कहिलेकाहीँ आफ्नै छोराछोरीले सोधेको एउटा सानो प्रश्नले मानिसलाई वर्षौँ पछाडि पु¥याउँदो रहेछ । “बुबा, तपाईं सानो हुँदा के खेल्नुहुन्थ्यो ?” म केहीबेर चुप लाग्छु । उनीहरूको हातमा मोबाइल हुन्छ । आँखा अगाडि खेलको चम्किलो पर्दा हुन्छ । अनि मेरो आँखा अगाडि भने मोबाइलको पर्दा होइन, गोर्खाको एउटा गाउँ देखिन्छ धुलाम्मे बाटो, खुला चौर, साथीहरूको हाँसो, आँपको रुखमा झुन्डिएको पिङ र टाढासम्म फैलिएको पहाड । म उनीहरूलाई के भनूँ? हाम्रो बाल्यकालमा न मोबाइल थियो, न इन्टरनेट, न सामाजिक सञ्जाल । तर हामीसँग एउटा यस्तो कुरा थियो, जुन आजको व्यस्त जीवनमा बिस्तारै दुर्लभ हुँदै गएको छ—समय । त्यही समयभित्र हाम्रो आफ्नै सानो संसार थियो । र त्यो संसार आज पनि मेरो स्मृतिमा उस्तै जीवित छ ।


हाम्रो बाल्यकालका धेरै खुसी सानुभाइको घर, अर्थात् उपल्लो घरसँग जोडिएका छन् । त्यहाँ एउटा ठूलो आँपको रुख थियो । त्यही रुखमा पिङ हालिन्थ्यो । पिङ देख्नेबित्तिकै मन त्यसैमा पुग्थ्यो । कसको पालो पहिले? कसले धेरैबेर खेल्ने? कसले अझ माथिसम्म पुग्ने ? यस्तै कुरामा हाम्रो बालसुलभ प्रतिस्पर्धा चल्थ्यो । आँप पाक्ने मौसम त झन् विशेष हुन्थ्यो । रुखमुनि पुग्दा आँखा आँपमा हुन्थ्यो, मन पिङमा । आज सोच्दा लाग्छ—त्यो एउटा आँपको रुख हाम्रो लागि एउटा सानो संसार थियो । त्यसले फल दिन्थ्यो र हाम्रो बाल्यकाललाई जीवनभर नबिर्सिने एउटा सुन्दर सम्झना पनि दिएको थियो । 


बाल्यकाल सम्झँदा केही ठाउँहरू मानिसभन्दा पनि बढी आत्मीय लाग्दा रहेछन् । ढलेको बर त्यस्तै एउटा चिनिएको ठाउँ थियो । त्यहाँ रोटे पिङ हुन्थ्यो । साथीहरू जम्मा भएपछि त्यहाँको माहोल नै बदलिन्थ्यो । पिङ घुम्थ्यो, हामी घुम्थ्यौँ, हाँसो घुम्थ्यो । कसैलाई अझ छिटो घुमाउन मन लाग्थ्यो, कसैलाई डर लाग्थ्यो, कसैलाई आफ्नो पालो कहिले आउला भन्ने अधैर्य हुन्थ्यो । त्यस्तै डाँडाको चौर पनि हाम्रो बाल्यकालको प्रिय ठाउँ थियो । त्यहाँको रोटे पिङको आफ्नै आकर्षण थियो । पालो पर्खनु पनि रमाइलोको एउटा हिस्सा थियो। अरू साथीहरू खेलिरहेको हेर्दै आफ्नो पालो कुर्नु र पालो आएपछि सबैभन्दा धेरै रमाउने प्रयास गर्नु—त्यही नै हाम्रो खुसी थियो । आजका बालबालिकाका लागि मनोरञ्जनका सयौँ विकल्प छन् । हाम्रो समयमा भने एउटा रोटे पिङले नै पूरै दिन खुसी बनाउन सक्थ्यो ।
चापाभञ्ज्याङ पनि मेरो बाल्यकालको स्मृतिमा छुट्टै ठाउँ हो । त्यहाँको झण्डीबुर्जा अझै सम्झनामा छ । त्यही बाल्यकालसँग जोडिएको अर्को शब्द हो—खड्खडे खड्खडे बालबालिकाले खेल्ने सामान्य खेल थिएन । यो पैसा लगाएर जित–हार हुने खेल थियो । सहभागीहरूले पैसा राख्थे र भाग्यको भरमा जित्ने वा हार्ने गर्थे। हामी बालबालिकाको आफ्नै खेलको संसार थियो । तर गाउँमा ठूलाहरूको पनि आफ्नै संसार थियो । उनीहरूका कुरा, गतिविधि र जमघट हामी टाढाबाट देख्थ्यौँ, सुन्थ्यौँ र कहिलेकाहीँ जिज्ञासु भएर हेथ्र्यौँ । त्यसैले आज “खड्खडे” शब्द सुन्दा मलाई केवल एउटा खेल सम्झना आउँदैन । त्यससँगै पुरानो गाउँ, मानिसहरूको जमघट र त्यो समयको गाउँले जीवन आँखाअगाडि आउँछ ।


बाल्यकालको सबैभन्दा आत्मीय यात्रामध्ये एक थियो—लमजुङको मामाघर जाने यात्रा । आजको जस्तो सहज यातायात थिएन । मामाघर पुग्न लामो बाटो हिँड्नुपथ्र्यो । हिँड्दाहिँड्दै खुट्टा दुख्थे, शरीर थाक्थ्यो, कहिलेकाहीँ बाटो पनि निकै लामो लाग्थ्यो । तर मामाघर पुग्ने उत्साहले त्यो थकानलाई पछाडि पारिदिन्थ्यो । त्यो यात्रामा आउँथ्यो—चेपे नदी। नदी देखेपछि थकान केहीबेर हराएजस्तो लाग्थ्यो । चिसो पानी, ढुंगामाथि टेक्दै नदी पार गर्ने प्रयास र पारि पुगेपछि आउने सन्तोष—त्यो यात्राको छुट्टै आनन्द थियो । आज केही घण्टाको यात्रा सामान्य लाग्छ । तर हाम्रो बाल्यकालमा लामो पैदल यात्रा आफैँमा एउटा साहसिक अनुभव थियो । मामाघर पुग्दा थकित शरीरभन्दा खुसी मन पहिले घरभित्र पुग्थ्यो । सायद त्यसैले आज पनि चेपे नदी सम्झँदा मलाई केवल एउटा नदी सम्झना आउँदैन । त्यसले मामाघर जाने त्यो लामो बाटो, बाल्यकालको उत्साह र आफन्तको आत्मीयता सबै एकैपटक सम्झाइदिन्छ ।


हामीसँग धेरै कुरा थिएनन । महँगा खेलौना थिएनन् । मोबाइल थिएन । इन्टरनेट थिएन । मनोरञ्जनका लागि छुट्टै संसार खोज्नुपर्दैनथ्यो । हामीसँग गाउँ थियो । खुला चौर थियो । साथीहरू थिए । पिङ थियो । बाटो थियो ।  नदी थियो । मामाघर थियो । र हामीसँग समय थियो । त्यही समय हामीले दौडेर बितायौँ, खेलेर बितायौँ, हिँडेर बितायौँ । कहिलेकाहीँ केही नगरी बसेर पनि बितायौँ । हाम्रो खुसीका लागि धेरै कुरा आवश्यक थिएनन् । एउटा पिङ, केही साथी र खुला आकाश भए पुग्थ्यो । आज सोच्दा लाग्छ—हामीसँग कम थियो, तर समय धेरै थियो ।


जब मेरा छोराछोरीले फेरि सोध्छन्, “बुबा, तपाईंहरूको बाल्यकाल कस्तो थियो?” म उनीहरूलाई पिङको कुरा सुनाउँछु । आँपको रुखको कुरा सुनाउँछु । ढलेको बर र डाँडाको चौरको कुरा सुनाउँछु । चापाभञ्ज्याङ र झण्डीबुर्जाको कुरा सुनाउँछु । अनि लमजुङ जाने बाटो र चेपे नदीको कथा सुनाउँछु । उनीहरू ध्यान दिएर सुन्छन् । कहिलेकाहीँ फेरि प्रश्न आउँछ, “त्यतिबेला मोबाइल थिएन?” म भन्छु, “थिएन ” “इन्टरनेट?” “थिएन ” उनीहरू केहीबेर अचम्म मान्छन् । सायद उनीहरूका लागि त्यो संसार कल्पना गर्नै गाह्रो छ । तर मलाई कहिलेकाहीँ उल्टै लाग्छ—हामीसँग मोबाइल थिएन, तर हामी एकअर्कासँग धेरै नजिक थियौँ । हामीसँग संसार हेर्ने पर्दा थिएन, तर हामीले आफ्नै आँखाले संसार धेरै नजिकबाट देख्यौँ । हामीसँग खेल्न धेरै कुरा थिएनन्, तर खेल्ने ठाउँ प्रशस्त थियो । हामीसँग कुरा गर्न सामाजिक सञ्जाल थिएन, तर साथीहरू थिए । हामीसँग समय बिताउने प्रविधि थिएन, तर समय नै हाम्रो थियो ।


समय बित्दै गयो । गाउँ बदलियो । मानिसहरू बदलिँदै गए ।  बाटाहरू बदलिए । जीवनका प्राथमिकताहरू बदलिए । तर सम्झनाहरू कहाँ बदलिन्छन् र? आज पनि कहिलेकाहीँ मन चुपचाप गोर्खाको त्यही गाउँमा पुग्छ । सानुभाइको घरको आँपको रुख देख्छु । ढलेको बरको रोटे पिङ देख्छु । डाँडाको चौर सम्झन्छु । चापाभञ्ज्याङको झण्डीबुर्जा आँखाअगाडि आउँछ । “खड्खडे” शब्दसँगै पुरानो गाउँको माहोल सम्झन्छु । अनि अन्ततः पुग्छु—चेपे नदीको किनारमा । त्यहाँ पुगेपछि लाग्छ, समय यति धेरै टाढा गएको रहेनछ ।


सायद मेरो बाल्यकाल हराएको छैन । त्यो अझै त्यहीँ छ। कुनै आँपको रुखमा पिङ खेलिरहेको छ । कुनै खुला चौरमा साथीहरूसँग हाँसिरहेको छ । कुनै पुरानो बाटोमा मामाघरतिर हिँडिरहेको छ । र कतै चेपे नदीको चिसो पानीमा आफ्नै प्रतिबिम्ब हेरिरहेको छ ।
आज म बुझ्छु—बाल्यकाल एउटा उमेर मात्र होइन रहेछ । त्यो जीवनको यस्तो समय रहेछ, जहाँ थोरै कुराले धेरै खुसी दिन्थ्यो । हामी ठूला भयौँ । गाउँबाट टाढा भयौँ । जीवन व्यस्त भयो । तर मनभित्रको एउटा कुनामा त्यो बालापन  अझै बाँचेको छ ।


मेरो बाल्यकाल त्यो अझै त्यहीँ छ—जहाँ एउटा आँपको रुखमा पिङ झुन्डिएको छ, जहाँ डाँडाको चौरमा साथीहरूको हाँसो सुनिन्छ, जहाँ लामो बाटोले मामाघरतिर डो¥याउँछ, र जहाँ चेपे नदी अझै चिसो बगिरहेको छ निरन्तर ‘