नेपाल उपत्यका (काठमाडौँ उपत्यका) को उत्पत्ति नागदह नामको सरोवरबाट भएको थियो । वंशावलीअनुसार सत्ययुगमा सबभन्दा पहिले यस उत्पकामा आउने महात्मा विपश्वी बुद्ध थिए । उनी यहाँ आएर नागदहको उत्तरपश्चिमको कुनातिरको पर्वतमा बसेका थिए । उनी बसेको पर्वतलाई नागार्जुन भनिन्छ । विपश्वी बुद्धले अलौकिक प्रेरणावश नागदहमा चैत्र पूर्णिमाको दिन कमल बीज रोपेका थिए । यो बीज रोपेको केही समयपछि उनी आफ्ना साथ आएका शिष्यहरुलाई यहीँ छाडेर फर्किए ।

विपश्वी बुद्धले कमल बिज रोपेको छ महिनापछि त्यस बीजमा अलौकिक कमलको फूल उत्पन्न भयो र त्यसै दिन स्वयम्भूको ज्योति त्यस कमलमा देखियो । त्यस ज्योतिको दर्शन गर्न क्रमशः शिखी बुद्ध, विश्वम्भू बुद्ध र त्रेता युगको केही पछि चीनबाट मञ्जुश्री बोधिसत्वको आगमन भयो । स्वयम्भू ज्योतिको दर्शन गरिसकेपछि मञ्जुश्रीले आफ्नो खड्ग प्रहार गरेर कुटवाल भन्ने ठाउँबाट नागदहको पानी निकालेर यस उपत्यकालाई बसाबोसयोग्य बनाइदिए । यसपछि उनले म्वयम्भूदेखि गृहेश्वरीसम्मको विस्तृत नगर निर्माण गरे । मञ्जुश्रीले धर्माकर नाम गरेका एक जना क्षत्रीयलाई यस नगरको राजा बनाई आफू चीन फर्केर गए । मञ्जुश्रीका शिष्यहरुले यसै नगरको नाम ‘मञ्जुपत्तन’ राखे ।

गोपालवंश : वंशावलीको भनाइअनुसार पशुपतिको प्राचीन मन्दिर भत्किएर ज्योर्तिलिङ्ग पुरिएको थियो । त्यसै बखत दानासुरले नेपाल उपत्यकालाई फेरि जलमग्न गरिदिए । भगवान् श्रीकृष्णले द्वारिकाबाट नेपाल उपत्यकामा आए चोभारबाट पानी निकाली दानासुरको दमन गरे । श्रीकृष्णसँग आएका गोपालहरु सबभन्दा पहिले उपत्यकाको ‘पद्मकाष्ठगिरि’(कीर्तिपुर)मा बसेका थिए । यसै वंशका नीप जातिको नामबाट यस देशको नाम नेपाल रहन गयो । गोपालहरु यहाँ आएको केही समयपछि ने नामका एक जना मुनिले गोापलवंशका सरदार पुत्रलाई नेपालका शासक बनाए । कर्कपेट्रिकअनुसार यस वंशका पहिला राजा भूरिमाहागह थिए । यिनेले ४८ वर्ष ३ महिना शासन गरे । त्यपछि क्रमशः जय गुप्तले ७३ वर्ष ३ महिना, प्रेम गुप्त वर्ष, श्रीहर्षले ६७ वर्ष, भीम गुप्तले ३८ वर्ष, मुथी गुप्तले ३७ वर्ष, विशेन गुप्तले ६६ वर्ष र जय गुप्तद्वितीयले ७१ वर्ष गरी जम्मा ४९१ वर्ष ६ महिना राज्य सञ्चालन गरेका थिए । राइटको वंशावलीअनुसार यस वंशका भुक्तमान, जय गुप्त, परम गुप्त, भीम गुप्त (प्रथम), भीम गुप्त –द्वितीय), मणि गुप्त, विष्णु गुप्त र अन्तिम गुप्त, गरी जम्मा आठ राजाहरुले मातातीर्थमा बसी राज्य सञ्चालन गरेका थिए । यस वंशका राजाहरुले ५२१ वर्ष शासन गरेका थिए ।

महिषपालवंश : अन्तिम गोपाल राजा यज्ञ गुप्त सन्तानहीन भएका हुनाले मैदानी भागबाट आएका अहिर (आभीर वा महिषपाल)हरुले नेपाल उपत्यकामा शासन गर्न कथाले । यी जातिहरु सिमरौनगढ र जनकपुरका बीचको भूभागबाट यस उपत्यकामा प्रवेश गरेको अनुमान गरिएको छ। यिनीहरु महिषपाल भैँसी पाल्ने वंशी राजपूतहरु थिए । कर्मपेट्रिकका विचारमा यस वंशका जम्मा तीन राजाहरुले १११ वर्ष शासन गरे । यस अनुसार पहिला भूलसिंहले ४९ वर्ष, जयसिंहले २१ वर्ष र भुवनसिंहले ४ वर्ष राज्य गरेका थिए । यस राजवंशको शासनकालमा नेपालको सिमाना पवूर्वमा दूधकोसी, पश्चिममा त्रिशुल गंगा, उत्तरमा नीलकण्ठ पहाड र दक्षिणमा चितलाङसम्म फैलिएको थियो । यस वंशका अन्तिम राजा भुवनसिंहको समयमा पूर्वतिरबाट किरातहरुको आक्रमण भयो र उनीहरुले शासन सत्ता आफ्नो हातमा लिए । किराती फौजको नेतृत्व यलम्बरले गरेका थिए । उनलाई नै किरातवंशका संस्थापक मानिन्छ । कर्कपेट्रिकले यलम्बरलाई ‘यलुङ’ भन्ने लेखका छन् ।

प्राचीन नेपालका राजवंश :

१. आठ जना गोपाल राजाहरुको शासन – ५०५ वर्ष
२. तीन जना महषिपाल राजाहरुको शासनकाल –१६१ वर्ष
३. बाइस जना किरात राजाहरुको शासनकाल – १७०१

जम्मा वर्ष : २,३६७

नेपालको पौराणिक इतिहासमा विभिन्न राजवंशहरुका अनुमानित राज्य स्थापना वर्ष निम्न प्रकारबाट दिइएको छ :

गोपालवंशका स्थापना – इसापूर्व २७१
महिषपालवंशको राज्यकाल – इसापूर्व १५१–१०६
किरातवंशको राज्यकाल – इसापूर्व १०६–२२३
लिच्छवि राज्यको स्थापना – २२५ ई.