काठमाडौं - नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई औपचारिक निमन्त्रणा गरेको छ।
कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई महाधिवेशनमा सहभागी हुन निमन्त्रणा गरेको हो।
कांग्रेस सहमहामन्त्री उदयशमशेर राणाको नेतृत्वमा गएको टोलीले तीनै जना नेतालाई उनीहरूकै निवासमा पुगेर निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन्।
सहमहामन्त्री राणाले महाधिवेशनको उद्घाटन समारोहमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई सहभागी हुन आग्रह गरेका छन्। कांग्रेसको महाधिवेशन असोज १६ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ।
रास्वपाको केही महिनाअघि सम्पन्न महाधिवेशनमा पनि कांग्रेस सभापति गगनकुमार थापा अतिथिका रूपमा सहभागी भएर सम्बोधन गरेका थिए।
यसैबीच, कांग्रेसको संस्थापनइतर समूह पनि छुट्टै महाधिवेशनको तयारीमा जुटेको छ। पार्टीभित्रको विवादका कारण दुई पक्षले छुट्टाछुट्टै महाधिवेशन गर्ने अवस्था आए त्यसले पार्टीको औपचारिक विभाजनको अवस्था निम्त्याउन सक्ने कांग्रेस नेताहरूको चिन्ता छ।
सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनको उद्घाटन गरिदिए आफूलाई खुसी लाग्ने धारणा सार्वजनिक गर्दै आए पनि देउवा महाधिवेशनमा सहभागी हुने वा नहुने विषय भने अझै स्पष्ट भइसकेको छैन। कांग्रेसभित्रको आन्तरिक विवादले नेता तथा कार्यकर्ताहरु अलमलमा परेका छन् ।


0 comment