुका सार्थ सरोकार्वालाहरुको भूमिका महत्वपूर्ण हुन जान्छ ।हाम्रो सन्दर्भमा फोहर अलगअलग (segregation) गर्ने पक्ष नै अत्यन्तै कम्जोर छ । मूलत भान्छाबाट उत्पादन हुने फोहरले घरेलु रूपमा कम्पोष्ट मल बनाउन सकिन्छ । यसको लागि जैविक विजाणुबाट प्रभावित तरल पदार्थ त प्रयोग गरिन्छ । यो effective microorganic (EM) झोलको प्रयोग गरी EM पाउडर तयार गरेर प्रत्येक दिन भान्छाको फोहरलाई मल बनाई घरको बगैचा र फूलबारीमा प्रयोग गर्न सकिन्छ । भान्छाबाट उत्पादन हुने फोहरलाई घरघरबाट संकलन गरी कम्पोष्ट मल बनाई बिक्री गर्ने उद्योगको संभावना पनि प्रसस्त छ । 

हाल उपत्यकाका केही वडाहरूमा EM को प्रयोग गरी घरघरमा कम्पोष्ट मल बनाउने कार्य सुरु गरिएको छ । काठमाण्डौको चावहिल र मध्यपुर ठिमिका केही वडामा चेम्वर स्थापना गरी कम्पोष्ट बनाउने गरिएको छ  । यसअघि बृहदरुपमा टेकुमा जर्मन सहयोगमा कम्पोष्ट बनाउने प्रयास भएकोमा  स्थानीय वासिन्दाको विरोधको कारण बन्द हुन गयो । भक्तपुर नगरपालिकाबाट पनि कम्पोष्ट तयार गरी बिक्रीसमेत भएको छ । तर यी प्रयासहरूले व्यापकता लिन सकेको छैन । तयारी भएको कम्पोष्टमा सिसा, फलाम, जस्ता पदार्थहरूको मिश्रणले अवस्था उत्साहजनक वन्न सकेको छैन । त्यसैले फोहर उत्पादन हुने स्थान वा घरघरमा नै फोहर अलगअलग गर्ने प्रभावकारी व्यवस्था भएमा मात्र यसले व्यापकता पाउनेछ जसले फोहरबाट बनाइएको कम्पोष्टको प्रयोगमा प्रभावकारिता आई यसको माग बढ्न जानेछ जसले मुलुकले वर्षेनी रासायनिक मल आयतमा खर्चिदै आएको विदेशी मुद्राको ठूलो हिस्सालाई विस्थापित गर्न सक्दछ । 

अन्त्यमा, फोहरमैला व्यवस्थापनको कार्य कुनै एक पक्षको क्रियाशिलतामा मात्र संभव छैन । यसको लागि सरकार, स्थानिय निकाय, सरोकारवाला संघसस्था, आमनागरिक, लगायत सवै पक्षको सहयोगात्मक अवस्था जरुरी छ । फोहरमैला व्यवस्थापनका लागि एक वा दुई क्रियाकलापहरूमा मात्र केन्द्रित भएर पुग्दैन । फोहरमैला कम उत्पादन गर्ने व्यवहारदेखि त्यसको अन्तिम थान्को लगाउने (disposal) सम्ममा विविध क्रियाकलापहरूमा ध्यान दिनुपर्दछ । सकेसम्म फोहर उत्पादन हुन सक्ने उपभोग्य बस्तुको उत्पादनमा विबेकशिल हुने,सकेसम्म फोहर कम उत्पादन गर्ने, उत्पादित फोहरलाई श्रोतमानै व्यवस्थापन गरी पुनःप्रयोग र पुनःचक्रिय प्रयोग गर्ने, जैविक फोहरवाट कम्पोष्ट मल तथा वायोग्याँस उत्पादन गर्ने र वाँकी रहेको फोहरलाई वातावरण र जनस्वास्थ्यमा नकारात्मक असर नपर्ने गरी विसर्जन गर्नु आवश्यक छ ।