– सरिता के. सी.
काठमाडौं – मुख्य कारण नेपाल पुरुष प्रधान समाज हो। त्यसकारण हामीले जानेर नजानेर जतिनै अग्रगामी, परिवर्तनगामी, महिलाको हक अधिकारको लागि लड्ने भने पनि पुरुषकै पक्षपोषण गरेका हुन्छौँ । यसो त देशको परिस्थिति अनि बदलिदो समाज सँगै समाज भित्रको मान्छे पनि बदलिनु कुनै नौलो कुरा होइन । हामीले भोगेको देखेको दुनियाँ भन्दा बाहिर पनि अर्को दुनियाँ छ भनेर सोच्नुलाई प्रगतिशील सोच मान्छु, मान्नु पर्छ । म आफै एक महिला हुँ र महिला भएर समाजमा बाँच्न कति कठीन छ त्यो मैले भोगेकोछु ।
म सोच्छु,आखिर किन ? कसरी ? र कहिले सम्म हामी दासी भएर बस्ने ? सोच्छु यहि प्रश्नले सधै लखेट्छ । आज भन्दा धेरै वर्ष अगाडी जे बी टुहुरेले एउटा गीत गाए महिला पनि उठनु पर्छ भनेर । तर यो पुरुषप्रधान समाजले न जे बी टुहुरेको आवाज सुन्यो न त उठ्न नै दियो । हामीले जे गरे पनि अर्जेलो देख्ने लाछी समाजलाई म चुनौती दिन्छु र दिने छन् आम नारीहरूले। तिमीहरु मै हु भनाउदाले अब रोक्न सक्ने छैनौ हामीलाई । अति भए पछि खती हुन्छ हुन्छ । अब समाज चलाउने ठेक्का लिएका पुरुषहरु हो सामना गर्न तयार होउ एउटा लैङ्गिक आन्दोलनको लागि । यो आन्दोलन वारपारको आन्दोलन हुनुपर्छ, हुने छ । चुलो चौको बन्द गरेर हुनु पर्छ । एक छाक पकाएर आफ्नो आन्द्रो भर्न नसक्ने यो हिजडा पुरुष समाज त्यो दिन कसरी घुडा टेक्नेछ त्यो समयले देखाउँछ ।
“आम नारीहरू अब हामी जुट्नु पर्छ र उत्रनु पर्छ । हामीमा सहास छ, धैर्यता छ र एउटा समाज परिवर्तन गर्ने अठोट छ भने हामीलाई रोक्ने कसले ? कस्ले रोक्न सक्छ ? यो समाज कहिले हाम्रो भएन । अब पनि हाम्रो बनाउन सकिएन भने निक्कै ढिला हुनेछ । पश्चिम मुलुकमा देश चलाउने ल्याकत राख्छन् महिलाहरु त हामी कहिले सम्म आफ्नो खप्पर ठोक्दै बस्ने ? नारी एक प्रकृति हुन । एक मनमोहक दष्टा हुन् । नारीलाई सम्मान गर्न नसक्ने नजान्ने घर, समाज घर होइन र समाज होइन । अह;हुँदै होइन ! जति जलिल पेस गर्नुस मान्ने वाला छैन। हुन त यो समाजमा केहि नारीहरु पनि नारीका दुस्मन नभएका होइनन् तर समग्रमा नारीलाई प्रयोग गर्ने पुरुषनै हुन् छन् “।
बास्तवमा यो आलेख तयार पार्नुको मूल लक्ष्य पुरुषलाई गाली गर्नु होइन सचेत गराउनु मात्र हो । यहाँ बुझ्ने पर्ने कुरा के छ भने यो पूरै लेख कसैको आलोचनाको लागि अनि कसैलाई खुशी पार्नको लागि पनि लेखिएको होइन । एक दर्शक विचार हो । र अहिले विवादास्पद रूपमा रहेको एक नारी पात्र ज्योती मगरको कुरा जोड्न चाहेँ ।
नारी पात्र ज्योती मगरको विवादास्पद भएको भिडियो लगभग ७/८ लाख दर्शकहरूले हेरेको पाइन्छ । यसै सेरोफेरोमा मेरा केहि नीजि विचार राख्न चाहन्छु । ज्योतीको गीत अनि पहिरनले धेरै तहल्का मच्चायो,जो जो पूरातन सोच लिएर बसेका थिएँ यी सबैले मन लागी गाली गरे, सराप्नु सरापे । हो उनको पहिरन भड्किलो थियो । उनले जुन गीतमा अभिनय गरिन त्यो गीतमा यो पहिरन निक्कै असुहाउदोनै हो । यसो भनु न तिज गीतको लागि सुहाउदो थिएन। र तिज गीत भनेर नहुनु पर्थ्यो ।
गलत समयमा, गलत गीतमा तिज गीत भनेर भिडियो बनाएको यो सब तहल्का मच्चियो । नत्र त हाम्रो समाजले चपली हाइट देखिन एटिएम जस्तो बोल्ड एडल्ट फिल्म पचाइ सकेका थियौ । हामी यो भिडियो अर्को समयमा आएको भए संभावना पच्ने थियो । भन्छन् नि गलत काम पनि सहि समयमा गर्नु पर्छ । तर सोच्नै पर्ने कुरा अर्कै छ के ज्योती मात्र सिंगो दोषी हुन त ? के त्यो गीतको भिडियो बनाउने निर्देशक पानी माथी ओभानो हुन पाउछन् ? अनि त्यो अंग अंग छानी छानी क्यामेरा घुमाउने क्यामेरामेन दोषी छैन? मैले माथीनै एउटा भुमिका बाँध्नु मुख्य लक्ष्यनै यहि हो हाम्रो पुरुषप्रधान समाजले सधै नारीको अस्मितालाईनै तराजुमा राखेर किन जोख्छ ? के अस्मिताको अग्नि परीक्षा नारीले मात्र ठेक्का लिएका छन् ? म सधै झस्किन्छु यी समाजको नियमले जसले गर्दा महिला दोषी भएर समाजको कठघरामा उभिनु पर्छ ।
अर्को हाम्रो समाजमा राम प्रसाद खनाल जस्तो पुरुष पात्र पनि छन् । जसले आफ्नै छोरी चेलीलाई निलो फिल्म खेल्न सम्म सुझाब दिए । यो उनको पुरुष दम्भ मात्र हो अरु केही होइन । के उनले निर्देशक शंकरलाई निलो फिल्म बना भन्न सक्छन् ? के उनमा त्यो ल्याकत छ ? एक नारी पात्र हुदा यहाँ सम्म हेपिनु के न्यायोचित छ? उनले आफ्नो बचाउ गर्दै एउटा भिडियो बाहिर ल्याए तर त्यसमा उसले आत्माग्लानी गरेनन् आफ्नो बचाउमात्र गरे । जब सम्म यी र यस्ता पुरुष दम्भ रहन्छन् नारीले आलोचना,बेइज्जत भोग्नै पर्छ ।
दिन भए नारीको बारेमा भाषण छाट्ने राती घरमा श्रीमतीलाई शारिरिक यातना दिने पाखण्डी पुरुषहरुले अगुवा गरेको देश हो हाम्रो । जब मैले राम प्रसाद खनालको स्टाटस पढे मलाइ भक्कानो फुट्यो झन ती ज्योती मगरलाई कस्तो भयो होला ? त्यस माथी त्यहाँ आएका कमेन्ट, गालीले साँच्चै उनको हृदय छिया छिया भएन होला? हामीले उनलाई कति घाइते बनाउने ? के उनको कलाकारिता देखाएर खान यो समाजले नदिने नै हो ? राम्रो को कदर गरौ । तर यो मानेमा म ज्योती पनि ठीक हुन् भन्दिन,उनले पनि अति गर्नु नहुने थियो गर्यो ।
तर मलाई ज्योती मगरको यति धेरै गाली गलौचा सहने क्षमता देखेर खुशी पनि लागेको छ । यसको मतलव यो हैन कि अझै पनि चेत नआवोस । पक्कै पनि चेत आएको छ र आउनु पर्छ अबका दिनहरूमा । अन्त्यमा जोड्न चाहे ज-जसले ज्योती काण्डलाई जातिय मुद्दा बनाएर उफ्रिनु भयो त्यो सरासर गलत छ । आजको युगमा जातिय चस्मा लगाएर समाजमा घट्ने घटनालाई हेर्नू इगो अनि झगडाको गुण मात्र हुन्छ । म पनि एक जनजाती नारी हुँ त्यसैले सभ्य समाज निर्माण गर्न सबै जात,धर्म, अनि बर्गको अहम भुमीमा अपरिहार्य हुन्छ । यसैलाइ मनन गरौ ।
खासमा पुरुषले जे गरे पनि हुने तर महिलाले केही गर्यो कि ऊ नैतिकहीनको आरोप लगाईन्छ। उदाहरणको लागि पुरुषले दिनभरि रक्सी खाएर मातिए पनि ऊसलाई समाजले ‘छोरा मान्छे खाने जात हो’ भनेर सहजै स्वीकार गर्दछ तर त्यहि महिलाले रक्सी पिएको देखेमात्र पनि उसका विरुद्धमा अनेकथरि कुरा गरिन्छ । समाजले अस्वीकार गर्दछ ।
यो हाम्रो समाजमा रहेको पुरुष प्रधान दृष्टिकोणको उपज हो । त्यहि दृष्टिले हेर्दा आज महिला जतिनै निर्दोष भए पनि दोषको भारी बोकाउँछ समाजले, लामिछाने र शाह काण्डमा भएको त्यहि हो । उनीहरुको गल्ती खासै देख्दैन समाजले । आफ्नो स्वार्थ पूर्ति गर्न पुरुषले अनेक बहाना गराउँछ । महिलालाई फकाउँछ, झुटा आश्वासन दिलाउँछ, शारीरिक सम्बन्ध राख्नको लागि ‘बिबाह गर्छु’ भन्न पनि पछि पर्दैन। तर शारीरिक सम्बन्ध राखिसकेपछि कुनै वास्ता गर्दैन । सम्भवतः पुरुषको दृष्टिकोणमा ‘महिलाहरु खेलाउने साधन हुन’ भन्ने ठान्दछ र महिलाको भावना माथी खेलबाड गर्दछ। त्यसैको उपज हो लामिछाने र शाह काण्ड । ति युवतिहरु प्रेमिका भए पनि खेलौनाको रुपमा मात्र नठानेको भए, भावनामाथी खेलबाड नगरेको भए सम्भवतः उनीहरुको त्यो नियति भोग्नु पर्थेन । कसैलाई झुटो बोलेर, भावनामाथी खेलबाड गरि शारीरिक सम्बन्ध राख्नु पनि अपराध हो । बलत्कारका मुद्धा ‘जबरजस्ती करणी’ गरेर मात्र दर्ता भएका पनि छैनन् । कतिपय ठाउँमा शारीरिक सम्बन्ध भईरहेको अवस्थामा तेस्रो व्यक्तिले देख्यो भने समाजको डरको कारण करणी ग¥यो भन्ने मुद्धा दर्ता गरिएका थुप्रै घट्नाहरु हामीले पढ्न सुन्न पाउँदछौँ ।
अन्तरजातीय विवाहका घट्नामा पनि त्यस्तै भएका छन् । केही समय पहिला बडिगाड गाउँपालिकाका विशाल सुनारले एक मगर समुदायकी युवतिलाई भगाएर विवाह गरे, उनीहरु पटक–पटक भागे, प्रहरीकोमा छलफल पनि गराईयो, केटिले केटालाई छोड्नै चाहँदैनिन् तर पनि पछि घट्नालाई तोडमोड गरियो र जबरजस्ती करणी गरेको, युवतिलाई बन्धक बनाईएको भन्दै प्रहरीमा मुद्धा दर्ता गरियो। अहिले सुनार जिल्ला कारागारमा थुनामा छन् । यो घट्नामा चाहिँ के भन्न मिल्छ भने विशाललाई फसार्ईएको हो, विशालमाथी षड्यन्त्र गरिएको हो। यस्तो हुनु दुःखद छ । कञ्चनपुरकी निर्मला पन्त बलत्कारपछि हत्या भयो । उनी एक उदाहरण मात्र हुन् । थुप्रै महिलाले महिला भएकै काराण ज्यान गुमाउनु परेको छ । उनीहरुको न्यायको पक्षमा समाजले बोल्नु पथ्र्यो। विडम्बना उनीहरुको पक्षमा बोल्नेहरु भन्दा आज शाहको पक्षमा बोल्नेहरु धेरै छन् ।
निर्मला पन्तहरुको विषयमा बोल्नेहरु छैनन, आखिर किन यस्तो भईरहेको छ ? यसो हुनुको खास कारण के हो ? के यसमा पनि महिलाकै दोष छ ? वा पुरुष प्रधान देश भएका कारण पुरुषको संरक्षण गरिएको हो? यसबारे हामीहरुले गम्भीर समीक्षा गरिनु पर्छ ।


0 comment